प्रकाशमानलाई भोट माग्दै बाबुराम भट्टराई

हिमालय टाइम्स
Read Time = 3 mins
A A- A+

काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले गठबन्धनलाई बलियो बनाएर मात्रै संविधानको रक्षा हुने बताउनुभएको छ ।

शुक्रवार काठमाडौं निर्वाचन क्षेत्र नम्बर १ का गठबन्धनका साझा उम्मेदवार एवं नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहको घरदैलाै कार्यक्रममा सहभागी हुँदै उहाँले यस्तो बताउनुभएको हो । उहाँले नेता सिंह देश विकासको लागि सही र सक्षम नेता भएकाले गठबन्धनका उम्मेदवारहरुलाई काठमाडौं १ का मतदाताले जिताउनेमा विश्वस्त रहेको बताउनु भयो ।

उहाँले गठबन्धनमा साझा उम्मेदवारहरुले आसन्न निर्वाचन जितेको खण्डमा मात्रै संविधानको रक्षा र प्रतिगमनकारीलाई रोक्न सकिने भएकाले प्रकाशमानलगायत गठबन्धनका साझा उम्मेदवारहरुलाई मतदान गर्न आग्रह गर्नुभयो । अध्यक्ष भट्टराईले आफूले संघर्ष गरेर ल्याएको संघीय लोकतान्त्रिक गणतन्त्र र संविधानमाथि नै प्रहार भएकाले गठबन्धन निर्माण गर्नुपरेको उल्लेख गर्दै गठबन्धनलाई बलियो बनाएर मात्रै संविधानको रक्षा, सुशासन र राजनीतिक स्थिरता हुनसक्ने दाबी गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘अहिलेको निर्वाचन विशिष्ट छ । सामान्य अवस्थामा बहुदलीय लोकतन्त्रमा दलहरुको प्रतिष्पर्धा हुन्छ । तर अहिले हामीले निर्माण गरेको, संघर्ष गरेर ल्याएको जुन संघीय लोकतान्त्रिक गणतन्त्र र संविधान छ, त्यसमाथि नै प्रहार भएको हुनाले प्रतिगमनकारी शक्तिहरुका बिरुद्ध अग्रगमनकारी हामी शक्तिहरुको गठबन्धन हो । त्यसअर्थमा नेपाली काँग्रेसका नेता प्रकाशमान सिंह योग्य व्यक्तित्व हुनुहुन्छ । व्यक्तिगत रुपमा पनि उहाँ स्वच्छ हुनुहुन्छ, त्यसैले उहाँले जित्नुपर्छ । हाम्रो गठबन्धनलाई बलियो बनाएर मात्रै संविधानको रक्षा हुन्छ । यसमा टेकेर सुशासन समृद्धि हुनसक्छ । त्यसैले उहाँको पक्षमा मतदान गर्न म आग्रह गर्दछु ।’

अध्यक्ष भट्टराईले घरदैलो कार्यक्रममा वाम लोकतान्त्रिक गठबन्धनबाट मात्रै विकासले गति लिन्छ भन्ने आम नागरिकको विश्वास रहेको पाइएको बताउनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

guest
0 Comments
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?