दीपावलीको शुभकामना ¤

हिमालय टाइम्स
Read Time = 6 mins

नेपालीहरूको महान चाड दशैँ सकिएलगत्तै अहिले हामी तिहार मनाइरहेका छौँ । आज कुकुर तिहार भइसकेको छ । हाजै साँझ लक्ष्मी पूजा गरिँदैछ । सबै नेपाली तिहारको तयारीमा व्यस्त भएको समय हो यो । भरखरै सकिएको दशैँ यस वर्ष त्यति सुखद् रहेनभन्दा पनि हुन्छ । मनसुन दशैँका बेलामा सक्रिय भइदिनाले बाढी पहिरोका कारण आउजाउकमा निकै नै कठिनाइ भयो । उपत्यकामा रहेका उपत्यका बाहिरका नागरिकलाई घरजान निकै गाह्रो भयो । टीकापछि पनि माइत/मावल जानेहरूले पनि त्यसैगरी दुःखको सामना गर्नुपरेको थियो । यतिमात्र होइन देशका विभिन्न भागमा बाढी र पहिरोबाट धेरै नागरिकले ज्यान गुमाउनु प¥यो । खेतीबालीको क्षतिको परिमाण आकलन गर्नै नसकिने खालको थियो ।

दशैँभरि नै यस्तै अवस्था रहिरहृयो । दशैँ सकिएको केही दिनसम्म पनि पानी परिरहेको थियो । अब भने यस्तो अवस्था छैन, पानी रोकिइसकेको छ । तैपनि राजधानीबाट बाहिर जानेहरूका लागि उत्तिकै सास्ती छ । गाडी तथा प्लेनको टिकट पाउन मुस्किल छ र पाइहाले पनि साविकको भन्दा दोब्बर वा डेढा तिर्नु परिरहेको छ । यो दुःखद् पक्ष भए तापनि हाल पानी बन्द भइसकेकाले बाढी पहिरोको सामना गर्नुपर्ने अवस्था छैन । बाढीपहिरो, दुर्घाटना समेत कारक भएकाले त्यसबाट हुने दुर्घटना कम हुने निश्चित छ । तिहार पर्वसँग अनेकौं किंबदन्ती जोडिएर आएका छन् । यमराज बहिनी यमुनाका घरमा गएर पाँच दिन बसेकोदेखि बली राजाको प्रसंग यस पर्वसँग जोडिएर आउँछन् ।

देउसी, भैलोको परम्परा, पिङको चलन आदिले गर्दा तिहारको महत्व उच्च रहने गरेको छ । दशैँको विरोध गर्नेहरूले समेत तिहार धुमधामसँग मनाउने गरेका कारण यो पर्व सबै नेपालीको साझा पर्व हो भन्दा अत्युक्ति हुँदैन । तिहार भने फूल र बत्तीको झिलीमिलीमा रमाएर मनाइने मनोरञ्जनात्मक पर्व हो । यसको आफ्नै खालको विशेषता र महत्व छ । पाँच दिनसम्म मनाइने तिहारका पाँचै दिन फरक-फरक महत्वले परिपूर्ण छन् । अरू समयमा पूजा नगरिने केही प्राणीहरू यस पर्वमा पुजिन्छन् । पहिलो दिन कागको पूजा गरिन्छ र यसलाई यमराजको सन्देशबाहक पक्षीका रूपमा पुजिन्छ । यसदिन कागलाई भात तथा अन्य खानेकुराहरू दिने गरिन्छ ।

दोस्रो दिन कुकुरको पूजा गरिन्छ । कुकुरलाई रक्षक र सेवकका रूपमा हेरिन्छ र यसदिन कुकुरलाई खाने कुरा दिने र माला लगाइदिने गरिन्छ । तेस्रो दिन धनकी देवी लक्ष्मीको पूजा गरिन्छ । गाईतिहार भनिने यसदिन लक्ष्मीको प्रतीकका रूपमा गाईको पूजा गर्ने परम्परा छ । तिहारको चौथो दिन गोबद्र्धन पूजा हुन्छ । भगवान कृष्णले गोबद्र्धन पर्वत उठाएर पृथ्वीवासी सबैको रक्षा गरेको सम्झना गरी यसदिन वर्षभरि कृषिकर्ममा मानिसलाई सहयोग पुर्याउने गोरुको पूजा गर्ने परम्परा छ । यस दिनलाई गोरु जोत्न सहयोग पुर्याउने हलीको पूजा गर्ने भएकाले हली तिहार पनि भनिन्छ । तिहारको अन्तिम दिन भाइटीका गरिन्छ । दिदीबहिनीले दाजुभाइलाई टीका-माला लगाएर यथाशक्य फलफूल, वस्त्र, मिठाई, रोटीहरू दिने गर्छन् र दाजुभाइहरूले पनि आफ्ना दिदीबिहिनीलाई टीका लगाइदिएर दक्षिणा, वस्त्र आदि दिने गर्छन् ।

विगत एक दुई वर्ष कोरोना महामारीका कारण खुलेर तिहार मनाउन पाइएन । यसपटक पनि डेंगुको संक्रमण फैलिएकै छ । त्यसैले सकेसम्म बढी सतर्क भएर तिहार मनाऔँ । सबैजना स्वस्थ रहौँ र स्वस्थ रहेरै यथेष्ट खुशीका साथ पर्व मनाऔँ । पर्वका नाममा विकृति र विसंगतिहफैलाउनु बुद्धिमत्ता होइन । त्यसैले पटकालगायत फजुल खर्च र क्षति पुग्ने कार्यलाई निरुत्साहित गर्नु उचित हुन्छ । स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली तथा नेपाली मूलका सबै व्यक्तिहरूमा २०७९ सालको महान् पर्व तिहार वा शुभदीपावली, नेपाल सम्वत्, म्हःपूजा, भिन्तुना, छठलगायत सम्पूर्ण पर्वहरूको हार्दिक मंगलमय शुभकामना ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?