मतदातालाई नानाथरी प्रलोभन !

चुनाव जित्न फ्री भिसादेखि लाभका पदसम्मको आश्वासन

डिबी शर्मा
Read Time = 7 mins

काठमाडौं । ‘जसरी आज हामी हेलिकप्टरमा आयौँ । हेलिकप्टरमा यहाँ आउने क्षमता बनाउन सक्ने मान्छेलाई छान्नुस्,’ नेपाली कांग्रेसकी केन्द्रीय सदस्य आरजू राणा देउवाले शनिबार डडेल्धुरा पुगेर दिएको अभिव्यक्ति हो यो । राणा कांग्रेस केन्द्रीय सदस्य मात्रै होइन प्रधानमन्त्री शेरबहादुर देउवा धर्मपत्नी पनि हुनुहुन्छ । जुन कांग्रेस सभापतिसमेत रहनुभएका देउवाकै गृहजिल्ला र निर्वाचन क्षेत्र पनि हो यो । देउवाकै निर्वाचन क्षेत्रमा पुगेर आरजूले दिएको पछिल्लो अभिव्यक्ति अहिले चर्चामा छ । अभिव्यक्तिलाई लिएर राणाको सामाजिक सञ्जालमा व्यापक आलोचना भइरहेको छ । सोही कार्यक्रममा उहाँले देउवालाई दाइ भन्नेहरू ठुल्ठूलो ओहोदामा पुगेको समेत बताउनुभएको थियो । राणाले यस्तो विवादित अभिव्यक्ति दिएको पहिलोपटक भने होइन । स्थानीय तहको निर्वाचनदेखि आसन्न संसदीय निर्वाचन लक्षित उहाँका धेरैजसो अभिव्यक्ति विवादास्पद रहँदै आएका छन् । उहाँका एकपछि अर्का विवादित अभिव्यक्ति हेर्दा लाग्छ उहाँले ‘बोल्यो कि पोल्यो’ ।

यसअघि, उहाँले डडेल्धुराका मान्छेका लागि बालुवाटारको ढोका सधैँ खुला रहने अभिव्यक्ति दिनुभएको थियो । प्रधानमन्त्री निवाससमेत रहेको ‘बालुवाटारको ढोका डडेल्धुराका मान्छेका लागि ‘खुल्जा सिमसिम भन्नासाथ खुल्छ,’ उहाँको भनाइ थियो । त्यसअघि स्थानीय तह निर्वाचनमा उहाँले दिएको ‘कांग्रेसले जितेका ठाउँमा मात्रै बजेट आउँछ, अरूले जित्दा बजेट आउँदैन, निःशुल्क मलेसिया पठाइदिने’ जस्ता विपादास्पद अभिव्यक्ति पनि अत्यधिक विवादमा तानिए । पटक पटक देउवा प्रधानमन्त्री हुँदा शासकीय ‘रजगज’मा रमाउनुभएकी राणा विभिन्न विवादास्पद अभिव्यक्तिका कारण बारम्बार आलोचित हुँदै आउनुभएको छ । सभापति देउवालाई डडेल्धुराबाट सातौँपटक जिताउने प्रयत्नमा विवादास्पद अभिव्यक्ति दिइरहनु भएकी राणा आफू भने प्रत्यक्षमा चुनाव नलडेर समानुपातिकमा बस्नुभएको छ । २०७४ सालको निर्वाचनमा कैलाली-५ बाट पराजित भएपछि उहाँले यसपालि प्रत्यक्ष चुनाव लड्ने आँट गर्नुभएन र समानुपातिकमा सिट सुरक्षित गर्नुभयो ।

झुटा आश्वासन र प्रलोभनमा जनता झुक्याउनेको सूची लामो
चुनावमा जनताका समस्या र पार्टीका एजेण्डा केन्द्रित भएर मतदातासँग मत माग्नुपर्नेमा उम्मेदवार र दलका नेताहरूले अनावश्यक प्रलोभन देखाउने गरेका छन् । यसमा कांग्रेस नेतृ राणा अग्रपंक्तिमा देखिए पनि उहाँ एक्लो भने हुनुहुन्न । झुटा आश्वासन र प्रलोभनमा जनता झुक्याउने नेताहरूको सूची लामो छ । केही दिनअघि नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले रौतहटमा आयोजित कार्यक्रममा मतदातालाई प्रलोभन पार्ने गरी अभिव्यक्ति दिनुभएको थियो । ‘तपाईंले बिना ढेवा के भिसा मिलते हैं, टिकट मिल्ते हैं, काठमाडौं तालिम मिल्ते है,’ उहाँले भन्नुभएको थियो । जसको पनि व्यापक आलोचना भयो । त्यस्तै बारा क्षेत्र नं ४ का उम्मेदवार कृष्णकुमार श्रेष्ठले पनि बेरोजगार युवालाई फ्री भिसा, फ्री टिकटमा विदेश पठाइदिने अभिव्यक्ति दिनुभएको थियो ।

कतिपय शीर्ष नेताले चुनावी प्रचारका क्रममा आफ्ना उम्मेदवारलाई जिताए मन्त्री बनाइदिने प्रलोभन पनि दिने गरेका छन् । कतिपयले आफूले जिते विभिन्न नियुक्तिहरू दिलाइदिने प्रलाभनसमेत बाँडिरहेका छन् । अझै आफैँलाई विभिन्न प्रधानमन्त्रीको दाबेदारका रूपमा प्रस्तुत गर्दै मत माग्नेहरूको पनि कमी छैन । पार्टीले आधिकारिक उम्मेदवार घोषणा नगरेको भए पनि चुनावपछि प्रधानमन्त्री हुने प्रलोभन बाँड्दै कांग्रेसकै चारजना उम्मेदवारले मतदातासँग मत मागिरहेका छन् । कांग्रेस नेता रामचन्द्र पौडेल, प्रकाशमान सिंह, शशांक कोइराला र गगन थापाले आफूलाई भावी प्रधानमन्त्रीको रूपमा प्रस्तुत गर्दै मत मागिरहनु भएको छ ।

उसो त आफूलाई भावी प्रधानमन्त्रीको रूपमा प्रस्तुत गर्ने कांग्रेस नेता मात्रै होइनन् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’पनि हुनुहुन्छ । विगतमा पटक पटक जितेका र सत्तामा पुगेर पनि जनअपेक्षित काम गर्न नसकेका नेताहरू राजनीतिक एजेण्डा केही नभएपछि विभिन्न विषय उठाएर जनतालाई भ्रमित गर्न खोजिरहेका छन् । मुद्दा र एजेण्डा केन्द्रित भएर मत माग्नु पर्नेमा उम्मेदवारले अनावश्यक प्रलोभन देखाएर मत माग्नु निर्वाचन आचारसंहिताविपरीत समेत हो । तर, आयोगले भने उनीहरूलाई स्पष्टीकरण मात्रै सोधेर उन्मुक्ति दिने गरेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?