२५ विद्यार्थीलाई नबिल उद्यमशील तालिम

Read Time = 3 mins

काठमाडौं । नबिल बैंकले उद्यमी बन्न चाहने बागमती प्रदेशबाट नबिल सामाजिक उद्यमशीलता कार्यक्रम (नबिल एसएसई) सर्टिफिकेसन कोर्षमा सहभागी २५ विद्यार्थीलाई प्रमाणपत्र प्रदान गरेको छ ।

ललितपुरको क्याम्पियन कलेजमा ‘रिफ्लेक्सन एण्ड सेलिब्रेसन सर्टिफिकेट डिस्ट्रिब्युसन प्रोग्राम’ मा नबिल बैंकका उपाध्यक्ष निर्वाण चौधरीले हजारौं युवाले बाध्यतावस राम्रो अवसरको खोजीमा देश छाडेको भन्दै नबिलले आफ्नै देशमा केही गर्न चाहने विद्यार्थीलाई साथ दिन चाहेको बताउनुभयो । कुनै व्यक्ति जन्मँदै उद्यमी बन्न नसक्ने, त्यसका लागि उचित मार्गदर्शन र निर्देशन चाहिने उहाँको भनाइ छ । एक वर्षअघि नबिलले लिएको पहलले हाल युवाहरूको जीवनमा दिशानिर्देश र उचित मञ्च प्रदान गरिरहेको चौधरीले दाबी गर्नुभयो ।

नबिल बैंकका नायब प्रमुख कार्यकारी अधिकृत भूपेन्द्र पाण्डेले स्टार्टअप, साना तथा मझौला उद्यमलाई उद्यमशीलता शिक्षा प्रदान गर्ने, वित्तीय साक्षरता अभिवृद्धि र आर्थिक सहयोग गर्न नबिल सदैव तत्पर रहेको बताउनुभयो । बैंकले सातै प्रदेशमा विभिन्न क्याम्पससँगको सहकार्यमा यस्तोे कार्यक्रम सञ्चालन गर्दै आएको पनि उहाँले जानकारी दिनुभयो ।

सामाजिक उद्यमशीलतासम्बन्धी तीन महिना अवधिमा सञ्चालित १४ दिने तालिममा ज्ञान अभिवृद्धि, सीप, मानसिकता र स्रोतसाधनको विषयमा तालिम प्रदान गरिएको बैंकले जनाएको छ । क्याम्पियन कलेजकी प्रिन्सिपल अनामिका श्रीवास्तवले नबिल बैंकले चलाएको अभियानले विद्यार्थीलाई उद्यमशीलतामा जोड्न सहयोग गरेको बताउनुभयो ।

सहभागी विद्यार्थीमध्ये एक महेश शर्माले नबिल एसएसईलाई आफ्नो सोचलाई उद्यमका रूपमा परिवर्तन गर्न दिशा प्रदान गरेकोमा धन्यवाद दिनुभयो । उहाँले यस कार्यक्रमले आफूलाई केही गर्न र उद्यमशीलतामार्फत् समाजमा योगदान पुर्‍याउन प्रेरणा दिएको बताउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?