नवौं राष्ट्रिय खेलकुद : आर्मीको शीर्षता कायमै

हिमालय टाइम्स
Read Time = 28 mins

यज्ञराज जोशी/हिटा
पोखरा । गण्डकी प्रदेशमा जारी नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा हालसम्म विभागीय नेपाली सेनाले पदकमा बर्चस्व कायम गरेको छ । आइतबार साँझसम्म ३० स्वर्ण पदकको छिनोफानो हुँदा सेनाले १५ स्वर्ण, ११ रजत र ११ कास्यसहित ३७ पदक जितेको छ ।
यसैगरी बागमती प्रदेशले आठ स्वर्ण, पाँच रजत र दुई कास्यसहित १३ पदक जितेर सेनालाई पछ्याइरहेको छ । सशस्त्र प्रहरीको (एपिएफ) चार स्वर्ण, छ रजत र नौ कास्यसहित १९ पदक लिएर पदक तालिकाको तेस्रो स्थानमा छ । आयोजक गण्डकी प्रदेशले हालसम्म दुई स्वर्ण, दुई रजत र छ कास्यसहित १० पदक जितेको छ ।

यसैगरी नेपाल प्रहरीले दुई स्वर्ण, एक रजत र तीन कास्यसहित छ पदक तथा सुदूरपश्चिम प्रदेशले एक स्वर्ण र तीन कास्यसहित चार पदक जितेको छ । लुम्बिनी प्रदेशले चार रजत, एनआरएनएले एक रजत र प्रदेश नं. १ ले पाँच कास्य पदक जितेका छन् । प्रतियोगितामा सात प्रदेश, तीन विभागीय र एनआरएनएको एक गरी ११ टोलीको सहभागिता रहेकामा कर्णाली प्रदेश र मधेश प्रदेशले पदकको खाता खोल्न सकेका छैनन् ।

आइटिएफ तेक्वान्दो
नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत यहाँ जारी आइटिएफ तेक्वान्दोको आइतबार भएको खेलमा बागमती प्रदेश र विभागीय टिम नेपाल आर्मीले स्वर्ण पदक जितेका छन् । कालो पेटीतर्फ बागमती प्रदेशका सचिना सुनुवारले स्वर्ण र नेपाल आर्मीका हिमा खड्काले रजत पदक हासिल गर्नुभएको हो । यस्तै, रातो पेटीतर्फ नेपाल आर्मीका निकिता धिमालले स्वर्ण र सशस्त्र प्रहरी बलका अप्सना तामाङले रजत पदक हात पारेको नेपाल आइटिएफका महासचिव अञ्जु रावतले जानकारी दिनुभयो ।

यसअघि शनिबार भएका चार खेलमा नेपाल आर्मीले तीन र गण्डकी प्रदेशले एक स्वर्ण जितेका थिए । नीलो पेटीतर्फ नेपाली सेनाका धनसिंह परियार, कालो पेटी पहिलो डानमा सेनाकै भीमबहादुर तामाङ र नीलो पेटी महिलामा सुस्तिमा श्रेष्ठले स्वर्ण पदक जित्नुभएको हो । रातो पेटीतर्फ गण्डकी प्रदेशका भीमबहादुर गाहाले स्वर्ण पदक र लुम्बिनी प्रदेशका सन्देश सुनारले रजत पदक हासिल गर्नुभएको हो ।

नीलो पेटीमा प्याट्रनतर्फ लुम्बिनीका सफल परियारले रजत, कालो पेटीमा गण्डकी प्रदेशका प्रवीण बुढाले रजत र नीलो पेटी महिलामा गण्डकीकै मोनिका कुँवरले रजत पदक जित्नुभएको हो । प्रतियोगिताको पहिलो चरणमा एकल प्याट्रनमा प्रतिस्पर्धा भइरहेको छ ।
आइटिएफ प्रतियोगितामा सात प्रदेश र तीन विभागीय टिमका दुई सय ५० खेलाडी सहभागी छन् । आइटिएफ तेक्वान्दोमा ४५ स्वर्ण, ४५ रजत र ३० कास्य पदकका लागि खेलाडीले प्रतिस्पर्धा गर्नेछन् ।

दीपकको राष्ट्रिय कीर्तिमानसहित स्वर्ण
एथलेटिक्सको पुरुष १० हजार मिटर दौडमा विभागीय टोली त्रिभुवन आर्मी क्लबका दीपक अधिकारीले राष्ट्रिय कीर्तिमानसहित स्वर्ण पदक जित्नुभएको छ । पोखरा रंगशालामा आइतबार भएको खेलमा उहाँले ३० मिनेट १० दशमलब ३० सेकेन्डमा निर्धारित दूरी पार गर्दै स्वर्णपदक जित्नुभएको हो । दीपकले एपिएफ क्लबका गोपीचन्द्र पार्कीको कीर्तिमानलाई तोड्दै नयाँ कीर्तिमान कायम गर्नुभएको हो । यसअघि गोपीचन्द्रको नाममा ३० मिनेट ३० दशमलब ९९ सेकेन्डको कीर्तिमान थियो ।

सोही स्पर्धामा गोपीचन्द्र पार्कीले निर्धारित दूरी ३० मिनेट ३८ दशमलब ३० सेकेन्डमा पूरा गर्दै रजत पदक प्राप्त गर्नुभयो । सोही स्पर्धामा आर्मीकै गजेन्द्र राई तेस्रो हुनुभयो । उहाँले निर्धारित दूरी ३० मिनेट ४९ दशमलब ५० सेकेन्डमा पूरा गर्नुभएको थियो ।

त्यस्तै, एथलेटिक्सको चार सय मिटर महिला हर्डल्समा त्रिभुवन आर्मी क्लबकी जयरानी थारुले राष्ट्रिय कीर्तिमानसहित स्वर्ण पदक जित्नुभएको छ । उहाँले निर्धारित दूरी एक मिनेट ०४.१३ सेकेन्डमा पूरा गर्दै कीर्तिमानसहित स्वर्ण पदक जित्नुभएको हो । उहाँको नामको कीर्तिमान सुधार गर्नुभएकी जयरानीले यसअघि ४४औं राष्ट्रिय एथलेटिक्स प्रतियोगितामा एक मिनेट ०७ दशमलब दुई सेकेन्डको कीर्तिमान बनाउनुभएको थियो ।

सोही स्पर्धामा एपिएफकी भागिरतीकुमारी थारुले एक मिनेट छ दशमलब छ सेकेन्डमा पूरा गर्दै रजत पदक जित्नुभयो । एपिएफकै कल्पना श्रेष्ठले एक मिनेट ०६ दशमलब ५१ सेकेन्डको समय निकाल्दै कास्य पदक हात पार्नुभयो ।

हाइजम्प
विभागीय त्रिभुवन आर्मी क्लबका खगिता सिञ्जाली मगर र सूर्यबहादुर खत्रीले नवौं राष्ट्रिय खेलकुदअन्तर्गतको हाइजम्पमा स्वर्ण जित्नुभएको छ । खगिताले महिलातर्फ तथा सूर्यले पुरुषतर्फ स्वर्ण पदक जित्नुभएको हो । सूर्यले एक दशमलब ९० मिटर जम्प गर्दै स्वर्ण जित्दा बागमतीका निकेश महतोले एक दशमलब ७५ मिटर जम्प गर्दै रजत जित्नुभयो । पुलिसका रोशन दनुवारले पनि एक दशमलब ७५ मिटर जम्प गर्दै कास्य जित्न सफल हुनुभयो । महिलातर्फ खगिता सिञ्जाली मगरले एक दशमलब ५२ मिटर जम्प गर्दै स्वर्ण पदक जित्नुभयो । आर्मीकै बिन्दु थनेतले एक दशमलब ५० मिटर जम्प गर्दै रजत जित्नुभयो । गण्डकीकी सीमा श्रेष्ठले एक दशमलब ४२ मिटर जम्प गर्दै कास्य जित्नुभयो ।

टेनिस
टेनिसको ‘टिम इभेन्ट’ तर्फको प्रतिस्पर्धामा पुरुषतर्फ गण्डकी प्रदेश र महिलातर्फ विभागीय नेपाली सेनाले स्वर्ण पदक जितेका छन् । पोखरा रंगशालास्थित टेनिस कोर्टमा भएको खेलमा नेपालको शीर्ष वरीयताका खेलाडी प्रदीप खड्काको टोली गण्डकीले समग्रमा आर्मीमाथि २–१ खेल जित्दै च्याम्पियन बनेको हो ।

टिम इभेन्टको पुरुष एकलको पहिलो खेलमा सेनाका अकी जुवेन रावतले गण्डकीका अनिल शाहीलाई ६–३,६–३ सेटमा पराजित गर्नुभयो । एकलको दोस्रो खेलमा गण्डकीका प्रदीप खड्काले सेनाका प्रणव खनालमाथि ६-३,७-५ सेटमा जित निकाल्नुभयो । पुरुष डबल्सतर्फको प्रतिस्पर्धामा प्रदीप र अनिलको जोडीले प्रणव र अकीको जोडीलाई २-६, ६-३ र १०-७ को सेटमा पराजित गरेपछि गण्डकी च्याम्पियन बनेको हो । पुरुषतर्फ गण्डकीले स्वर्ण पदक जित्दा सेनाले रजत पदकमा चित्त बुझायो ।

महिलातर्फ एकलमा सेनाले अर्को विभागीय टोली सशस्त्र प्रहरीलाई हराएको हो । सेनाकी अभिलाषा विष्टले सशस्त्रकी सर्भानी श्रेष्ठलाई ७-५, १–६ र ६–१ को सेटमा पराजित गर्नुभयो । अर्को खेलमा सेनाकी आइरा एम रावतले सशस्त्रकी सुनिरा थापालाई ६-१, १-६ ७-५ सेटमा पराजित गरेपछि सेना च्याम्पियन बन्दै स्वर्ण पदक जित्न सफल भयो भने सशस्त्रले कास्य पदक पायो ।

महिला टिम इभेन्टमा बागमती प्रदेश र नेपाल प्रहरीले कास्य पदक जित्दा पुरुषतर्फ नेपाल प्रहरी र सशस्त्र प्रहरीले कास्य पदक जिते । प्रतियोगितामा विजयी खेलाडीहरूलाई गण्डकी प्रदेश खेलकुद परिषद्का कार्यवाहक सदस्य-सचिव घनश्याम पौडेलले ट्रफी तथा मेडल वितरण गर्नुभएको थियो ।

बुद्धिचाल
बुद्धिचाल प्रतियोगितामा खुलातर्फको क्लासिकल इभेन्टमा आशिष फुँयालले एकल अग्रता कायम गर्नुभएको छ । प्रतियोगिताअन्तर्गत क्लासिकल इभेन्ट पाँचौं चरणको खेल सम्पन्न हुँदा गैरआवासीय नेपाली संघ (एनआरएनए) का खेलाडी फुँयालले अग्रता कायम गर्नुभएको हो ।

क्लासिकलतर्फको अहिलेसम्मका पाँच खेलमध्ये फुँयालले चार खेलमा जित हात पार्नुभएको छ भने एक खेलमा मात्र पराजय बेहोर्नुभएको निर्णायक दिपेश गिरीले जानकारी दिनुभयो । प्रतियोगिताअन्तर्गत पाँचौं चरणको क्लासिकल इभेन्टमा फँुयालले नेपाल पुलिस क्लबका क्षितिज भण्डारीसँग ‘ड्र’ खेल्दै अग्रता कायम गर्न सफल हुनुभएको हो ।

फुँयालले क्लासिकल इभेन्टको पहिलो चरणमा लुम्बिनी प्रदेशका निशान्त श्रेष्ठ, दोस्रो चरणमा नेपाल पुलिस क्लबका सुवीर लामा, तेस्रो चरणमा त्रिभुवन आर्मी क्बलका मिलन लामा र चौथो चरणमा त्रिभुवन आर्मी क्लबकै रुपेश जैसवाललाई पराजित गर्नुभएको थियो । प्रतियोगितामा नेपाल पुलिस क्लबका क्षितिज भण्डारी र त्रिभुवन आर्मी क्बलका रुपेश जैसवालले चार/चार खेल जितेर फँुयाललाई पछ्याइरहनुभएको छ ।

सेपाकताक्रो
पूर्वी नवलपरासीको कावासोतीमा सञ्चालन भइरहेको नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत सेपाकताक्रो पुरुष र महिला डबलतर्फको दुवै स्वर्ण पदक आर्मीले हात पारेको छ । पुरुषतर्फको डबलमा विभागीय टोली आर्मीले प्रदेश नं. १ लाई २–० को सोझो सेटमा हराउँदै स्वर्ण हात पारेको हो । आर्मीका लागि पुरुष डबलतर्फ अनिल जर्घामगर, रोशन तामाङ र दिपेशजंग थापाले स्वर्ण दिलाउनुभयो । पुरुषतर्फ रजत पदक प्रदेश नं. १ र कास्य पदक पदक बागमती प्रदेशले हात पारेको हो ।

त्यसैगरी महिला डबलतर्फ पनि आर्मीले बागमती प्रदेशलाई २-० को सोझो सेटमा हराउँदै स्वर्ण हात पारेको छ । महिलातर्फको डबलमा विभागीय टोली आर्मीले बागमती प्रदेशलाई सोझो सेटमा हराउँदै स्वर्ण हात पारेको हो । आर्मीका लागि महिला डबलतर्फ चन्दा चौधरी, सुमिना डंगोल र सोममाया थापाले स्वर्ण दिलाउनुभयो । महिलातर्फ बागमतीले रजत र गण्डकी प्रदेशले कास्य पदक हात पारेका छन् ।
महिला र पुरुषका फरक–फरक तीन विधामा प्रतियोगिता हुने सेपाकताक्रो खेलमा प्रदेश नं. १, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली, सुदूरपश्चिम र नेपाल आर्मीका ९८ खेलाडीले भाग लिएका छन् ।

कराँते
पोखरामा जारी नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत फुल कन्ट्याक्ट कराँतेमा आयोजक गण्डकी प्रदेश र विभागीय टोली नेपाली सेनाले तीन-तीन स्वर्ण पदक जितेका छन् । यसैगरी सशस्त्र प्रहरीले दुई स्वर्ण, मधेश प्रदेश, नेपाल प्रहरी र बागमती प्रदेशले समान एक–एक स्वर्ण हात पारेका छन् । पोखराको नयाँबजारस्थित प्रदर्शनी हलमा सम्पन्न खेलमा गण्डकीले पुरुषmतर्फको ३०–४०, ४५–५० तौल समूहमा स्वर्ण र महिलातर्फको ५०-५५ तौल समूहमा एक स्वर्ण जितेको हो । कराँतेमा पुुरुषका सात र महिलाका पाँच विधा गरी १२ विधामा प्रतिस्पर्धा गराइएको हो ।

यसैगरी सेनाले खुला तौल समूह पुरुष, महिला र ६०-६५ केजी तौल समूह पुरुषमा स्वर्ण जितेको हो । खेलमा पुरुषतर्फको खुला तौल समूहमा नेपाल आर्मीका विजय सिंहले स्वर्ण जित्नुभयो । गण्डकीका रुपक नेपालीलाई फाइलनमा पराजित गरी उहाँले स्वर्ण हात पार्नुभएको हो ।
सातौं र आठौं राष्ट्रिय खेलकुदमा स्वर्ण जित्नुभएका नेपालीको हृयाट्रिक गर्ने दाउमा आर्मीका सिंह तगारो बन्नुभयो । नेपालीले रजत पदकमा चित्त बुझाउनुभयो । पुरुषतर्फकै ६०-६५ केजी तौल समूहमा सेनाका सनी सिंहले गण्डकीका शिव भुजेललाई पराजित गरी स्वर्ण पदक हात पार्नुभयो । भुजेलले रजत पदक जित्नुभयो । पुरुषतर्फकै ५५-६० केजी तौल समूहमा नेपाल प्रहरीका सुशन लामिछानेले स्वर्ण र नेपाली सेनाका विकास गुरुङले रजत पदक जित्नुभयो ।

पुरुषतर्फकै ५०-५५ केजी तौल समूहमा मधेश प्रदेशका धरमिन्दर रामले स्वर्ण जित्दा नेपाल आर्मीका चोकबहादुर बुढाथोकीले रजत पदकमा चित्त बुझाउनुभयो । यसैगरी ४५-५० केजी तौल समूहमा गण्डकीका अनिष बुढामगरले बागमतीका विजय राईलाई पराजित गरी स्वर्ण जित्नुभयो । बागमतीका राईले रजतमा चित्त बुझाउनुभयो ।

यसैगरी ४०–४५ केजी तौल समूहमा सशस्त्र प्रहरीका सुनिल तामाङले सेनाका राजकुमार यादवलाई पराजित गरी स्वर्ण पदक जित्नुभएको छ । पुरुषतर्फको ३५–४० तौल समूहमा गण्डकीका अभिषेक डिमडुङले सेनाका सागर थिङलाई फाइनलमा पराजित गरी स्वर्ण जित्दा थिङले रजत पदकमा चित्त बुझाउनुभयो ।

महिलातर्फको खुला तौल समूहमा सेनाकी मञ्जु विकले बागमती प्रदेशकी निशा बोहोरालाई पराजित गरी स्वर्ण जित्नुभयो । यसैगरी ५०-५५ केजी तौल समूहमा गण्डकीकी धनी रानामगरले सेनाकी पत्रिका चन्दलाई पराजित गरी स्वर्ण जित्न सफल हुनुभयो ।

यसैगरी ४५–५० केजी तौल समूहमा बागमती प्रदेशकी नवीना धमालले सशस्त्र प्रहरीकी करिश्मा कार्कीलाई पराजित गरी स्वर्ण जित्दा कार्कीले रजत पदकमा चित्त बुझाउनुभयो । ४० देखि ४५ केजी तौल समूहमा सशस्त्र प्रहरीकी रीना माझीले नेपाल प्रहरीकी अञ्जना ढुंगेललाई पराजित गरी स्वर्ण पदक जित्नुभयो ।

महिलातर्फको ३५–४० तौल केजी समूहको खेल भने स्थगित भएको छ । सशस्त्र प्रहरीले रेफ्रीले गलत निर्णय गर्दा आफ्नो खेलाडी पराजित भएको भन्दै विवाद गरेपछि खेल स्थगित भएको प्रतियोगिताका सहसंयोजक दीपक गोदारले बताउनुभयो । विवादका कारण शनिबार दिउँसो साढे २ घण्टा सबै प्रतिस्पर्धा रोकिएका थिए । प्रतियोगितामा सात प्रदेश, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र एनआरएनए गरी ११ टिम सहभागी भएका थिए ।

भलिबल
नवौं राष्ट्रिय खेलकुदअन्तर्गत भलिबलतर्फ लिग चरणका खेल भइरहेका छन् । पुरुष भलिबल पोखरा रंगशालामा र महिला भलिबल म्याग्दीमा चलिरहेको छ । पोखरा रंगशाला भलिबल कोर्टमा समूह चरणको खेलमा एपिएफ, त्रिभुवन आर्मी र पुलिस क्लब विजयी भएका हुन् । पहिलो खेलमा एपिएफले गैरआवासीय नेपाली संघ (एनआरएनए) लाई ३-० को सोझो सेटमा हरायो । एनआरएनएलाई एपिएफले २५–१९, २५-१५ र २५-१३ सेटमा हराएको हो । जितसँगै एपिएफले तीन अंक जोड्यो ।

दोस्रो खेलमा त्रिभुवन आर्मीले प्रदेश नं. १ लाई ३-० कै सेटमा पराजित गर्‍यो । आर्मीले २५-१२, २५-१९ र २५-२३ ले प्रदेश नं. १ लाई हराएर समूह ‘बी’ मा पहिलो जित दर्ता गर्दै तीन अंक जोड्यो । तेस्रो खेलमा नेपाल पुलिसले लुम्बिनी प्रदेशलाई हराउँदै शीर्षस्थान कायम राखेको छ । शनिबार लुम्बिनीलाई २५-१२, २५-८ र २५-२१ को सेटमा पराजित गर्दै पुलिसले थप तीन अंक जोडेको हो ।

समूह ‘डी’ मा गण्डकी र बागमतीमात्रै रहेकाले सिधै क्वाटरफाइनल प्रवेश गरिसकेका छन् । शुक्रबार बागमतीलाई हराएर गण्डकी समूह विजेता बनेको थियो । यस्तै, म्याग्दी खुलामञ्च खेलमैदानमा भएको महिलातर्फको खेलमा विभागीय टिम त्रिभुवन आर्मी र प्रदेश नं. १ ले जित निकालेका छन् । बेनीको खुलामञ्च खेलमैदानमा भएको खेलमा सेनाले कर्णाली र प्रदेश नं. १ ले मधेश प्रदेशलाई सोझो तीन सेटमा पराजित गरेका हुन् ।

तेक्वान्दो
म्याग्दीको बेनीमा जारी तेक्वान्दो खेलको पुम्सेतर्फको विधाको उपाधिमा नेपाल प्रहरीले बर्चस्व कायम गरेको छ । पुम्से एकल र पियरको महिला पुरुष दुवैमा विजेता बनेको प्रहरीले पुरुष टिम पुम्सेतर्फ पनि प्रथम बनेर चार स्वर्ण पदक जितेको छ । महिलातर्फको टिम पुम्सेमा भने नेपाली सेनाले जितेको छ ।

राष्ट्रिय खेलकुद परिषद्का प्रमुख तेक्वान्दो प्रशिक्षक नवीन श्रेष्ठले प्रहरीका निशा दर्नाल महिला र कमल श्रेष्ठ एकल पुम्सेमा विजयी हुनुभएको बताउनुभयो । महिलातर्फ सेनाकी स्वतिका तामाङ दोस्रो, प्रदेश नं. १ की सुशीला राई र गण्डकीकी अर्पण अधिकारी तेस्रो हुनुभएको छ । पुम्से एकल पुरुषमा लुम्बिनीका युवराज राना द्वितीय, गण्डकीका आयुष गुरुङ र प्रदेश नं. १ का विवेक राई तेस्रो हुनुभयो ।
पुम्से पियरमा प्रहरीका निशा दर्नाल र अस्मिन राउत प्रथम, सेनाका दीपेन्द्र गुरुङ र प्रसन्ना क्षेत्री दोस्रो, गण्डकीका आयुश गुरुङ र अर्पणा अधिकृत तथा प्रदेश नं. १ का विवेक राई र सुविक्षा राई तेस्रो हुनुभएको छ ।

पुरुषको टिम पुम्सेमा पुलिसका प्रेमबहादुर लिम्बू, जितबहादुर भाट र कमल श्रेष्ठ प्रथम, सेनाका दीपेन्द्र गुरुङ, राजन रिमाल, रामकुमार पोखरेल द्वितीय, गण्डकीका टार्जन कायत मगर, तिलक सिउथानी मगर र युकेश थापामगर तथा सशस्त्र प्रहरीका सिर्जन श्रेष्ठ, नोर्वु मोक्तान र योवन दाहाल तेस्रो हुनुभयो ।

टिम पुम्से महिलामा सेनाका स्वतिका तामाङ, निता गुरुङ, प्रसन्ना क्षेत्री प्रथम, पुलिसका निशा दर्नाल, सीता तामाङ, मोनिका रम्तेल द्वितीय, सशस्त्र प्रहरीका मोनिका मगर, स्मृति नेपाली र चन्दा शाही तथा प्रदेश नं. १ का मनिषा विश्वकर्मा, शान्ति राई र सुशीला राई तेस्रो हुनुभयो । तेक्वान्दोको पुम्मे विधातर्फका सबै खेल सकिएको राखेपका प्रमुख तेक्वान्दो प्रशिक्षक श्रेष्ठले बताउनुभयो ।
गेरोगीतर्फ शनिबार महिलाको ५३ र पुरुषको ५८ केजी तौल समूहको पहिलो चरणको खेल सकिएको छ । महिलाको ५३ केजी तौल समूहबाट सेनाकी गीता कडायत, लुम्बिनी प्रदेशकी निलिमा मल्ल, प्रहरीकी आयुशा लामा र सशस्त्र प्रहरीकी अस्मिता खड्का क्वाटरफाइनलमा प्रवेश गर्नुभएको छ ।

पुरुष ५८ केजी तौल समूहबाट मधेश प्रदेशका सोव अख्तर, बागमतीका रेहन केसी, पुलिसका सुवासचन्द्र बोहोरा र सेनाका लोकबहादुर राउत क्वाटरफाइनल प्रवेश गर्नुभएको छ ।

पुरुषको एकल काता र महिला एकल काताको प्रतिस्पर्धा सम्पन्न भएको छ । पुरुष एकल कातामा सशस्त्र प्रहरी बलका स्वर्णिम मानन्धरले स्वर्ण पदक हात पार्नुभएको छ । बागमती प्रदेशका रेहान जावेदले रजत, प्रदेश नं. १ का आशिष मगर र नेपाल प्रहरीका महसुस तामाङले कास्य पदक हात पार्नुभएको हो ।

त्यस्तै, महिला एकल कातातर्फ नेपाल प्रहरीकी चञ्चला दनुवारले स्वर्ण, नेपाली सेनाकी संगीता मगरले रजत, कर्णाली प्रदेशकी एलिशा रास्कोटी र सुदूरपश्चिम प्रदेशकी वर्षा साउदले कास्य पदक हात पार्नुभएको छ ।

महिला क्रिकेट
महिला क्रिकेटमा नेपाल सशस्त्र प्रहरी बल (एपिएफ) र बागमती प्रदेश सेमिफाइनलमा प्रवेश गरेका छन् । पोखरा रंगशालामा भएको पहिलो खेलमा एपिएफले सुदूरपश्चिम प्रदेशलाई ५ विकेटले पराजित गर्‍यो । पहिला ब्याटिङ गरेको सुदूरले पूरा २० ओभर खेल्दै ३ विकेटको क्षतिमा ९२ रन जोडेको थियो । सुदूरका लागि रितु कनौजियाले ३५, रुवी पोदारले २३ तथा स्नेहा महराले १८ रन बनाउनुभयो ।

जितका लागि ९३ रन पछ्याउने क्रममा एपिएफले १६ ओभरमा विकेट गुमाएर विजयी लक्ष्य प्राप्त गर्‍यो । एपिएफको ब्याटिङमा प्लेयर अफ द म्याच इन्दु बर्माले ४३ बलमा ५ चौका प्रहार गर्दै ४५ रन प्रहार गर्नुभयो ।

आइतबारकै अर्को खेलमा बागमतीले मधेश प्रदेशमाथि ८ विकेटको जित निकाल्यो । पहिला ब्याटिङ गरेको मधेशले १८.२ ओभरमा सम्पूर्ण विकेट गुमाएर ५४ रन बनाएको थियो । जवाफमा बागमतीले १३.२ ओभरमा २ विकेट गुमाउँदै जित प्राप्त गर्‍यो ।

योसँगै समूह ‘ए’ बाट एपिएफ ८ अंकसहित शीर्षस्थान कायम गर्दै सेमिफाइनलमा पुगेको छ भने बागमती प्रदेश ६ अंकसहित दोस्रो स्थानमा रहँदै सेमिमा स्थान सुरक्षित गरेको छ । यसअघि समूह ‘बी’ बाट नेपाल पुलिस क्लबले शीर्षस्थान र दोस्रो स्थानमा रहेको लुम्बिनी प्रदेशले सेमिफाइनलमा स्थान बनाइसकेका छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?