खोटाङमा ढुङगै, ढुङगाको बगैँचा

रक गार्डेनमा निर्माण गरिएको ढुङगाको मुन गेट र रक गार्डेनमा देखिने कलात्मक ढुङगाहरु ।

Read Time = 6 mins

-चिसाङ शेर्पा
खोटाङ । तपाईले फूलको बगैचा देख्नु भएको होला । आफ्नो घर, आगनमा आफैले फूलकै बगैचा पनि बनाउनु भएको होला । तर, तपाईले ढुङगै, ढुङगाको बगैचा देख्नुभएको छ ? छैन भने हेर्न अनि फोटो खिच्नलाई खोटाङको त्रि–धार्मिकस्थल हलेसीभन्दा केही माथि ककनीडाँडाको रक गार्डेन(ढुङगाको बगैचा)मा आउनुहोस् ।

हलेसी तुवाचुङ नगरपालिका र प्रदेश नम्बर १ को साझेदारीमा हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानको ककनीडाँडामा निर्माणको अन्तिम चरणमा पुगेको रक गार्डेनले यतिबेला आन्तरिक तथा वाह्य पर्यटकलाई आर्कषित गर्न थालेको छ । आन्तरिक पर्यटकहरु दैनिकरुपमा भ्रमण, अवलोकन र रमाइलो गर्नलाई पुग्न थालेका छन् । त्यहाँ निर्माण गरिएको संरचनाहरु सामाजिक सञ्जालहरुमा आउन थालेको छ ।

विभिन्न आकृतीका कलात्मक हजारौं ढुंगाहरु भएको ठाउँलाई व्यवस्थित तरिकाले रक गार्डेन बनाईएको हो । हलेसीबाट केही माथि रहेको रमणीय ककनीडाँडामा महादेवलाई भस्मासुरले लखेटेको साथै उनीहरूबीच भीषण युद्ध भएको किंवदन्ती छ । भस्मासुरले महादेवलाई लखेट्दा महादेवको पाइला परेको स्थानमा कलात्मक ढुङ्गाहरू पैदा भएको धार्मिक मान्यता छ । तिनै ढुङगालाई नबिगारी त्यसैलाई सजिसजाउँ गर्दैे, ढुङगाको बिचबिचमा रङ्गीचङ्गी फुलहरु रोपेर, ढुङगाकै विभिन्न संरचना निर्माण गरेर रक गार्डेनलाई पूर्णता दिईएको छ ।

आर्थिक वर्ष २०७६÷०७७ बाट निर्माण सुरु गरिएको रक गार्डेनमा चिल्ड्रेन पार्क, ढुंङगाको मुन गेट, परगोला(फोटो खिच्न र फूल सजाउने) गजेबो(प्रतिक्षालय) गार्ड हाउस, रेष्टुरेन्ट, मेन गेट, घेराबारा, पानीको फोहोरा देखाउने पोखरी, रक क्लाइबिङ, आउटडोर जिम, शौचालय, बृक्षरोपण, टिकट काउण्टर निर्माण भईसकेको नगरपालिकाका ईन्जिनियर रम्भु कुमार यादवले जानकारी दिनुभयो । पैदलबाटो, विजुली वत्ती जडान र पानीको फोहोरा फाल्ने मेशिन जडान गर्न बाँकी छ । करीव ९० प्रतिशत काम सकिएको छ । यादवले भन्नुभयो । ‘अहिले नै दैनिक १५÷२० जना आन्तरिक पर्यटक रक गार्डेन आउन थालेका छन् ।’

सरकारी ५६ रोपनी जग्गामा हालसम्म २ करोड ३६ लाख खर्चेर निर्माण गरिएको विभिन्न संरचनाहरु हेर्न र मुख्यतः विभिन्न आकृतीका कलात्मक हजारौं ढुंगाहरु हेर्न, छुन नै पर्यटकहरु यहाँ आउने गरेको छ । ढुंगाहरु पनि वर्षौवर्ष मानिसले कुदेर बनाएजस्तो भेटिन्छ । रक गार्डेनबाट सगरमाथा हिमाल, सोलुखुम्बु, ओखलढुंगा, रामेछाप, तराईका फाँटहरु सजिलै अवलोकन गर्न सकिन्छ । विभिन्न हिमालका दृश्यहरु नियाल्न सकिन्छ ।

निर्माणको अन्तिम चरणमा पुगेको रक गार्डेन सञ्चालनमा आईसकेपछि यहाँ पर्यटक आउने, खाने बस्ने गर्दा होटल व्यवसाय, लज, होमस्टे सञ्चालनमा फाईदा पुग्ने र स्थानीय उत्पादन विक्री गर्न सजिलो हुने स्थानीय हरि पोखरेलले बताउनुभयो । त्यसबाट केही समयपछि आर्यआर्जनमा सुधार आउने देखिन्छ । रक गार्डेनको त्यति धेरै प्रचारप्रसार भईरहेको छैन । पोखरेलले भन्नुभयो, ‘राष्ट्रिय स्तरमै प्रचारप्रसार गरेर हाइलाइट गराउनुपर्ने देखिन्छ । त्यसो हुंदा मात्रै विदेशी पर्यटकहरु आउने देखिन्छ ।’

नगरपालिका भित्रको महत्वपूर्ण आयोजना रक गार्डेन सम्पन्न हुने प्रक्रियामा रहेको हलेसी तुवाचुङ नगरपालिकाका मेयर बिमला राईले बताउनुभयो । रक गार्डेन नगरपालिकाको लागि दिगो आर्थिक स्रोत हो । सञ्चालनमा आएपछि यहाँबाट राम्रो आन्तरिक श्रोत संकलन हुन्छ । त्यसले नगरपालिकाको विकास निर्माणमा ठूलो टेवा पु¥याउनेछ । मेयर राईले भन्नुभयो । रक गार्डेनसँगै रक क्लाइम्बिङको पनि व्यवस्था गरेका छौ ।

त्रि–धार्मिकस्थल हलेसी आएका पर्यटकलाई रक गार्डेन पु¥याउन नगरपालिकाले कस्तो भूमिका खेल्छ भन्ने प्रश्नमा मेयर राईले भन्नुभयो यो प्राकृतिक सौन्दर्यता भएको ढुङगाको बगैचा हो । यो जहाँ कही पाउन सकिन्न । त्यो श्रोत हामीसँग छ । रक गार्डेनको व्यवस्थापन गर्ने र आउनजानलाई सजिलो बनाउने काममा हाम्रो भूमिका रहनेछ । पर्यटकका हकमा हामीले सूचना सम्प्रेषण गरे मात्रै पनि आउनुहुन्छ । मेयर राईले भन्नुभयो ।

 

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?