दलहरूलाई समानुपातिक सांसद छान्न महासंकट

पुरुष आकांक्षी धेरै, महिला नै छान्नुपर्ने बाध्यता

डिबी शर्मा
Read Time = 10 mins

काठमाडौं । राजनीतिक दलहरूलाई समानुपातिक सांसद छनोट गर्न सकस परेको छ । प्रतिनिधिसभा र प्रदेशसभामा समानुपातिकतर्फ निर्वाचित हुने उम्मेदवारको सूची तयार गर्न दलहरूलाई सकस भएको हो । निर्वाचन आयोगले समानुपातिकबाट निर्वाचित हुने सदस्यहरूको सूची बुझाउन दिएको अन्तिम समयसम्म पनि प्रतिनिधिसभामा राष्ट्रिय दल बनेका दलहरूले निर्वाचित हुने सांसदको सूची पठाउन सकेका छैनन् । राष्ट्रिय दल बनेका सातमध्ये ६ दलले समानुपातिक सांसद छनोट गर्न सकेका छैनन् । आयोगले समानुपातिकबाट निर्वाचित हुने उम्मेदवारको नाम शनिबार ४ बजेभित्र पठाउन दलहरूलाई बिहीबार नै पत्र लेखेको थियो । तर, अधिकांश दलहरूले शनिबार मात्रै बैठक बोलाएर समानुपातिक नाम टुंग्याउने तयारी गरेका छन् ।

बन्दसूचीबाट समानुपातिक सांसद छनोट गर्न प्रमुख दलका नेतृत्वलाई दबाब परेको छ । समावेशी व्यवस्थाअनुसार क्लष्टर मिलाउन पनि उनीहरूलाई समस्या भएको हो । संघीय संसद्मा महिलाको प्रतिनिधित्व ३३ प्रतिशत हुनुपर्ने संवैधानिक व्यवस्था छ । प्रत्यक्षमा थोरै महिलालाई टिकट दिएको र तीमध्ये अधिकांश पराजित भएकाले संघीय समानुपातिकमा अधिकांश महिला छान्नु पर्नेछ । संविधानले सुनिश्चित गरेको समानुपातिक समावेशी सिद्धान्तअनुसार दलहरूले पाएको सिटलाई खस-आर्य, आदिवासी जनजाति, थारू, दलित, मधेसी र मुस्लिम गरी ६ समावेशी समूहमा बाँडेर प्रतिनिधित्व गराउनुपर्छ ।

समानुपातिकमा ३४ सिट पाएको नेकपा एमालेले १९ महिला छान्नु पर्नेछ भने समानुपातिकमा ३२ सिट पाएको कांग्रेसले २९ जना महिला छान्नु पर्नेछ । माओवादीले समानुपातिकको १४ सिटमध्ये १२ महिला, राप्रपाले सातमध्ये पाँच र जसपाले पाँचमध्ये चारमा महिला छान्नुपर्ने बाध्यता छ । प्रत्यक्षमा दुई महिला निर्वाचित गराएको राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिकको १३ सिटमध्ये पाँच महिला छान्नु पर्नेछ । यसमध्येबाट पनि विभिन्न जाति र समूहका क्लष्टर मिलाउनुपर्छ । सबै दलहरूमा पुरुष आकांक्षी धेरै भए पनि महिला नै छान्नुपर्ने दबाब नेतृत्वलाई छ ।

कांग्रेसलाई तीन पुरुष छान्न सकस, एमाले-माओवादीमा पनि समस्या
नेपाली कांग्रेसलाई समानुपातिकमा तीनजना पुरुष सांसद छान्न सकस परेको छ । संघीय संसद्मा ३३ प्रतिशत महिला सांसद निर्वाचित गर्नुपर्ने भएकाले कांग्रेसले ३२ मध्ये तीनजना मात्रै पुरुष पठाउन पाउनेछ । समानुपातिकको बन्दसूचीमा आ-आफ्नो क्लष्टरको पहिलो नम्बरमा डा. प्रकाशशरण महत, विमलेन्द्र निधि र गोपालमान श्रेष्ठ, जीवन परियार, फरमुल्लाह मन्सुर र योगेन्द्र चौधरी हुनुहुन्छ । उहाँहरू पूर्व र वर्तमान पदाधिकारी हुनुहुन्छ । महत खस आर्यतर्फ, श्रेष्ठ आदिवासी जनजातितर्फ र निधि मधेसीतर्फ पहिलो नम्बरमा हुनुहुन्छ । परियार दलित, मन्सुर मुस्लिम र चौधरी थारू क्लष्टरबाट पहिलो नम्बरमा हुनुहुन्छ । यसमध्ये तीनजना छान्न देउवालाई सकस परेको हो । सबै नेताहरूले आफूलाई सांसद बनाउन नेतृत्वलाई दबाब दिइरहेका छन् । समानुपातिक तर्फका उम्मेदवार छनोट गरी निर्वाचन आयोगलाई सूची पठाउन केन्द्रीय कार्यसम्पादन समितिको बैठक शनिबार(आज) बस्दै छ ।

नेकपा एमालेलाई पनि समानुपातिक सांसद छान्न सकस परेको छ । समानुपातिक सांसद छनोट गर्ने भनिएको सचिवालय बैठकसमेत शुक्रबार बस्दै नबसी स्थगित भएको छ । प्रतिनिधिसभाको समानुपातिकमा एमालेले ३४ मध्ये १९ जना महिला र १५ जना पुरुषको नाम पठाउनु पर्नेछ । उसो त एमालेको समानुपातिक बन्दसूचीमा रहेका व्यक्ति छनोटमा पनि केही असन्तुष्टि जनाएका छन् । खस–आर्यतर्फको दुई नम्बरमा विवादास्पद छविका धर्म प्रचारक एकनाथ ढकाल हुनुहुन्छ । नेपाल परिवार दलका अध्यक्षसमेत रहनुभएका ढकाललाई एमाले अध्यक्ष केपी शर्मा ओलीले समानुपातिकको दुई नम्बरमा राख्नुभएको थियो । ढकाल समानुपातिक सांसद हुने निश्चित भएपछि एमालेभित्र असन्तुष्टि पोखिन थालेको छ । ढकाललाई बन्दसूचीमा प्राथमिकतासाथ राखिएको विषयमा एमालेभित्र तीव्र असन्तुष्टि छ ।

अध्यक्ष ओलीकै रुचिमा उहाँलाई समानुपातिक सूचीमा राखिएकोले धेरैले खुलेर विरोध गर्न नसके पनि विरोधका स्वरहरू सुनिन थालेका छन् । तल्लो तहका कार्यकर्ताहरूले भने सामाजिक सञ्जालमा आलोचना गरिरहेका छन् । एमाले समानुपातिकको बन्दसूचीमा ढकाल मात्र नभएर अरू पनि थुप्रै विवादास्पदहरूलाई प्राथमिकता दिइएको कार्यकर्ताहरूको आरोप छ । समानुपातिक सांसद छनोट गर्ने भनिएको नेकपा (माओवादी केन्द्र)को शुक्रबारको पदाधिकारी बैठक बिना निष्कर्ष सकिएको छ । पेरिसडाँडामा बसेको पदाधिकारी बैठक समानुपातिक सूचीका विषयमा पुनः छलफल गर्ने गरी सकिएको हो । बैठक आज (शनिबार) पुनः बस्नेछ । समानुपातिक सूचीका विषयमा सरोकारवाला निकाय र कानुन विद्हरूसँग छलफल गरेर टुंगो लगाइने सचिव लीलामणि पोखरेलले जानकारी दिनुभयो । आज बस्ने पदाधिकारी बैठकले समानुपातिक सूची फाइनल गर्ने उहाँले बताउनुभयो ।

नयाँ र साना दलमा समेत विवाद
प्रमुख ठूला दलमा मात्रै होइन नयाँ र साना दलमा पनि समानुपातिक सांसद छान्न सकस परेको छ । आकांक्षी व्यवस्थापन गर्न नसक्दा साना दलमा समेत छनोटका विषयमा विवाद देखिएको हो । नवगठित राष्ट्रिय स्वतन्त्र पार्टीको असन्तुष्ट समूहले बिहीबार पार्टी कार्यालयमा खरबदारी नै गरेको थियो । समानुपातिकमा सात सिट पाएको राप्रपामा समेत सांसद छनोटका विषयमा विवाद देखिएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीको समानुपातिकबाट प्रतिनिधि सभामा दोस्रो पुरुष कसलाई पठाउने भन्नेमा विवाद भएको छ । प्रत्यक्षमा सात सिट जितेको राप्रपाले समानुपातिकमा पनि सात सिट नै पाएको छ । समानुपातिकको सातमध्ये उसले पाँचजना महिला र दुईजना पुरुष पठाउनुपर्ने छ । समानुपातिकतर्फ खर्स आर्यको पहिलो नम्बरमा रहनुभएका पशुपति शमशेर राणालाई सांसद बनाउने विषयमा विवाद नभए पनि दोस्रो पुरुषका बारेमा भने विवाद भएको हो । आदिवासी जनजातिको पहिलो नम्बरमा रहेका बुद्धिमान तामाङ, मधेसीको पहिलो नम्बरमा रहेका प्रह्लाद साह र खस आर्यतर्फ दोस्रो नम्बरमा रहेका प्रकाशचन्द्र लोहनीमध्ये एकजना छान्न राप्रपालाई सकस परेको छ ।

पुरुषतर्फ सांसद हुनेको नाम नटुंगिएकाले पाँचजना महिलातर्फ पनि कसलाई पठाउने भन्ने टुंगो लागेको छैन । राप्रपाले प्रतिनिधिसभामा पठाउने समानुपातिक सांसदको नाम तय गर्न आज (शनिबार) कार्य सम्पादन समितिको बैठक बोलाएको छ । जनता समाजवादी पार्टीले पनि समानुपातिकबाट निर्वाचित हुने सांसदको नाम टुंग्याउन सकेको छैन । जसपाले समानुपातिक सांसद छनोट गर्न आज (शनिबार) केन्द्रीय कार्यकारिणी बैठक समितिको बैठक बोलाइएको छ । यसपालिको चुनावमा पहिलोपटक भाग लिए राष्ट्रिय पार्टी बनेको जनमत पार्टीले भने समानुपातिकबाट चुनिने सांसद टुंग्याएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?