जुम्लामा गठबन्धनलाई ठूलो धक्का

प्रतिनिधिसभामा राप्रपा, एक-एक स्थानमा एमाले र स्वतन्त्र उम्मेदवार निर्वाचित

विजय रावत जुम्ला, संवाददाता
Read Time = 5 mins

जुम्ला । जुम्लामा सत्ता गठबन्धनका उम्मेदवार संघीयसभा सदस्य र प्रदेशसभामा पराजय भएपछि जिल्लामा गठबन्धनलाई ठूलो धक्का लागेको छ । एउटामात्र प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र रहेको जुम्लामा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उम्मेदवार निर्वाचित भएका छन् । प्रदेशसभाका दुईवटा क्षेत्रअन्तर्गत १ (क) मा स्वतन्त्र उम्मेदवार र २ (ख) मा एमालेका उम्मेदवार फराकिलो मतान्तरले विजयी भएका छन् ।

प्रतिनिभिसभामा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का केन्द्रीय प्रवक्ता ज्ञानेन्द्र शाही (ज्ञानबहादुर शाह) विजयी हुनुभएको छ । उहाँले सत्ता गठबन्धनका उम्मेदवार गोमा गौमत (कुँवर) लाई १० हजार ८६० मतान्तरले पराजित गर्दै विजयी हुनुभएको हो । शाहीले २२ हजार ८१९ मत ल्याउँदा उहाँका निकटतम प्रतिद्वन्द्वी गठबन्धनतर्फका नेकपा (माओवादी) केन्द्र पार्टीका उम्मेदवार गौतमले ११ हजार ९५९ मत पाउनुभएको थियो । त्यसैगरी नेकपा (एमाले) का रतननाथ योगीले ६ हजार ५२८ मत प्राप्त गर्नुभएको छ ।

त्यस्तै, नेमकिपाका डिल्लीप्रसाद काफ्लेले ९५५ मत प्राप्त गर्नुभएको छ । जिल्लाको कुल ६८ हजार ६३८ मतदातामध्ये ४५ हजार २८४ मत खसेको थियो । खसेको कुल मतमध्ये दुई हजार ४७८ मत बदर भएको निर्वाचन कार्यालय जुम्लाले जनाएको छ । त्यस्तै, निर्वाचन क्षेत्र नं. २ अन्तर्गत प्रदेशसभा (ख) मा नेकपा (एमाले) का उम्मेदवार टेकराज पछाई सात हजार ८२६ मतले निर्वाचित हुनुभएको छ ।

उहाँका निकटतम प्रतिद्वन्द्वी सत्ता गठबन्धनतर्फका एकीकृत समाजवादी पार्टीका कर्णाली प्रदेशका भौतिक पूर्वाधार तथा शहरी विकास बहालवाला मन्त्री पदमबहादुर रोकायाले ६ हजार ७१५ मत प्राप्त गर्नुभएको छ । स्वतन्त्र उम्मेदवार धनबहादुर बस्नेतले चार हजार १६५ मत प्राप्त गर्नुभएको छ । त्यसैगरी नेपाल मजदुर किसान पार्टीका विर्षबहादुर रावतले एक हजार २०२ मत प्राप्त गरेको निर्वाचन कार्यालयले जनाएको छ ।

त्यस्तै, निर्वाचन क्षेत्र नं. १ अन्तर्गत प्रदेशसभा (क) मा स्वतन्त्र उम्मेदवार देवेन्द्रबहादुर शाही एक हजार ८९९ मतान्तरले विजयी हुनुभएको छ । कांग्रेसबाट विद्रोही उम्मेदवार शाही नौ हजार ६५४ मत ल्याएर विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी सत्ता गठबन्धनतर्फका नेपाली कांग्रेसका कर्णाली प्रदेश सभापति ललितजंग शाहीले सात हजार ७५५ मत प्राप्त गर्नुभएको छ । त्यसैगरी नेकपा एमालेका उम्मेदवार धिरेन्द्रराज गिरीले पाँच हजार ४७० मत प्राप्त गर्नुभएको छ ।

त्यस्तै, नेमकिपाका राजेश्वर देवकोटाले ६९४ मत प्राप्त गर्नुभएको छ । सो प्रदेशसभामा २४ हजार ७५५ मत खसेको थियो । एक हजार ८२ मत बदर भएको निर्वाचन आयोगले जनाएको छ । निर्वाचित प्रदेशसभा सदस्य शाही विसं २०७४ सालको प्रतिनिधिसभा सदस्यमा माओवादी केन्द्रका गजेन्द्रबहादुर महतसँग झण्डै दोब्बर मतान्तरले पराजित हुनुभएको थियो । कांग्रे्रेसले प्रदेशमा टिकट नदिएपछि शाहीले स्वतन्त्रबाट उम्मेदवारी दिनुभएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?