सुनचाँदी निर्देशिका जारी गर्न आग्रह

Read Time = 2 mins

काठमाडौं । सुनचाँदी व्यवसायीले सुनचाँदी व्यवसाय सञ्चालनसम्बन्धी निर्देशिका जारी गर्न वाणिज्य तथा आपूर्ति व्यवस्थापन विभागसँग आग्रह गरेका छन् ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष माणिकरत्न शाक्य नेतृत्वमा बुधबार गएको प्रतिनिधिमण्डलले सुनचाँदी व्यवसाय सञ्चालनसम्बन्धी निर्देशिका अभावमा व्यवसाय सञ्चालनमै बाधा पुुगेको भन्दै छिट्टै निर्देशिका जारी गर्न आग्रह गरेको हो ।

सो अवसरमा विभागका महानिर्देशक कमल भट्टराईले व्यवसायीको मागलाई सकारात्मकरूपमा लिएको र छिट्टै निर्देशिका जारी गर्न पहल गर्ने बताउनुुभयो । उहाँले निर्देशिकाको आवश्यक अध्ययन गरी शीघ्र प्रक्रिया अघि बढाउने आश्वासनसमेत दिनुुभएको महासंघले जनाएको छ । सुनचाँदी व्यवसाय सञ्चालनसम्बन्धी स्पष्ट निर्देशिका नहुँदा उपभोक्ता र व्यवसायी पनि मर्कामा पर्दै आएका छन् ।

साथै महासंंघले बजारको मागअनुरूप आपूर्ति व्यवस्था मिलाउन आवश्यक पहलका लागि पनि विभागलाई आग्रह गरेको छ । पछिल्लो समय बजारको मागअनुसार सुन आपूर्ति नहुँदा सुनचाँदी व्यवसायी समस्यामा परेको महासंघको भनाइ छ । विदेशी विनिमय सञ्चिति अवस्था देखाउँदै नेपाल राष्ट्र बैंकले सुन आपूर्ति घटाएका कारण बजारमा सुनको अभाव भएको हो ।

हाल विभिन्न बैंकमार्फत् दैनिक १० केजी सुन आपूर्ति हुँदै आएको छ । सो अवसरमा महासंघका उपाध्यक्षद्वय पवनकुमार सोमानी र महेन्द्ररत्न शाक्य, महासचिव धर्मसुुन्दर बज्राचार्य र सचिव किरणभाइ बज्राचार्यको उपस्थिति थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?