नवौं राष्ट्रिय खेलकुदमा अनियमितता भएको भन्दै अख्तियारमा उजुरी

हिमालय टाइम्स
Read Time = 5 mins

काठमाडौं । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको आयोजनामा आर्थिक अनियमितता भएको भन्दै अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । नागरिक समाज कास्कीले नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको आयोजनाका दौरान लाखौं रुपैयाँ हिनामिना भएको दाबी गर्दै छानबिनका लागि अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा उजुरी दिएको हो ।

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता गण्डकी प्रदेशका विभिन्न जिल्लामा असोज २८ देखि कात्तिक ३ गतेसम्म सञ्चालन भएको थियो । नागरिक समाज कास्कीले नवौं राष्ट्रिय खेलकुदका क्रममा घाइते खेलाडीलाई स्वास्थ्य उपचार सुविधा उपलब्ध नगराएको, प्याराग्लाइडिङ खेल सञ्चालनका लागि नागरिक उड्डयन प्राधिकरणसँग स्वीकृति नलिएको, प्रचलित कानुनविपरीत आतिसबाजी गरिएको र खेल आयोजनापूर्व खेलकुद पूर्वाधार निर्माण तथा खेलमैदानको स्तरोन्नतिका नाममा भएको खर्च विवरण छानबिन गर्न माग गर्दै उजुरी गरेको हो ।

समाजका तर्फबाट संयोजक रामबहादुर पौडेल र प्रवक्ता गोकुलबहादुर कार्कीले अख्तियारमा उजुरी दर्ता गराउनुभएको छ । त्रिभुवन आर्मी क्लब नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको च्याम्पियन बनेको थियो । विभागीय त्रिभुवन आर्मी क्लबले ३७१ पदक जितेर शीर्षस्थान हासिल ग¥यो । आर्मीले १७२ स्वर्ण, ११० रजत र ८९ कास्य पदक जितेको थियो ।

यसैगरी नेपाल एपिएफ क्लब दोस्रो स्थानमा रहृयो । एपिएफले ६५ स्वर्ण, ७३ रजत र ८१ कास्यसहित २१९ पदक जित्यो । तेस्रो स्थानमा रहेको नेपाल पुलिस क्लबले ६१ स्वर्ण, ६१ रजत र ७३ कास्यसहित २१८ पदक जितेको छ । आयोजक गण्डकी प्रदेश चौथो स्थानमा रहृयो । गण्डकीले ३२ स्वर्ण, ३१ रजत र ५७ कास्यसहित १२० पदक जितेको छ ।

प्रतियोगितामा तीन हजार ६८५ महिलासहित सात हजार ७९० खेलाडीले विभिन्न ३६ खेल विधामा प्रतिस्पर्धा गरेका थिए । नेपालको खेलकुदको इतिहासमा पोखरामा चार दशकपछि दोस्रोपटक राष्ट्रिय खेलकुद प्रतियोगिता भएको हो । यसअघि २०४० चैत १२ देखि २० गतेसम्म पोखरामा ‘दोस्रो राष्ट्रिय खेलकुद प्रतियोगिता’ आयोजना गरिएको थियो ।

प्रत्येक टोलीबाट कम्तीमा ३३५ महिला र ३७४ पुरुष खेलाडीको सहभागिता रहेको थियो । नवौं राष्ट्रिय खेलकुदमा फुटबल, क्रिकेट, टेनिस, एथ्लेक्टिस, भारोत्तोलन, सुटिङ, ब्याडमिन्टन, टेबलटेनिस, बक्सिङ, भलिबल, बुद्धिचाल, खोखो, कराँते, जिम्न्याष्टिक, पौडी र कबड्डी खेल समावेश गरिएको थियो । यस्तै, हृयाण्डबल, जुडो, कुस्ती, फुटबल, कराँते, सफ्ट टेनिस, स्क्वास, तेक्वान्दो, उसु, बास्केटबल, शारीरिक सुगठन, आइटिएफ तेक्वान्दो, सेपाताक्रोे, गल्फ, आर्चरी, साइक्लिङ, फेन्सिङ, ट्रायथलन र प्याराग्लाइडिङमा समेत प्रतिस्पर्धा भएको थियो ।

विसं २०४० चैत १२ देखि २० गतेसम्म पोखरामा आयोजना भएको दोस्रो राष्ट्रिय खेलकुद प्रतियोगितामा १९ खेल विधामा ३७० पदकका लागि ५३९ महिलासहित दुई हजार ५७ खेलाडीबीच प्रतिस्पर्धा भएको थियो । विसं २०४२ फागुन २३ देखि चैत १ गतेसम्म वीरगञ्जमा भएको तेस्रो राष्ट्रिय खेलकुदमा ७३८ महिलासहित दुई हजार ७७५ खेलाडीले २१ खेल विधामार्फत् ३७० पदकका लागि प्रतिस्पर्धा गरेको इतिहास छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?