मुहार फेर्दै भीम बाटिका

हिमालय टाइम्स
Read Time = 4 mins

देवेन्द्र खड्का/हिटा
महेन्द्रनगर । केही समय पहिले फोहोर, झाडी र जंगलले छोपिएको कञ्चनपुरको भीमदत्त नगरपालिका-१८ स्थित भीम बाटिकाले विस्तारै मुहार फेरिरहेको छ । महेन्द्रनगर बजारको मुटुमा रहेको एक मात्रै पार्क एवम् भीम बाटिका उचित व्यवस्थापनको अभावमा जीर्ण बन्दै गएको थियो । पार्क सफा, स्वच्छ, रमणीय र केही हेर्न वा घुम्न लायकको हुनुपर्ने हो । यद्यपि, भीम बाटिका (पार्क) उचित व्यवस्थापनको अभावमा युवाहरूको लागू पदार्थ सेवन एवम् अनैतिक क्रियाकलाप गर्ने हब बनिरहेको थियो ।

हाल भीमदत्त नगरपालिकामा नयाँ नेतृत्व आएबाटै भीम बाटिकालाई सिंगारन थालिएको छ । भीमदत्त नगरपालिकाले पार्कभित्र रंगरोगन, ठूला रूखहरू, झाडी, फोहोर सफाइ, शौचालय तथा अन्य संरचना मर्मत, फूलबारी, घाँसे चौर बनाइरहेको छ । ‘यो पार्कको उचित व्यवस्थापन नहुँदा झाडी, फोहोर र जंगलले छोपिएको थियो । झट्ट हेर्दा पर्खालले बेरिएको जंगल जस्तो देखिन्थ्यो ।’ भीमदत्त नगरपालिका–१८ का वडा सदस्य हेमबहादुर बस्नेतले भन्नुभयो, ‘पार्क घुम्न हेर्न लायक थिएन, त्यहाँभित्र युवाहरूले लागुऔषध प्रयोग गरेका सिरिञ्ज, अस्थायी गर्भनिरोधक साधन कण्डम फालिएका थिए ।’ उहाँले अगाडि भन्नुभयो, ‘हामी निर्वाचित भएलगत्तै पार्कलाई पार्क जस्तै बनाउने अभियानमा जुट्यौँ र पार्कको बाहिरतर्फबाट सरसफाइ थालिएको पार्कको अहिले भित्रतर्फको व्यवस्थापनमा जुटेका छौँ ।’

पार्कभित्र सरसफाइसँगै बालबालिकाका लागि खेल्ने समाग्री राख्ने, २४ सै घण्टा पानीको फोहोरा राख्ने, खानेपानीको प्रबन्ध गर्ने, चौतारा बनाउने, ठूला रूखझाँडी सफाइ गर्ने, फोहोरमैला केन्द्र एक निश्चित ठाँउमा बनाउने, अशोकका रूखहरूमा एकरुपता ल्याउने काम भइरहेको वडासदस्य बस्नेतले बताउनुभयो । उहाँका अनुसार पार्कभित्रै रहेको सरस्वती मन्दिर, किसान नेता शहीद भीमदत्त पन्तको सालिक लगायतका संरचनासमेत सजावट गरिनेछ । वडा सदस्य बस्नेतले व्यवस्थापनको अभावमा आन्तरिक तथा बाह्य पर्यटकका नजरबाट टाढिएकोे भीम बाटिका (पार्क)लाई भीमदत्त नगरपालिकाले हेर्न र घुम्न लायक बनाएर छाड्ने बताउनुभयो । नगरपालिकाले जीर्ण बन्दै गएको भीम बाटिकाको व्यवस्थापन गर्न थालेपछि अहिले सामाजिक सञ्जालमा समेत नगरपालकाको सो कामको प्रशंंसा भइहरेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?