सरकारी अधिकारहरूबीच ‘नालापानी’

Read Time = 7 mins

काठमाडौं । चलचित्र ‘नालापानी’ सरकारी अधिकारहरूले हेरेका छन् । सन् १८१४ मा देहरादुनस्थित नालापानी गढीमा भएको नेपाल-अंग्रेज युद्धमा नेपाली फौजका तर्फबाट कप्तानी गर्नु भएका वीर बलभद्र कुँवरले लडेको ऐतिहासिक लडाइँलाई आधार बनाएर बनेको चलचित्र ‘नालापानी’ सरकारी अधिकारहरूले हेरेका हुन् ।

आइतबार चलचित्र विकास बोर्डमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव डा.बैकुण्ठ अर्याल, पूर्वप्रधानसेनापति राजेन्द्र क्षेत्री, नेपाली सेनाका बलाधिकृत जनरल शरदप्रताप राणा, केन्द्रीय चलचित्र जाँचपास समितिका अध्यक्ष सेवन्तक पोखरेल, नेपाल सरकारका पूर्वसचिव भीम उपाध्यायलगायतले चलचित्र हेर्नुभएको थियो ।

यही ४ कात्तिकदेखि देशभरका सिनेमाघरमा आउने तयारी गरको चलचित्र झण्डै असीजना विशिष्ट व्यक्तिले हेरेका थिए । सचिव अर्यालले परम्परागत मसलेदार चलचित्र बनिरहेको समयमा ऐतिहासिक विषयवस्तुमा आधारित रहेर यथार्थपरक चलचित्र बनाएकोमा निर्माता तथा निर्देशक रिमेश अधिकारी र टिमलाई बधाई दिनुभयो । ‘नेपाल यत्तिकै बनेको हो कि क्या हो भन्ने सोच्छौँ । हाम्रा पुर्खाले कसरी त्याग, बलिदान गरेका रहेछन् भन्ने यथार्थ चित्रण छ । हाम्रो नेपाल निर्माण हुँदा के कस्तो दुःख र समस्याहरूबाट गुज्रेका थियौँ भनेर जान्नका लागि पनि नालापानी हेर्न जरुरी छ,’ उहाँले भन्नुभयो ।

निर्माणको क्रममा नेपाली सेनाले गरेको सहयोग पनि राज्यको नै सहयोग रहेको बताउँदै अर्यालले सञ्चार मन्त्रालयले यो चलचित्रलाई कर छुटका लागि सम्बन्धित निकायमा औपचारिक रूपमा पत्राचार नै गरेको जानकारी गराउनुभयो ।

पूर्वप्रधानसेनापति क्षेत्रीले ‘नालापानी’ उत्कृष्ट बनेको प्रतिक्रिया दिनुभयो । उहाँले भन्नुभयो, ‘नेपाललाई स्वाधीन राख्न हाम्रा वीर र वीरंगानाहरूले त्यो समयमा दिएको बलिदानको जीवन्त चित्रण यो चलचित्रले गरेको छ । चलचित्रमा देखाइएको महिला र बालबालिकाले समेत युद्ध लडेको यथार्थ हो । अहिले इतिहासलाई अवमूल्यन गरिराखेको अवस्थामा यो चलचित्रको माध्यमबाट नेपाल र नेपाली जनताले फेरि एकपटक हामी स्वाभिमान छौं भन्ने अवसर यो चलचित्रले प्रदान गरेको छ ।’

यस्तै पूर्वसचिव उपाध्यायले अहिले सस्तो रूपमा बुझ्ने गरेको नेपालको स्वाभिमान हाम्रो पुर्खाको रगतले जोगिएको हो भन्ने कुरा यो चलचित्रले सम्झाउने बताउनुभयो । केन्द्रीय चलचित्र जाँचपास समितिका अध्यक्ष सेवन्तक पोखरेलले राष्ट्र र राष्ट्रियताको जगेर्ना हामीले कसरी गर्न सक्छौँ भन्ने कुराको शिक्षा यो फिल्मले दिएको उल्लेख गर्नुभयो ।

त्यस्तै, नेपाल चलचित्र संघका उपाध्यक्ष गोपाल कायस्थले सरकारले बनाउनुपर्ने चलचित्र व्यक्तिले बनाएको सन्दर्भमा सरकारले ट्याक्स फ्री गर्नुपर्ने जिकिर गर्नुभयो । स्टक मार्केटका लगानीकर्ता छोटेलाल रौनियारले राज्यले प्रोत्साहनस्वरूप यो चलचित्रलाई कर छुट दिइनुपर्ने विचार व्यक्त गर्नुभयो ।

यस चलचित्रमा देशभक्त खनाल, अर्जुनजंग शाही, सन्तोष पन्त, मनोज शाक्य, विशाल पहारी, विजय विष्फोट, पूजना प्रधान, गीता अधिकारी, महावीर विश्वकर्मा, ईशान विजु श्रेष्ठ, हिक्मत थपलिया, शारिता राजोपाध्याय, लक्ष्मी नाथ, गायत्री घिमिरे, जनक बर्तौला, विशाल श्रेष्ठ, सहिना भट्टराई, गीता विष्ट, युगजंग कार्की, सिमन खड्का, सुशील खड्का (डेभिड), बालकलाकार तेजस्वी गुरुङ, हार्दिक थपलिया, प्रनिस शाक्य, निर्माण थपलिया साथै विदेशी कलाकारहरू एन्ड्रोइन डंकन, रेचल मोलेस, पल विकिन्सन र सामलगायतको अभिनय छ ।

रिमेश अधिकारी फिल्म प्रोडक्सन प्रालि, वीर गोर्खाली फिल्मस प्रालि, गंगानारायण फिल्म प्रोडक्सन प्रालि र बिजी बी इन्टरटेन्मेन्ट प्रालिको व्यानरमा निर्माण ‘नालापानी’मा भिएफएक्स अच्युत गजुरेल, छायांकन रामशरण उप्रेती, सम्पादन विपिन मल्ल, द्वन्द्व निर्देशन रोशन श्रेष्ठ, नृत्य निर्देशक कविराज गहतराज, संगीत डिजे एलेक्स र सुजिल कर्माचार्यको छ । राम भट्टराई र हरि उप्रेतिले रचना गरेका चलचित्रका गीतमा गायक राजेश पायल राई, मेलिना राई र रानी शाक्य स्वर छ ।

‘नालापानी’का एसोसिएट निर्माता सपनकुमार थापा, सहनिर्माता गणेश कार्की, कार्यकारी निर्माता घनेन्द्र थपलिया तथा निर्माता मनोज शाक्य र रिमेश अधिकारी हुनुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?