राजेन्द्र लिङ्देन नेतृत्वमा आएपछि राप्रपाको छलाङ

पाँच सिटबाट पाँच वर्षमा पुग्यो ४२ सिट, गुणात्मक प्रगतिको निरन्तरतामा भने शंका

अनिल क्षेत्री
Read Time = 5 mins

काठमाडौं । मुलुकको राजनीतिमा दक्षिणपन्थी धारको नेतृत्व गरिरहेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनबाट बलियो शक्तिको रूपमा देखा परेको छ । राप्रपाले पाँच वर्षको अन्तरालमा प्रतिनिधिसभा र प्रदेशसभामा गुणात्मक प्रगति गरेको छ । २०७४ सालको निर्वाचनमा प्रदेशतर्फ चार र प्रतिनिधिसभामा जम्मा एक सिट जितेको राप्रपाले पाँच वर्षपछि मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनबाट प्रतिनिधिसभामा १४ र प्रदेशसभामा २८ सिट जित्न सफल भएको छ । अघिल्लो निर्वाचनमा राप्रपाले प्रतिनिधिसभातर्फ थ्रेसहोल्डसमेत कटाउन सकेको थिएन । त्यति बेला राप्रपाको नेतृत्व कमल थापाले गरिरहनु भएको थियो । २०७४ को निर्वाचनमा प्रतिनिधिसभातर्फ राप्रपाका तत्कालीन महामन्त्री राजेन्द्र लिङ्देन झापा–३ बाट निर्वाचित हुनुभएको थियो ।

तत्कालीन अवस्थामा राप्रपा, राप्रपा प्रजातान्त्रिक र राप्रपा राष्ट्रवादीका रूपमा अस्तित्वमा रहेका थिए । राप्रपाका घटकहरू एकीकरण भएसँगै गत वर्ष मंसिरमा काठमाडौंमा भएको महाधिवेशनबाट राजेन्द्र लिङ्देन नेतृत्वमा आएपछि भने राप्रपा निकै बौरिएको प्रमाणित भएको छ । अघिल्लो निर्वाचनको तुलनामा राप्रपाले औसतमा प्रदेशसभातर्फ सात गुणा र प्रदेशसभातर्फ १४ गुणा सिट वृद्धि गर्न सफल भएको छ ।

प्रदेशतर्फ एकसिट पनि जित्न नसकेको राप्रपाले समानुपातिकबाट बागमतीमा दुई, प्रदेश १ मा एक र कर्णालीमा एक सिट जितेको थियो । यस्तै, तत्कालीन राप्रपा प्रजातान्त्रिकबाट रिना गुरुङको पनि बागमती प्रदेशसमा प्रतिनिधित्व रहेको थियो । चुनावपछि दुई राप्रपा एकता भएपछि समग्रमा पार्टीको प्रदेशमा चार सिट कायम भएको थियो । तर, यसपटकको निर्वाचनबाट राप्रपाको सातै प्रदेशमा प्रतिनिधित्व भएको छ । राप्रपाले प्रतिनिधिसभातर्फ प्रत्यक्षमा सात सिट जितेको छ । यस्तै, समानुपातिकमा पाँच लाख ८८ हजार ८४९ मत प्राप्त गर्दै सात सिट पाएको छ । यस आधारमा राप्रपाको प्रत्यक्ष र समानुपातिक दुवै तर्फबाट संघीय संसद्मा १४ सांसदको प्रतिनिधित्व रहने निश्चित भएको छ । यसैगरी, सातै प्रदेशमा राप्रपाको प्रतिनिधित्व पनि निश्चित भएको छ । सबैभन्दा बढी बागमती प्रदेशमा सो पार्टीको १३ जना सांसद रहने भएका छन् । बागमतीमा प्रत्यक्षतर्फ सात र समानुपातिकतर्फ ६ जना निर्वाचित भएका हुन् ।

यसैगरी, प्रदेश १ मा प्रत्यक्षबाट दुई र समानुपातिकबाट चारजना निर्वाचित हुँदै ६ जनाको प्रतिनिधित्व रहेको छ भने मधेश प्रदेशमा पनि राप्रपाले एकसिट पाएको छ । प्रत्यक्षमा कहीँ जित्न नसके पनि समानुपातिकबाट सो पार्टीले मधेशमा एक सिटको प्रतिनिधित्व पाएको हो । गण्डकी प्रदेशमा राप्रपाको दुईजना सांसद रहने भएका छन् । दुवै सांसद समानुपातिकमार्फत आएका हुन् । यसैगरी, राप्रपाले लुम्बिनीमा पनि प्रत्यक्ष र समानुपातिकमा दुई/दुई सिट गरी चार सिट पाएको छ भने कर्णाली र सुदूरपश्चिममा पनि एक/एकसिट पाएको छ । यो निर्वाचनबाट संघीय संसद्मा पाँचौँ ठूलो दलको रूपमा स्थापित भए पनि राप्रपाको विगतमा टुटफुटको इतिहास हेर्दा प्रगतिको निरन्तरतामा भने शंका कायमै छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?