मनाङमा बार्सिलोनाका पूर्वरक्षक

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । शहीद स्मारक ‘ए’ डिभिजन लिग क्लब मनाङ मस्र्याङ्दीले सेनेगलका डिफेन्डर डावान्डु डियाग्नेलाई अनुबन्ध गरेको छ । मनाङले मंगलबार सामाजिक सञ्जालबाट डिफेन्डर डियाग्नेलाई अनुबन्ध गरेको जनाएको छ । डिफेन्डर डियाग्ने चर्चित स्पेनिस क्लब बार्सिलोनाका पूर्वखेलाडी हुनुहुन्छ । २८ वर्षीय डिफेन्डरले बार्सिलोनाको बी टोलीबाट खेलिसक्नुभएको छ ।

बार्सिलोनाको सिनियर टोलीमा समेत स्थान बनाउनुभए पनि उहाँले डेब्यु भने गर्न पाउनुभएको थिएन । डियाग्नेले सेनेगलका लागि दुई खेल खेल्नुभएको छ । नयाँ सिजनको ‘ए’ डिभिजन लिग फागुन १९ गतेबाट सुरु हुँदैछ । लिग डबल राउण्ड रोबिनका आधारमा हुनेछ ।

डियाग्नेले सन् २०१४\१५ सिजनमा बार्सिलोनाको सिनियर टोलीमा नै स्थान बनाउनुभएको थियो । उहाँले कोपा डेल रेअन्तर्गत हुएस्काविरुद्ध ८-१ को जितमा बेन्चमा स्थान बनाउनुभएको थियो । तर, मैदान प्रवेश गर्न भने पाउनुभएन । प्रशिक्षक लुइस एनरिकेले उक्त खेलमा गोलरक्षक मार्क आन्दर टेर स्टेगन र डियाग्नेलाई मैदानमा उतार्नुभएको थियो ।

डियाग्नेले सन् २०१४ मा क्याटलान क्लबमा अनुबन्धित हुँदै बार्सिलोनाको ‘बि’ टिमबाट दुई वर्ष खेल्नुभएको थियो । उहाँले सन् २००८ मा कतारको अस्पाएर एकेडेमीमा छनोट हुँदै चार वर्ष त्यहाँ बिताउनुभएको थियो । त्यसपछि बेल्जियमको केएएस युपेनमा खेल्नुभएको थियो ।

मनाङले हाल पोखरामा बन्द प्रशिक्षण गरिरहेको छ । यसै साता क्लब मकवानपुरमा जारी गोल्डकप खेल्न जाँदैछ । मनाङले प्रतियोगितामा आयोजक मकवानपुर ११ र नव जनजागृति युवा क्लबको विजेतासँग खेल्नेछ । शुक्रबार हुने उक्त खेलमा डियाग्नेले क्लबका लागि डेब्यु गर्ने सम्भावना छ ।

मनाङले राष्ट्रिय फुटबल टोलीको सहायक प्रशिक्षक रहिसकेका किरण श्रेष्ठलाई प्रशिक्षक नियुक्त गरेको छ । मनाङले ए डिभिजन लिगको पहिलो खेलमा श्रेष्ठकै पूर्वक्लब हिमालयन शेर्पाको सामना गर्नेछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?