चोभार सबस्टेसन निर्माण अवरोध हट्यो

Read Time = 5 mins

काठमाडौं । कीर्तिपुर नगरपालिका-६ चोभारमा १३२ केभीको सबस्टेसन निर्माणमा भइरहेको अवरोध हटेको छ । नेपाल विद्युत् प्राधिकरणले हिमाल सिमेन्टको स्वामित्वको चोभार, भूतखेलस्थित १२ रोपनी १२ आना जग्गामा १३२/११ केभीको सबस्टेसन निर्माण प्रक्रिया अघि बढाएपछि स्थानीय बासिन्दाले अवरोध गर्दै आएका थिए । उक्त स्थान खेलमैदानका रूपमा प्रयोग हुँदै आएको भन्दै सबस्टेसन निर्माणमा अवरोध गर्दै आएका हुन् । मन्त्रिपरिषद्को १७ माघ २०७८ को बैठकले हिमाल सिमेन्टको स्वामित्वमा रहेको जग्गा सबस्टेसन निर्माणका लागि प्राधिकरणलाई भाडामा उपलब्ध गराउने निर्णय गरेको थियो ।

प्राधिकरणले सर्वे, माटो परीक्षण, डिजाइन जस्ता निर्माणपूर्वका प्रारम्भिक कार्य सकिएको र सरकारले जग्गा उपयोग गर्न दिइसकेको अवस्थामा सो स्थानको विकल्पमा अन्य स्थानमा सबस्टेसन सार्न नसकिने प्रष्ट पार्दै आएको थियो । कीर्तिपुर नगरपालिकाका प्रमुख राजकुमार नकर्मी, उप-प्रमुख शुभलक्ष्मी शाक्य, प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, वडाध्यक्ष खिरमान सिंह बस्नेत, जलविनायक सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष दीपक महर्जन र स्थानीय बासिन्दाका प्रतिनिधि सम्मिलित संयुक्त बैठकले सबस्टेसन निर्माण अघि बढाउने निर्णय गरेको छ ।

प्राधिकरणले हिमाल सिमेन्टको स्वामित्वको चोभारको भूतखेलस्थित १२ रोपनी १२ आना जग्गामा सबस्टेसन निर्माण प्रक्रिया अघि बढाएपछि स्थानीय बासिन्दाले अवरोध गर्दै आएका थिए ।

प्राधिकरणले स्थानीयले उठाएको माग सम्बोधन गर्ने र त्यसका लागि आवश्यक पर्ने बजेट व्यवस्था गर्ने सहमति भएको छ । कीर्तिपुर नगरपालिका, स्थानीय क्लब, संघसंस्था र स्थानीयवासीसँगको छलफल र सहमतिमा मागलाई सम्बोधन गरिने प्राधिकरणले जनाएको छ । चोभारस्थित सुक्खा बन्दरगाहको प्रवेशद्वारबाट सुरु भएको करिब दुई किलोमिटर ११ केभी लाइन तथा पोल सुरक्षित नदेखिएकाले स्थानीयको मागबमोजिम लाइन भूमिगत गरी प्राधिकरणले व्यवस्थापन गरिदिने सहमति भएको हो ।

विद्युत् आपूर्तिको अत्यावश्यकतालाई ध्यान दिएर सबस्टेसन निर्माणमा अवरोध नगर्ने र सम्बन्धित वडाले आवश्यक सहयोग गर्ने बैठकबाट निर्णय भएको प्राधिकरणले जनाएको छ । बैठकमा नगरप्रमुख नकर्मीले विकास निर्माणका काममा नगरपालिकाको सधँै सहयोग गर्ने बताउनुभएको छ ।

प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले सबस्टेसन निर्माणका लागि ठेक्कापट्टा लागिसकेकाले चाँडै निर्माण सुरु गर्ने बताउनुभयो । काठमाडौं उपत्यकाको विद्युत् आपूर्तिमा सुधार गर्न महत्वपूर्ण मानिएको थानकोट-चापागाउँ-भक्तपुर १३२ केभी प्रसारणलाइन निर्माणमा ललितपुरको खोकना, बुंमती, हरिसिद्धि र लामाटार क्षेत्रका स्थानीय बासिन्दाले अवरोध गरिरहेका छन् । स्थानीयको अवरोधका कारण प्रसारणलाइन बनाउन नसकिएपछि प्राधिकरणले विकल्पमा चोभारमा सबस्टेसन निर्माण अघि बढाएको हो । थानकोटबाट चोभारसम्मको काठमाडौं खण्ड र भक्तपुरतर्फको निर्माण भने सकिएको छ ।

एसियाली विकास बैंकको काठमाडौं उपत्यका प्रसारण क्षमता सुदृढीकरण आयोजनामार्फत् प्राप्त सहुलियतपूर्ण ऋणमा सबस्टेसन निर्माण गर्न लागिएको हो । काठमाडौं उपत्यकाको सन् २०३० सम्ममा नौ सय २५ मेगावाट, २०४० सम्ममा १८ सय २५ मेगावाट र २०५० सम्ममा ३१ सय ६९ मेगावाट उच्चतम् माग हुने प्रक्षेपणका आधारमा प्राधिकरणले प्रसारण तथा वितरण पूर्वाधार सञ्जालका संरचना योजनाबद्धरूपमा अघि बढाइएको प्राधिकरणको भनाइ छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?