अदालतमा सन्दीपको बयान- ‘मलाई कसैको उक्सावटमा फसाइयो’, थुनछेकको बहस आज

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । जिल्ला अदालत काठमाडौंमा सन्दीप लामिछानेको बयान गराइएको छ । सोमबार अभियोजन पत्र दायर भएसँगै मंगलबारबाट उनको मुद्दामा सुनुवाई सुरु भएको हो । लामिछानेसँगको बयान सकिएको छ । जिल्ला अदालत काठमाडौंका न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासमा सन्दीपको बयान भएको हो ।

१७ वर्षीया नाबालिगमाथि बलात्कार गरेको आरोपमा पक्राउ परेका सन्दीपविरुद्ध जिल्ला सरकारी वकिलको कार्यालयले सोमबार अभियोगपत्र दायर गरेको थियो । अभियोग पत्र दायरपछि अदालतमा मंगलबार सन्दीपको बयान भएको हो । सन्दीपसँग बयान लिने काम सकिएकाले बुधबारबाट थुनछेक बहस हुने सन्दीप पक्षका वकिल मुरारी सापकोटाले जानकारी गराउनुभयो ।

उहाँले मंगलबार नेपाल प्रहरीले ढिलो गरी अदालतमा उपस्थित गराएको र बीचमा बत्ती गएका कारण बयान लिने काम ढिला शुरु भएको जनाउनुभयो । उहाँले सन्दीपले बयानका क्रममा आफूप्रति बदनियत र कसैको उक्सावटमा अभियोग लगाएको बयान दिएको बताउनुभयो । उहाँले सन्दीपले आफूमाथि लागेको अभियोग झुटो रहेको प्रमाणसमेत पेस गरेको बताउनुभयो । उहाँले पीडित किशोरीले अनुसन्धानका क्रममा दिएको विवरण र डाक्टहरूको समूहमा स्वास्थ्य परीक्षण गराउँदा दिएको विवरण मेल नखाएको बताउनुभयो । उहाँले किशोरीको बयान शंकास्पद रहेकाले किशोरीको जन्मदर्तालाई नै प्रमाण मानेर केस अघि बढाउने कुरामा आफूहरूले वकालत गर्ने स्पष्ट पार्नुभयो ।

सन्दीपमाथि गत भदौ ५ मा काठमाडौंको एक होटेलमा लगेर एक १७ वर्षीया बालिकालाई बलात्कार गरेको अभियोग छ । पीडित बालिकाले आफूमाथि बलात्कार भएको भन्दै भदौ २१ गते प्रहरी वृत्त गौशालामा जाहेरी दिएकी थिइन् । तत्काल प्राप्त प्रमाणबाट सन्दीप निर्दोष भन्न सकिने अवस्था अदालतले नदेखेमा उनलाई कारागार पठाउने आदेश हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?