नवगठित रास्वापामा विवाद

समानुपातिक सांसद छनोटमा चलखेल गरेको आरोप, पार्टी कार्यालयमा असन्तुष्ट पक्षको खबरदारी

डिबी शर्मा
Read Time = 6 mins

काठमाडौं । नवगठित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा विवाद उत्पन्न भएको छ । समानुपातिक सांसद छनोटका विषयमा रास्वपामा विवाद उत्पन्न भएको हो । समानुपातिक सांसद् छनोट गर्दा विधि-पद्धति मिच्न खोजिएको भन्दै असन्तुष्ट पक्षले खबरदारी गरेको हो । ‘प्राइमरी इलेक्सन’बाट निर्माण गरिएको बन्दसूचीको क्रमसंख्या मिचेर सांसद छनोट गर्न लागिएको असन्तुष्ट पक्षको आरोप छ । असन्तुष्ट समूहले बिहीबार पार्टी केन्द्रीय कार्यालय बसुन्धरामा खबरदारी गरेको हो ।

आमनिर्वाचन २०७९ अघि मात्र दर्ता भएर पहिलोपटक निर्वाचनमा सहभागी भएको राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिनिधिसभातर्फ २० सिट प्राप्त गरेको छ । प्रत्यक्षतर्फ सात र समानुपातिकतर्फ १३ गरी रास्वपाले २० सिट प्राप्त गरेको हो । निर्वाचन आयोगले सांसदको सूची पठाउन दलहरूलाई बुधबार नै पत्राचार गरिसकेको छ । समानुपातिकको बन्दसूचीमा रहेका उम्मेदवारबाट १३ जना चयन गर्दा पार्टीको विधि, पद्धति, बन्दसूचीको क्रमसंख्या जस्ता मान्यता मिच्न खोजिएको उनीहरूको आरोप छ । राष्ट्रिय स्वतन्त्र पार्टीले प्राइमरी इलेक्सनमा पाएको मतको आधारमा समानुपातिकको बन्दसूची तय गरेको थियो ।

रोग लाग्नुअघि नै उपचार खोजेका हौँ : थापा
रास्वपा सुनसरी सभापति लालविक्रम थापाले ‘प्राइमरी इलेक्सन’बाट समानुपातिक पद्धतिका उम्मेदवारको बन्दसूची तय गरिएकाले त्यसैअनुसार सांसदहरू चयन हुनुपर्ने बताउनुभयो । समानुपातिक उम्मेदवारले प्राइमरी इलेक्सनमा पाएको मतअनुसार निर्धारण गरिएको क्रम मिचिने हो कि भन्नेमा शंका लागेकाले खबरदारी गरिएको उहाँले बताउनुभयो । ‘डिजिटल डेमोक्रेसी’को कुरा गर्ने पार्टी सोही अवधारणाअनुसार चलोस् भन्नका लागि आफूहरूले दबाब दिएको उहाँको भनाइ छ । ‘राष्ट्रिय स्वतन्त्र पार्टीले एसियामै पहिलोपटक डिजिटल डेमोक्रेसीमार्फत उम्मेदवार चयन गरेको थियो । अब समानुपातिकमा सांसद चयन गर्दा प्राइमेरी इलेक्सनको नतिजाअनुसार नै गर्नुपर्छ भन्ने हो,’ उहाँले भन्नुभयो, ‘हामीले खबरदारी मात्रै गरेका हौँ । रोग लाग्नुअघि नै उपचार गराउन खोजेको हो । ध्यानाकर्षण गराएका हौँ ।’ उहाँले जनमतअनुसार रास्वपा सरकारमा जान नहुने बताउनुभयो ।

रास्वपामा विवाद देखिएको यो पहिलोपटक भने होइन । गठन भएको एक वर्ष पनि नपुगेको पार्टीमा यसअघि पनि विवाद देखिएको थियो । यसअघि पार्टीको मकवानपुर सभापति राजकुमार न्यौपानेलाई पदबाट हटाउन मागसहित २४० जना सदस्यहरूले केन्द्रीय कार्यालयमा निवेदन दिएका थिए । गत चुनावमा अन्तर्घात गरेको आरोपसहित न्यौपानेलाई पार्टीबाट हटाउन निवेदन दिएका थिए ।

राष्ट्रिय स्वतन्त्र पार्टी प्रणालीबाहिर जाँदैन : सभापति लामिछाने
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पार्टीभित्र विवाद नरहेको बताउनुभएको छ । समानुपातिक बन्दसूचीमा रहेका नेताहरूले सांसद छान्दा पार्टीको आन्तरिक सर्वेक्षणमा कम मत आएकाहरूलाई छान्न लागिएको भन्दै विरोध भइरहेको बेला उहाँले भने पार्टीमा विवाद नरहेको बताउनुभएको हो । बिहीबार भरतपुर विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै सभापति लामिछानेले आफूले नै पार्टीका नेता-कार्यकर्तालाई खबरदारी गर्न भनेको बताउनुभयो । पार्टीको प्रणालीभन्दा बाहिर नजाने उहाँको भनाइ थियो । ‘प्रायः पार्टीमा नजिकका मान्छेहरूलाई राख्ने अभ्यास भएकाले उहाँहरूले खबरदारी गर्नुभएको होला । मैले नै पार्टीमा खबरदारी गर्न भनेको छु,’ उहाँले भन्नुभयो, ‘जे भन्यो त्यसैमा वाह वाह, जिन्दावाद ताली बजाउने होइन, खबरदारी गर्नुहोला भनेको छु । कोही आत्तिनुपर्दैन । राष्ट्रिय स्वतन्त्र पार्टी प्रणालीबाहिर जाँदैन ।’

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?