ध्वनिशास्त्रको आफ्नै विशेषता र महत्व छ, यसको अभावमा हाम्रा सिर्जनाले पूर्णता पाउँदैनन् : मनोज

Read Time = 10 mins

ध्वनि सम्पादकका रूपमा नेपाली कला क्षेत्रमा आफूलाई अब्बल स्थानमा राख्दै आएको नाम हो मनोज परियार । गीत-संगीत, चलचित्र वा विज्ञापन उत्कृष्ट बनाउनका लागि ध्वनि सम्पादक अर्थात् साउण्ड इन्जिनियरको महत्वपूर्ण भूमिका रहेको हुन्छ । गीतमा सम्पादन अर्थात् मिक्सिङ सबैभन्दा महत्वपूर्ण पाटो हो । यस विधामा लामो समयदेखि अब्बलरूपमा परियारले काम गर्दै आइरहनुभएको छ । उहाँले ध्वनि सम्पादक (साउण्ड इन्जिनियर) का रूपमा आफूलाई अग्रस्थानमा राखेर काम गर्दै आउनुभएको छ । उहाँ नेपालका राम्रा ध्वनि सम्पादकका रूपमा परिचित हुनुहुन्छ । विसं २०७० सालदेखि निरन्तर यो क्षेत्रमा रहनुभएका उहाँ सात सयभन्दा बढी गीतमा ध्वनि सम्पादन गरेको बताउनुहुन्छ । लमजुङको भोटेओडार-३ बल्चुगमा बुबा रामचन्द्र दमाई र माता जुना दमाईको कोखबाट विसं २०५१ साल फागुन ३ गते जन्मिनुभएका मनोज यतिबेला काठमाडौंलाई कर्मथलो बनाएर आफ्ना सिर्जना कर्ममा सक्रिय हुनुहुन्छ । उहाँले ध्वनि सम्पादनका विभिन्न प्रशिक्षण लिएर आफूलाई यो क्षेत्रमा निखारताका साथ अघि बढाइरहनुभएको छ । समयअनुसार कामलाई ध्यान दिँदै कर्मशीलता, लगनशीलता र निरन्तरताले आफूले सफलता चुम्दै गएको उहाँको दाबी छ । संगीतका नोटहरूको अध्ययन गर्दै नयाँ-नयाँ खोजमा तल्लीन परियार यो क्षेत्रले आफूलाई धेरै दिएको बताउनुहुन्छ । ध्वनि सम्पादनमा आफूलाई समर्पित गर्नुभएका उहाँ सामाजिक क्षेत्रमा पनि उत्तिकै सक्रिय हुनुहुन्छ । नेपाली गीत-संगीतको क्षेत्रमा पुर्‍याएको योगदानस्वरूप थुप्रै मान-सम्मान, अवार्ड र पुरस्कार प्राप्त गर्न सफल मनोज परियारसँग हिमाल टाइम्सको हिँड्दा हिँड्दैका लागि कृष्ण भुसालले गर्नुभएको कुराकानीको संक्षिप्त अंश :-

अहिले के गर्दै हुनुहुन्छ ?
म नेपाली कला क्षेत्रमा ध्वनि सम्पादकका रूपमा कार्य गर्दै आइरहेको छु । नेपाली गीत-संगीत, चलचित्र, विज्ञापनमा ध्वनि सम्पादकका रूपमा आफूलाई संलग्न गराउँदै आएको छु भने त्यसका कार्य भइरहेका छन् । यसैमा अलिक व्यस्त पनि हुँदै आएको छु । फेरि आफ्ना केही व्यक्तिगत कार्यहरू, केही सामाजिक कार्य, यस्तै-यस्तैमा आफूलाई संलग्न गराउँदै आएको छु ।

यहाँ कहिलेदेखि यो क्षेत्रमा हुनुहुन्छ ?
म यस्तै विसं २०६८ को अन्तिमतिरबाट यो क्षेत्रमा रहेर कार्य सम्पादन गर्दै आइरहेको छु । तर, पूर्णरूपमा ध्वनि सम्पादकका रूपमा भने ०७० सालदेखि निरन्तर छु ।

ध्वनि सम्पादकको महत्वबारे प्रष्ट्याइदिनुहोस् न ?
गीत–संगीत तथा चलचित्रमा ध्वनि सम्पादन अति नै महत्वपूर्ण हुन्छ । कुनै पनि गीत–संगीत, चलचित्र तथा विज्ञापनका सिर्जना प्रस्तुतिको अभिन्न कार्यमा यो पर्दछ । सबैतिरबाट आएका कुरालाई मिलाएर त्यसमा सजावट गरी एउटा पूर्ण रूप दिने कार्य हो । ध्वनिशास्त्रको आफ्नै विशेषता र महत्व छ, यसको अभावमा हाम्रा सिर्जनाले पूर्णता पाउँदैनन् । हाम्रा सिर्जना उत्कृष्ट बनाउनका लागि ध्वनि सम्पादक अर्थात् साउण्ड इन्जिनियरको महत्वपूर्ण भूमिका रहेको हुन्छ ।

यो क्षेत्रमा कसरी आउनुभयो ?
कला क्षेत्रमा बच्चादेखि नै रुचि थियो । पछि यही क्षेत्रमा बुझ्दै गएँ । यही क्षेत्रमा केही उल्लेखनीय कार्य गरौँ भन्ने लाग्यो । अनि आएँ यो क्षेत्रमा ।

मनोजले ध्वनि सम्पादनका विभिन्न प्रशिक्षण लिएर आफूलाई यो क्षेत्रमा निखारताका साथ अघि बढाइरहनुभएको छ । समयअनुसार कामलाई ध्यान दिँदै कर्मशीलता, लगनशीलता र निरन्तरताले आफूले सफलता चुम्दै गएको उहाँको दाबी छ । संगीतका नोटहरूको अध्ययन गर्दै नयाँ–नयाँ खोजमा तल्लीन परियारले यो क्षेत्रले आफूलाई धेरै दिएको बताउनुहुन्छ । ध्वनि सम्पादनमा आफूलाई समर्पित गर्नुभएका उहाँ सामाजिक क्षेत्रमा पनि उत्तिकै सक्रिय हुनुहुन्छ ।

अहिलेसम्म आउँदा कति जति सिर्जनामा ध्वनि सम्पादन गर्नुभयो ?
थुप्रै सिर्जनामा ध्वनि सम्पादन गरेको छु । अहिले तपाईंसँगको यो कुराकानीमा ठ्याक्कै यति संख्यामा भन्न अलिक गाह्रो भयो । यस्तै सात सयभन्दा त बढी नै छन् सार्वजनिक भएका । कति सार्वजनिक भएका पनि छैनन् ।

अध्ययन कत्तिको गर्नुहुन्छ ?
अध्ययन भन्ने कुरा जति नै गरे पनि कमी नै हुन्छ । आज हरेक दिन नयाँ-नयाँ प्रविधिको विकास भइरहेको छ । त्यसका बारेमा आफूलाई आवश्यक जानकारी राख्ने चासो त छँदै छ । फेरि हाम्रो जस्तो कार्यमा आफूलाई अपडेट राख्नका लागि अध्ययन आवश्यक रहन्छ । गीतको रेकर्डिङ र सम्पादन कार्य हिजोभन्दा आज धेरै नै फरक छ । म आफू अध्ययनमा रुचि नै राख्ने भएकाले पनि आफूलाई फुर्सद मिल्यो भने अध्ययनमा आफूलाई तल्लीन बनाउँछु ।

तपाईंका कार्यलाई घरपरिवारबाट कत्तिको सपोर्ट मिलेको छ ?
उहाँहरूको साथ सहयोगले नै मैले आजको दिन चुम्न सफल भएको छु । मेरा हरेक कार्यका लागि उहाँहरूको साथ सहयोग रहँदै आएको छ ।

यस क्षेत्रमा यहाँले पु¥याएको योगदानस्वरूप थुप्रै मान-सम्मान, अवार्ड र पुरस्कार प्राप्त गर्नुभएको छ, कस्तो लाग्छ फर्केर हेर्दा ?
तपाईंले भने जस्तै मैले यो क्षेत्रमा पु¥याएको योगदानको कदर गर्दै धेरै मान-सम्मान, अवार्ड र पुरस्कार प्राप्त भएका छन् । यसले खुशी लाग्छ । थप जिम्मेवार महसुस गराउँदछ । अझ प्रेरणा मिल्ने गर्दछ । एक समय यस्तो पनि थियो धेरैलाई ध्वनि सम्पादन भन्ने नै थाहा थिएन तर अहिले परिवेश फरक भएको छ । यसको महत्व सबैले बुझ्दै जानुभएको छ । विदेशमा त यसको निकै महत्व छ । तर, हामीकहाँ पनि विस्तारै यसको महत्वलाई स्थान दिँदै गएको पाउँछु म ।

अबको यहाँको योजना ?
यसै क्षेत्रमा अझै नयाँ-नयाँ क्रियशन गरौँ भन्ने नै अबको मेरो योजना छ । नेपाली गीत-संगीत, चलचित्रलाई साउण्ड सम्पादनमा विशेष उचाइमा पुर्‍याउन अझै नयाँ-नयाँ क्रियशन गर्ने नै हो ।

यो क्षेत्रमा आउन चाहनेका लागि के भन्न चाहनुहुन्छ ?
ध्वनि सम्पादन कार्य धेरै नै उत्तम कार्य हो । यसमा दुई कुराको ज्ञान हुन अति आवश्यक छ । यसमा साउण्डका साथसाथै म्युजिकको पनि ज्ञान हुनु जरुरी छ । साउण्डमा राम्रो ज्ञान छ तर म्युजिकमा छैन भने त्यो अपूर्ण रहन्छ । धेरैले म्युजिकको राम्रो ज्ञान नहुँदा यो क्षेत्रमा आएर पछि छोडेको मैले पाएको छु । यो क्षेत्रमा राम्रो गर्न सक्छु भन्ने तपाईंमा लाग्छ र म्युजिक एवं साउण्डको ज्ञान छ भने आउन सक्नुहुन्छ । राम्रो छ भन्न चाहन्छु ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?