लुम्बिनीमा दुई महिनामा दानबापत ६१ लाख संकलन

चन्द्रकान्त खनाल रुपन्देही, संवाददाता
Read Time = 3 mins

बुटवल । गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा दानबापत दुई महिनामा ६१ लाख २० हजार ८०६ रुपैयाँ संकलन भएको छ । लुम्बिनी विकास कोषले पाँच दिन लगाएर शुक्रबार सकाएको दानपेटिकाको भेटी गणनामा उक्त रकम संकलन भएको हो । आन्तरिक र बाह्य पर्यटकको संख्या वृद्धि भएसँगै मायादेवी मन्दिरमा राखिएका दानपेटिका छिट्टै भरिन थालेको लुम्बिनी विकास कोषका कोषाध्यक्ष ढुण्डिराज भट्टराई (सिद्धिचरण)ले जानकारी दिनुभयो ।

अघिल्लोपटक तीन महिनामा एकपटक गणना गरिएकोमा यसपटक दान पात्र छिट्टै भरिएकाले दुई महिना नपुग्दै गणना सुरु गरिएको हो । गत असोज ३० गते गरिएको भेटी गणनामा २७ लाख १८ हजार दानबापत रकम संकलन भएको थियो । कोरोना महामारीपछि थलिएको पर्यटन क्षेत्र विस्तारै चलायमान हुन थालेपछि लुम्बिनी भ्रमण गर्ने पर्यटकको संख्या वृद्धि हुन थालेको छ । अहिले लुम्बिनी भ्रमणको सिजनसमेत सुरु भएकाले छिमेकी देश भारतसहित थाइल्याण्ड, म्यानमार, भियतनाम र युरोपबाट समेत दर्शनाथी आउनेक्रम बढेको कोषाध्यक्ष भट्टराईले बताउनुभयो । लुम्बिनी विकास कोषको सूचना शाखाका अनुसार नोभेम्बर महिनामा मात्रै आन्तरिक अर्थात् नेपालीले ८२ हजार २०५ जनाले भ्रमण गरेका छन् ।

यस्तै, नोभेम्बर महिनामा मात्रै भारतबाट ३८ हजार ६८९, अन्य मुलुकबाट सात हजार ४७३ जनाले लुम्बिनीमा पाइला टेकेका छन् । नोभेम्बर महिनासम्म पाँच लाख ४५ हजार नेपालीले लुम्बिनी भ्रमण गरेकोमा भारतबाट एक लाख ८८ हजार पर्यटक भित्रिएको सूचना शाखाको तथ्यांकमा उल्लेख छ । भेयतनाम, म्यानमार, थाइल्याण्ड, श्रीलंका लगायतका ८४ मुलुकबाट एक लाख ८१ हजारले लुम्बिनी भ्रमण गरेका छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?