फर्जी मतदानको खतरा छ, चनाखो रहनुहोस् : थपलिया

‘निर्वाचन बिथोल्न खोज्ने जोकोहीलाई कारबाही हुन्छ’

हिमालय टाइम्स
Read Time = 6 mins

काठमाडौं । निर्वाचन आयोगले आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन बिथोल्ने व्यक्तिहरूलाई कारबाही गर्न खुट्टा नकमाउन निर्देशन दिएको छ । आयोगले कानुनको व्यवस्थालाई पूर्ण रूपमा अध्ययन गरी शतप्रतिशत कार्यान्वयन गराउन निर्वाचन अधिकृतहरूलाई निर्देशन दिएको हो । आयोगले कानुनको प्रभावकारी कार्यान्वयनबाट मात्रै निर्वाचन स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहित हुने भन्दै निर्वाचनलाई बिथोल्ने कुनै पनि व्यक्ति र तत्वहरूलाई कारबाही गर्ने कुरामा पछि नहट्न निर्देशन दिएको हो ।

शुक्रबार प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले कानुनको प्रभावकारी कार्यान्वयन गर्ने कुरामा निर्वाचन अधिकृतहरूले पूर्ण रूपमा पालना गर्न र गराउन निर्देशन दिनुभयो । उहाँले निर्वाचन बिथोल्ने गतिविधि गर्नेहरूलाई नियन्त्रणमा लिई निर्वाचन कसुर तथा सजाय ऐनअन्तर्गत कारबाही प्रारम्भ गर्न निर्देशन दिनुभयो ।

उहाँले कतिपय ठाउँमा जसरी पनि जित्नुपर्छ भन्ने मानसिकता भएका उम्मेदवारहरू हुने भएको भन्दै फर्जी मतदान हुने खतरा रहेकाले त्यसतर्फ बढी चनाखो हुन निर्वाचन अधिकृतहरूलाई निर्देशन दिनुभयो । उहाँले धेरै मतदान हुनु राम्रो भए पनि हुँदै नभएका व्यक्तिको मतदान गर्नु गम्भीर त्रुटि र निर्वाचन प्रतिको अवज्ञा भएकाले त्यसतर्फ सतर्कता अपनाउन आग्रह गर्नुभयो ।

प्रमुख निर्वाचन आयुक्त थपलियाले मतदान गरिसकेको व्यक्ति पुनः मतदान गर्ने ठाउँमा आउँदा विभिन्न व्यवधान हुन सक्ने कुरालाई ध्यानमा राखी सुरक्षा निकायसँग समन्वय गरी त्यस्ता गतिविधि हुन नदिन पनि आग्रह गर्नुभयो । उहाँले निर्वाचनमा मतदान कार्यमा उम्मेदवारका प्रतिनिधि र उम्मेदवारहरूको पनि उत्तिकै महत्वपूर्ण भूमिका हुने भएकाले निर्वाचन कार्यलाई निष्पक्ष र स्वतन्त्र बनाउने कुरामा सहयोग हुने अपेक्षा गरेको बताउनुभयो । उहाँले निर्वाचन आयोगले निर्वाचनलाई भयरहित र निष्पक्ष बनाउन स्थानीय तहबाट नै स्वयंसेवकहरू परिचालन गर्ने पनि बताउनुभयो ।

थपलियाले निर्वाचन आयोग प्रतिनिधिसभा सदस्य एवं प्रदेशसभा सदस्य निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको बताउनुभयो । उहाँले आयोगले अहिले सबै निर्वाचन अधिकृतको कार्यालयबाट मतदान कार्यमा खटिने मतदान अधिकृत तथा सहायक मतदान अधिकृत र अन्य कर्मचारीहरूको नियुक्ति भई तालिम दिने प्रक्रिया प्रारम्भ भइसकेको बताउनुभयो ।

उहाँले मतदानको निम्ति मतपेटिका, मतपत्रलगायत आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरूको समान महत्व भएकाले सामानहरू रुजु गर्दा ठिक भए÷नभएको र पर्याप्त भए/नभएको यकिन गर्न आग्रह गर्नुभयो । उहाँले आफूलाई तोकिएको मतदान केन्द्रमा समयमा नै पुगी तोकिएका निर्देशनका सूचनाहरू प्रकाशित गर्ने र ४८ घण्टा अघिदेखि कुनै पनि किसिमको प्रचारप्रसार गर्न निषेध गर्नुपर्ने व्यवस्था र मतदानको तीन दिनअघि सम्पूर्ण मतदान क्षेत्रभर, जिल्लाभर मदिरा निषेधित क्षेत्र घोषणा गर्नुपर्ने विषयलाई विशेष ध्यान दिन पनि निर्देशन दिनुभयो ।

प्रमुख निर्वाचन आयुक्त थपलियाले योपटक चारवटा छुट्टाछुट्टै मतपत्रमा मतदान गर्नुपर्ने व्यवस्था गरिएकाले मतदातालाई राम्रोसँग बुझाउन पनि निर्देशन दिनुभयो । उहाँले सुरक्षा निकायसँग समन्वय गरेर सुरक्षा बन्दोबस्त प्रभावकारी बनाउन पनि आग्रह गर्नुभयो । प्रमुख निर्वाचन आयुक्त थपलियाले मतदाताहरूले स्वच्छ, स्वतन्त्रतापूर्वक मतदानमा सहभागी हुन नसक्ने अवस्था सिर्जना भए अवस्थाको यथार्थ वस्तुस्थितिबारे आयोगमा रहेको संयुक्त निर्वाचन सञ्चालन केन्द्रमा तत्काल जानकारी गराई आयोगको निर्देशनबमोजिम कार्य अघि बढाउन निर्देशन दिनुभयो ।

उहाँले कतिपय अवस्थामा स्वस्तिक छाप र स्ट्याम्प प्याडको कारणले पनि केही मतपत्रहरू बदर भएका उदाहरण सुनिएको भन्दै बेलाबखत त्यसको चेकजाँच गर्ने र कहीँ कतै समस्या देखिए तत्काल मतदानलाई केही समय स्थगित गरी सामग्रीको व्यवस्था गरेर मतदान कार्यलाई सुचारु गर्नतर्फ पनि ध्यानाकर्षण गराउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?