स्थानीय तहको काम कारबाही जनमुखि, पारदर्शी र नागरिकप्रति जवाफदेही हुनुपर्छः प्रधानमन्त्री देउवा

हिमालय टाइम्स
Read Time = 6 mins

काठमाण्डौं । प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय तहको काम कारबाही जनमुखि, पारदर्शी र नागरिकप्रति जवाफदेही हुनुपर्ने बताउनु भएको छ ।

प्रधानमन्त्री देउवाले नागरिक नजिकको सरकार भएकाले पनि स्थानीय तहको कामकारबाही नागरिकप्रतिनै जवाफदेही हुनुपर्ने प्रष्टयाउनु भएको हो । ललितपुर महानगरपालिकाको १०४ औं स्थापना दिवसको अवसर पारेर शनिबार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले नेपालको संविधानले स्थानीय तहलाई विकास, निर्माण र जनसेवाको आधार स्तम्भको रुपमा महत्वपूर्ण अधिकार र जिम्मेवारी प्रदान गरेकाले सोही अनुसारको काम हुनुपर्ने उल्लेख गर्नु भयो ।

प्रधानमन्त्री देउवाले ललितपुर महानगरपालिकाले जनताको अपेक्षा अनुसार विश्वका अन्य मुलुकमा पनि नेपाल र नेपाली जनताको पहिचान हुने गरी आफ्नो कामलाई अघि बढाएको भन्दै प्रशंशा समेत गर्नु भयो । उहाँले ललितपुर महानगरपालिकालाई सांस्कृतिक स्मार्ट सहरको रुपमा विकास हुने गरी काम गर्नुपर्नेमा पनि जोड दिनु भयो । प्रधानमन्त्री देउवाले ललितपुर महानगरपालिकाले नमूना महानगरपालिकाको रुपमा आफूलाई अघि बढाएको बताउनु भयो ।

उहाँले भन्नु भयो, ‘धार्मिक, सांस्कृतिक, ऐतिहासिक कला नगरी उपत्यकाकै जेठो ललितपुर महानगरपालिकाको १०४ वर्षमा प्रवेश गरेको सुख्द अवसरमा महानगरबासी तथा जनप्रतिनिधिहरुमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्न चाहन्छु । उपत्यकाको पुरानो र मौलिकता बोकेको यो सहर व्यवस्थित र नागरिकको जीवनलाई सहज र गुणस्तरीय बनाउने विविध योजनाहरुसहित अघि बढेको जानकारी पाउँदा मलाई खुसी लागेको छ । नेपालको संविधानले स्थानीय तहलाई विकास, निर्माण र सेवाको आधार स्तम्भको रुपमा महत्वपूर्ण अधिकार र जिम्मेवारी प्रदान गरेको छ । नागरिक नजिकको सरकार भएकाले स्थानीय तहको कामकारबाही जनमुखि, पारदर्शी र परिणाममुखि नागरिक जवाफदेही हुनु पर्दछ । ललितपुर महानगरपालिकाका जनप्रतिनिधिहरुले नागरिकको अपेक्षा अनुसार यस महानगरलाई नमूना महानगरको रुपमा काम गर्ने हिसावले जिम्मेवारपूर्ण ढंगले नागरिकको सेवालाई अघि बढाउनु हुनेछ भन्ने विश्वास लिएको छु । मौलिक कला, संस्कृति र साहित्य महानगरपालिकाका अमूल्य सम्पदा हुन । यस महानगरपालिका भित्र राष्ट्रिय गौरवका प्राचिन सम्पदाहरु नेपाललाई विश्वमा चिनाउने महत्वपूर्ण धरोहर र वैभव हुन । यस महत्वपूर्ण निधि र सम्पदाको संरक्षण र सम्वर्द्धन गर्दै यस महानगरपालिकालाई मुलुककै सम्पदा र संस्कृतिको केन्द्रको रुपमा विकास गर्न जनप्रतिनिधि र महानगरबासीले एकआपसमा हातेमालो गर्दै अघि बढन आवश्यक छ । ललितपुर महानगरपालिकाले सम्पदाहरुको संरक्षणका लागि गरेका कामहरु प्रशंशनीय छ । निर्माणाधिन सम्पदाहरुको निर्माण कार्य सम्पन्न भएपछि एकातिर पर्यटकहरुको प्रवद्र्धन गर्न सहयोग पुग्नेछ भने अर्कातिर सांस्कृति स्मार्ट सिटीको रुपमा विकास गर्न पनि सहयोग पुग्नेछ । भौगोलिक पूर्वाधारमा मात्रै जोड नदिई नागरिकलाई खुसी बनाउने तथा उनीहरुलाई सांस्कृतिक मूल्य, मान्यता संरक्षण र सम्वर्द्धन गर्दै अघि बढाएको यस महानगरपालिकाका कामहरु उदाहरणीय छन । आगामी दिनमा पनि यसको निरन्तरताको अपेक्षा गर्दछु । प्राचित सभ्यता र संस्कृतिलाई यथावत संरक्षण गर्दै नयाँ आधुनिक पूर्वाधार निर्माणले यस महानगरपालिकालाई उपत्यकाकै प्राचिन र आधुनिक सहरको रुपमा विकास गराउनु सबैका लागि अनुकरणीय रहेकोमा दुईमत छैन । भौतिक पूर्वाधारको विकासले वातावरणीय पक्षको आन्तरिकीकरण तथा नागरिक केन्द्रित विकासमा महानगरपालिकाले खेलेको भूमिका अनुकरणीय छ । यहाँ भएको कामले राष्ट्रिय मात्र नभई अन्तराष्ट्रिय स्तरमा पनि नेपाल र नेपालीको परिचय गराउनु भएको छ ।’

त्यस अवसरमा प्रधानमन्त्री देउवाले नागरिकलाई खुसी बनाउने गरी ललितपुर महानगरपालिकाको सम्पदाहरुको संरक्षण र सम्वर्द्धनको काम भईरहेको भन्दै त्यसलाई निरन्तरता दिएर अघि बढन थप क्रियाशील हुन आग्रह गर्नु भयो । भौतिक पूर्वाधारहरुको विकास गर्दा नागरिकको जीवनलाई सहज हुने गरी अघि बढाउन पनि स्थानीय तहका जनप्रतिनिधिहरुले मिलेर काम गर्नुपर्ने उहाँको भनाई थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?