अस्थायी मतदाता एक लाख ४८ हजार

प्रतिनिधिसभा समानुपातिकतर्फ मात्र मतदान गर्न पाउने

अनिल क्षेत्री
Read Time = 8 mins

काठमाडौं । आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा एक लाख ४८ हजार अस्थायी मतदाताले मतदान गर्न पाउने भएका छन् । आयोगले अस्थायी मतदाता यकिन गरे पनि कैदीबन्दी, सुरक्षाकर्मी, कर्मचारी र वृद्धाश्रममा रहेका वृद्धवृद्धा कति छन् छुट्याएर सार्वजनिक गरेको छैन । विभिन्न सरकारी कार्यालय जिल्लास्थित जिल्ला सदरमुकाममा रहेको वा आसपासमा रहेको जिल्ला प्रहरी कार्यालय, सशस्त्र प्रहरी बलको कार्यालय, नेपाली सेनाको ब्यारेक, कारागारमा रहेका कैदीबन्दी तथा थुनुवा, वृद्धा आश्रममा बसेका व्यक्ति अस्थायी मतदाता हुन् ।

देशैभर २५ हजार ९०६ कैदी र बन्दी भए पनि मतदाता सूचीमा सूचीकृत नभएकै कारण मतदाता न्यून देखिएका हुन् । केन्द्रीय कारागार सुन्धारामा तीन हजार ४०० कैदी रहेकामा मतदाता २० जना मात्रै रहेको कारागार विभागले जनाएको छ । त्यस्तै, पर्सामा एक हजार ४०० कैदीमध्ये ३७, डिल्ली बजारमा ६०० मध्ये कर्मचारीसहित १२३ जना मात्रै मतदाता छन् । त्यस्तै, नक्खुमा एक हजार ४०० कैदीबन्दीमध्ये मतदाता ५० जना मात्रै छन् । मकवानपुरस्थित क्षेत्रीय कारागार भीमफेदीका करिब एक हजार कैदीबन्दीमध्ये २८ जनाले मात्रै प्रतिनिधिसभाको समानुपातिकतर्फ मत दिन पाउनेछन् । कास्की जिल्ला कारागारका सात कैदीबन्दी मतदानमा सहभागी हुनेछन् । यहाँ ८४५ कैदीबन्दी छन् । ७८० भन्दा बढी कैदीबन्दी रहेको बाँके कारागारमा रहेका दुई जनाले मात्रै मतदान गर्न पाउनेछन् ।

यस्तै, सुनसरीको झुम्का कारागारका झण्डै एक हजार ८०० कैदीबन्दीमध्ये ४१ जना र अछाम जिल्ला कारागार मंगलसेनमा रहेका ८६ मध्ये सातजना कैदीबन्दीले मात्र मताधिकार प्रयोग गर्न पाउनेछन् । यस्तै, पर्सामा एक हजार ४५८ कैदीमध्ये ३८, दाङ ९२६ मध्ये १४१, मोरङ एक हजार ६७ मा १९८, रसुवा ८० मध्ये १४ मतदाताले यो चुनावमा सहभागी हुन पाउनेछन् । मतदाता नामावली ऐनमा अस्थायी मतदान केन्द्रमा प्रतिनिधिसभा र प्रदेशसभाको समानुपातिकतर्फ मतदान गर्न सकिने व्यवस्था भए पनि आयोगले प्रतिनिधिसभामा मात्रै मतदान गर्न पाउने व्यवस्था गरेको छ । सर्वोच्च अदालतले सरकारी कर्मचारी, सुरक्षाकर्मी र कैदीबन्दीलाई पनि प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा मतदान गर्न पाउने व्यवस्था गर्न आदेश दिएको थियो ।

७७ जिल्लामा १४१ अस्थायी मतदान केन्द्र
निर्वाचन आयोगले संघ, प्रदेश र स्थानीय तहका कर्मचारी, तीनै तहको सरकारको स्वामित्व वा नियन्त्रणमा रहेको संस्थामा कार्यरत कर्मचारी, ब्यारेकमा रहेका सुरक्षाकर्मी, कारागारमा रहेका थुनुवा, कैदी र वृद्धाश्रममा रहेकालाई लक्षित गरेर अस्थायी मतदानस्थल तय गरिएको जनाएको छ । निर्वाचन आयोगले ४ मंसिरमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणालीतर्फ ७७ जिल्लामा १४१ अस्थायी मतदान केन्द्र निर्धारण गरेको हो । यसअघि आयोगले प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनका लागि स्थायी मतदान स्थल १० हजार ८९२ र मतदान केन्द्र २२ हजार २२७ निर्धारण गरिसकेको छ । मंसिर ४ मा हुने आमचुनावमा उनीहरूले प्रतिनिधिसभाको समानुपातिकमा मात्रै मतदान गर्न पाउनेछन् । आयोगले अन्तिम अस्थायी मतदाता नामावलीमा नाम समावेश भएका तर मतदान केन्द्रमा नखटिने कर्मचारी र सुरक्षाकर्मी, वृद्धाश्रममा रहेका व्यक्ति, निर्वाचन कसुरमा सजाय पाएका बाहेकका कारागारमा रहेका कैदीबन्दी लगायतका व्यक्तिलाई प्रतिनिधिसभाको समानुपातिक निर्वाचन प्रणालीतर्फ मतदान गर्न दिने व्यवस्थासहित अस्थायी मतदान केन्द्र तोकेको छ । आयोगले २०७२ सालमा जारी भएको नेपालको संविधानपछि अस्थायी मतदाताले मतदान गर्ने व्यवस्था पहिलोपटक कार्यान्वयन गर्न लागेको हो ।

मोरङमा चार हजार १०० अस्थायी मतदाता, दुई मतदान केन्द्र
मोरङमा चार हजार बढी अस्थायी मतदाता रहेकोमा उनीहरूका लागि समानुपातिक तर्फको मतदान गर्न दुईवटा अस्थायी मतदान केन्द्र तोकिएका छन् । प्रदेश निर्वाचन कार्यालय विराटनगरका अनुसार निर्वाचनको बेलामा नखटिने कर्मचारी र मोरङ कारागारका कैदीबन्दी अस्थायी मतदाताका रूपमा रहेका छन् । कैदीबन्दीहरूका लागि मोरङ कारागारमै मतदान केन्द्र तोकिएको छ । त्यसैगरी, कर्मचारीहरूका लागि आदर्श पुस्तकालयमा अस्थायी मतदान केन्द्र तोकिएको प्रदेश निर्वाचन कार्यालयका निर्वाचन अधिकारी लेवनकश्यप अधिकारीले जानकारी दिनुभयो ।

कैलाली जिल्लामा आठ स्थानमा अस्थायी मतदान केन्द्र
मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा कैलाली जिल्लाका अस्थायी मतदाताका लागि विभिन्न आठ स्थानमा अस्थायी मतदान केन्द्रको व्यवस्था गरिएको छ । प्रदेश निर्वाचन कार्यालय कैलालीका अनुसार धनगढी उपमहानगरपालिका-१ को उपमहानगरपालिका कार्यालय भवन, धनगढीमै रहेको जिल्ला कारागार भवन, गोदावरी नगरपालिका-२ को वनदेवी मन्दिर र वडा नं ४ को महादेव मन्दिर परिसरलाई अस्थायी मतदान केन्द्र तोकिएको हो । यस्तै, गौरीगंगा नगरपालिका-६ को बाह्रवन साझेदारी वन व्यवस्थापनको कार्यालय, वडा नं ८ को बडैपुर वडा कार्यालय, लम्कीचुहा नगरपालिका–३ को वडा कार्यालय र टीकापुर नगरपालिका-१ को सिटी हललाई पनि अस्थायी मतदान केन्द्र तोकिएको छ । जिल्लामा चार हजार सात सय ७६ अस्थायी मतदाता छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?