नेपाल प्रज्ञा प्रतिष्ठानका निमित्त सदस्यसचिव प्राज्ञ पौडेलद्वारा गौहाटीमा अन्तर्राष्ट्रिय संगोष्ठीको उद्घाटन

हिमालय टाइम्स
Read Time = 7 mins

काठमाडौं । गौहाटी विश्वविद्यालयको आधुनिक भारतीय भाषा तथा साहित्य अध्ययन विभागले नोभेम्बर ६ र ७ तदनुसार कात्तिक २० र २१ गते बीपी कोइराला नेपाल-भारत फाउण्डेशन र नेपाली प्रकाशन परिषद् असमको सहयोगमा भारतमा संस्थागत रूपमा नेपाली शब्दकोश र विश्वकोश (इनसाइक्लोपिडिया) निर्माणका लागि मार्गचित्र तय गर्न आयोजित दुई दिने अन्तर्राष्ट्रिय संगोष्ठीको नेपाल प्रज्ञा-प्रतिष्ठानका निमित्त सदस्यसचिव प्रा.डा.हेमनाथ पौडेलले प्रमुख अतिथिका रूपमा पानसमा दीप प्रज्वलन गरी उद्घाटन गर्नुभएको छ ।

गौहाटी विश्वविद्यालयका विभागीय सदस्य डा.खगेन शर्मा संयोजक तथा डा. सिर्जना शर्मा र प्रा.देवेन शर्मा सहसंयोजक रहनुभएको उक्त संगोष्ठीमा नेपालका साथै भारतका विभिन्न प्रान्तबाट उपस्थित भएका विभिन्न विश्वविद्यालयका प्राध्यापकहरू, एकेडेमीका प्रतिनिधिहरू, भाषाविद्हरू तथा भाषासम्बन्धी आइटी विज्ञहरूको उपस्थिति थियो ।

उक्त संगोष्ठीको समुद्घाटनका अवसरमा प्रमुख अतिथि पौडेलले नेपाल प्रज्ञा-प्रतिष्ठानले नेपाली शब्दकोश (२०१९), नेपाली बृहत् शब्दकोश (२०४०) र प्रज्ञा नेपाली बृहत् शब्दकोश (२०७९) सम्म आइपुग्दा शब्दकोश निर्माणका क्षेत्रमा उल्लेखनीय प्रगति गरेको र विश्वकोश निर्माणका सम्बन्धमा पनि प्रतिष्ठानले ‘नेपाल लघु विश्वकोश’ (२०६७) निर्माण गरी यस कार्यको थालनी गरेको तथा विश्वकोशकै रूपमा ‘नेपाल दर्पण’ ग्रन्थका सात भाग निर्माण गर्ने कार्यलाई अगाडि बढाएको बताउनुभयो । लगभग १२ सय पृष्ठको ‘नेपाल दर्पण’ (मदेस प्रदेश) ग्रन्थको निर्माण भइसकेको जानकारी गराउँदै नेपालमा शब्दकोश निर्माणमा व्यक्तिगत प्रयासहरू पनि भएको जानकारी दिनु भयो । हाल गौहाटी विश्वविद्यालयले यस किसिमको संगोष्ठीको आयोजना गरेर भारतमा संस्थागत रूपमा शब्दकोश र विश्वकोश निर्माण गर्ने कामको थालनी गरेकोमा आयोजकहरूलाई धन्यवाद दिनुभयो ।

सो अवसरमा प्रमुख अतिथि पौडेलले यो श्रमसाध्य विषय र अत्यन्त ठूलो आयोजना भएको हुँदा यसमा ठूलै धनराशी र समय लाग्ने कुरा उल्लेख गर्दै गौहाटी विश्वविद्यालयले थालनी गरेको यस कार्यमा बौद्धिक, प्राज्ञिक सहयोग गर्न नेपाल प्रज्ञा-प्रतिष्ठान तयार रहेको पनि बताउनुभयो । सो अवसरमा प्राज्ञ पौडेलले ‘प्रज्ञा नेपाली बृहत् शब्दकोश’ विश्वविद्यालयलाई हस्तान्तरण गर्नुभयो । उद्घाटन सत्रमा विशेष अतिथिका रूपमा प्रा.डा.माधवप्रसाद पोखरेल, प्रा.डा.गोविन्दराज भट्टराई, सिक्किम एकेडेमीका अध्यक्ष एस् आर् सुब्बा, दार्जिलिङ नेपाली एकेडेमीका अध्यक्ष डा.गोकुल सिन्हा र नेपाली प्रकाशन असमका अध्यक्ष डी.बी क्षेत्रीले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

गौहाटी विश्वविद्यालयको आधुनिक भारतीय भाषा एवं साहित्य अध्ययन विभागकी प्रमुख एवं असमी भाषाकी प्रसिद्ध उपन्यासकार प्रा.डा.अनुराधा शर्माको सभापतित्वमा सम्पन्न भएको उक्त उद्घाटन सत्रको सहजीकरण संगोष्ठीका संयोजक डा.खगेन शर्माले गर्नुभएको थियो ।

संगोष्ठीमा नेपालबाट गएका विषय विशेषज्ञहरूले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो भने भारतका विभिन्न विश्वविद्यालय र संस्थाबाट आउनुभएका विज्ञहरूले अध्यक्षता र टिप्पणी गर्नुभएको थियो । यस क्रममा ‘शब्दकोशका प्रकार र निर्माण’का बारेमा प्रा.डा.माधव पोखरेलले, ‘विश्वकोश निर्माणको मार्गचित्र’का बारेमा प्रा.डा.गोविन्दराज भट्टराईले, ‘विश्वकोशको इतिहास र नेपालमा भएका प्रयासहरू’ का बारेमा प्रा.डा.हेमनाथ पौडेलले, ‘नेपाली शब्दकोश निर्माणमा प्रविधिको प्रयोग’ का बारेमा प्रा.डा.बलराम प्रसाईंले तथा ‘नेपाली शब्दकोशको इतिहास र निर्माणका समस्या’ का बारेमा डा.यज्ञेश्वर निरौलाले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

उक्त कार्यपत्र सत्रहरूको सभापतित्व र टिप्पणी क्रमशः रुद्र पौड्याल र डा.पर्शुराम पौड्याल, डा.गोकुल सिन्हा र डा.दशरथ खरेल, प्रा.प्रतापचन्द्र प्रधान र प्रा.देवेन सापकोटा, प्रा.डा.दिवाकर प्रधान र डा.नरेशचन्द्र खत्री, प्रा.कृष्णराज घतानी र प्रा.पुष्प शर्माले गर्नुभएको थियो । उक्त कार्यपत्रहरूमाथि सामूहिक छलफलपछि मार्गचित्र निर्माण गरी गोष्ठीको समापन भएको थियो । गोष्ठीमा डा. खगेन शर्माद्वारा लिखित दुई पुस्तकको लोकार्पण पनि गरिएको थियो ।

संगोष्ठीमा नेपाली भाषा र साहित्यको विकासका निम्ति डा.गोकुल सिन्हाको अध्यक्षतामा भारतभरिका प्रतिनिधिलाई समेटर २१ सदस्यीय नेपाली भाषा राष्ट्रिय विकास परिषद्को गठनसमेत भएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?