राष्ट्रिय कर दिवस : कर प्रणाली सुधारमा निजी क्षेत्रको जोड

Read Time = 9 mins

काठमाडौं ।  निजी क्षेत्रले कर प्रणाली सुधारमा जोड दिएको छ । बुधबार राष्ट्रिय कर दिवसका अवसरमा उत्कृष्ट करदाता सम्मान कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले निजी क्षेत्रले रहरले कर तिर्न कर प्रणाली सुधार आवश्यक रहेको बताउनुभएको हो । अध्यक्ष गोल्छाले सरकारले करदातालाई आकर्षित गर्ने विषयमा ध्यान दिनुपर्ने, तिर्ने र लिने विषयमा निजी क्षेत्र र सरकार एक ठाउँमा बस्न सक्नुपर्ने भन्दै सहकार्य नभए कठिन परिस्थिति आउने बताउनुभयो । उहाँले राजस्व संकलनमा कमी आएकाले बजारमा तरलता अभावले व्यवसायी अप्ठ्यारो अवस्थामा रहेको पनि गुनासो गर्नुभयो ।

अध्यक्ष गोल्छाले भन्नुभयो ‘करको दायरा कसरी बढाउन सकिन्छ, यसमा हामी लागिपर्न जरुरी छ । करको दायरा बढाउन सरकारसँग सहकार्य गर्न चाहन्छौँ । कर कहरले होइन, रहरले तिरौँ । हामी रहरले तिर्न चाहन्छौँ तर पनि धेरै समस्या रहेका छन् । कर प्रणालीमा सुधार आवश्यक छ ।’

नेपाल उद्योग परिसंघ(सिएनआई)का अध्यक्ष विष्णुकुमार अग्रवालले राजस्व संकलनमा निजी क्षेत्रका कारण कमी आएको नभई मुलुकभर उद्योग, व्यापार व्यवसायमा आएको कमीका कारण भएको बताउनुभयो । उहाँले उद्योग व्यवसायको मागमा करिब २५ देखि ३० प्रतिशत ह्रास आएको जानकारी गराउनुभयो । सिमेन्टमा ४०, डण्डीमा ४५, अटो क्षेत्रमा ८० प्रतिशतले मागमा कमी आएको उहाँको भनाइ छ । सरकारले तरलता अभाव सहजता र ब्याजदर वृद्धि नियन्त्रण गर्न आवश्यक रहेको अग्रवालको भनाइ छ ।

निजी क्षेत्रले सरकारले करदातालाई आकर्षित गर्ने विषयमा ध्यान दिनुपर्ने, तिर्ने र लिने विषयमा निजी क्षेत्र र सरकार एक ठाउँमा बस्न सक्नुपर्ने भन्दै सहकार्य नभए कठिन परिस्थिति आउने जनाएको छ ।

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले खुला नाकाबाट हुने चोरी निकासीलाई व्यवस्थित गरी करको दायरामा ल्याउँदै कर प्रणालीलाई सरकारले डिजिटल बनाउन बनाउनुपर्ने बताउनुभयो । सरकारले तीनवटै तहका सरकारलाई मान्य हुने कर राजस्व खाता व्यवस्थित गरेमात्रै राजस्वमा वृद्धि हुने उहाँको भनाइ छ । अध्यक्ष मल्लले भन्नुभयो, ‘नेपालमा अझै पनि गृह मार्केटबाट व्यवसाय भइरहेको छ, यसलाई करको दायरामा ल्याउन सरकारले नेतृत्वदायी भूमिका गर्नुपर्छ । सहकार्य गर्नुपरेमा हामी तयार छौँ । तीन तहका सरकारलाई मान्य हुने कर राजस्वको खाता व्यवस्थित गरेमा राजस्व वृद्धि हुन्छ ।’

आन्तरिक राजस्व विभागका महानिर्देशक रितेशकुमार शाक्यले अनौपचारिक अर्थतन्त्रलाई करको दायरामा ल्याउन चुनौती रहेको बताउनुभयो । नेपालमा अनौपचारिक अर्थतन्त्रको आकार निकै ठूलो र त्यसको पहुँच माथिसम्म भएकाले कर र कानुनको दायरमा ल्याउन नसकिएको उहाँको भनाइ छ ।

कर प्रणालीलाई डिजिटल बनाउन आवश्यक प्रक्रिया थालनी गरिने जानकारी गराउँदै शाक्यले केही वर्षभित्रमा सम्पूर्ण निजी क्षेत्रको कारोबार अनलाइन बिल्डिङ प्रणालीमा लैजाने तयारीमा विभाग रहेको बताउनुभयो । अर्थसचिव कृष्णहरि पुष्करले कर नीति पुरानो भएकाले समय अनुकूलको सुधार गरिने बताउनुभयो ।

उहाँले नेपालमा मात्रै राजस्व संकलनमा चुनौती नभई विश्वका ठूला राष्ट्रहरूमा समेत चुनौती देखिएको बताउनुभयो । अर्थसचिव पुस्करले भन्नुभयो, ‘खासै आत्तिनुपर्छ जस्तो लागेको छैन । संसारभर नै चुनौती छ, समस्या छ, नेपालमात्रै देश होइन, जहाँ कर प्रणालीमा पनि संकुचन भएको छ, प्रेसर भएको छ, अमेरिकामा पनि कर प्रणालीमा हेर्नुस्, चीनमा हेर्नुस्, विभिन्न प्रकारका रेस्टिक्सन छन् । कर नीतिमा केही कुरा सुधार गर्नुपर्नेछ ।’

कर दिवसमा उत्कृष्ट करदाता सम्मानित
सरकारले कर दिवसका अवसरमा विभिन्न क्षेत्रका उत्कृष्ट करदातालाई सम्मान गरेको छ । सो अवसरमा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छा, वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल र कर तथा राजस्व समितिका सभापति सन्दीपकुमार अग्रवाल सम्मानित हुनुभएको हो । सरकारले धेरै कर तिर्ने उद्योगी र व्यवसायीलाई कर दिवसका अवसरमा सम्मानित गर्दै आएको छ । आर्थिक वर्ष २०७७÷०७८ मा वस्तु व्यापारतर्फ महासंघका अध्यक्ष गोल्छाको हंसराज हुलासचन्द एण्ड कम्पनी प्रालि, वरिष्ठ उपाध्यक्ष ढकालको आइएमई लिमिटेड रेमिट्यान्सतर्फ र कर तथा राजस्व समितिका सभापति अग्रवालको शिवशक्ति घिउ कम्पनी खानेतेल निर्याततर्फ बढी कर तिर्ने कम्पनीका रूपमा सम्मानित भएका हुन् ।

त्यस्तै, सर्वाधिक कर तिर्नेमा नेपाल टेलिकम, नबिल बैंक, सर्वाधिक आय कर तिर्नेमा तारा म्यानेजम्यान्टका अध्यक्ष सिद्धार्थ राणा, व्यक्तिगतरूपमा सर्वाधिक आय कर तिर्नेमा जावलाखेल डिस्ट्रिलरीका विजयकुमार शाह, कृषि उद्योगतर्फ ओसिबी फुड्स एण्ड फुड र वाणिज्य बैंकतर्फ रहेका छन् ।

त्यस्तै, विशेष उद्योगतर्फबाट राजेश मेटल क्राफ्ट, सहकारी तथा लघुवित्त संस्थामध्येबाट छिमेकी लघुवित्त वित्तीय संस्था, बीमा व्यवसायमध्येबाट नेपाल पुनर्बीमा कम्पनी, स्वास्थ्य तथा शिक्षा सेवा प्रदायक कम्पनीबाट नोबेल मेडिकल कलेज टिचिङ हस्पिटल रहेका छन् ।

त्यस्तै, धेरै कर तिर्ने पर्यटन व्यवसायमा मनकामना दर्शन प्रालि, मध्यमस्तरीय करदातामा नेपाल धितोपत्र विनिमय बजार, ऊर्जामूलक उद्योगमा चिलिमे जलविद्युत् कम्पनी रहेका छन् । २०६७ साउनदेखि २०७९ असारसम्मको कर अवधिमा मूल्यवृद्धि कर विवरण र सो बमोजिमको कर समयमै दाखिला गरी नियमित सहभागिता जनाएका करदातामध्ये सबैभन्दा बढी मूल्य अभिवृद्धि कर दाखिला गर्नेमा गोर्खा बु्रअरी रहेको छ । सरकारले हरेक वर्ष राष्ट्रिय कर दिवसको अवसर पारेर सर्वाधिक कर तिर्ने उद्योगी व्यवसायीलाई सम्मान गर्दै आएको छ । आन्तरिक राजस्व विभागले मूल्य अभिवृद्धि कर (भ्याट) लागू भएको दिन १ मंसिरलाई राष्ट्रिय कर दिवसका रूपमा मनाउँदै आएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?