सम्मानजनक शक्ति बाँडफाँट भए जसपा सरकारमा जाने, पार्टी एकताका लागि वार्ता समिति गठन

हिमालय टाइम्स
Read Time = 4 mins

काठमाडौं । जनता समाजवादी पार्टी, नेपालले शक्ति बाँडफाँटको विषयलाई हेरेर मात्रै सरकारमा जाने, नजाने सम्बन्धमा निर्णय गर्ने भएको छ ।
जनता समाजवादी पार्टीको मंगलवार बसेको राजनीतिक समितिको बैठकले सरकारमा जाने नजाने सम्बन्धमा शक्ति बाँडफाँटको विषयलाई केन्द्रमा राख्ने निर्णय गरेको हो ।

बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रवक्ता मनिष सुमनले शक्ति बाँडफाँटको विषयलाई केन्द्रमा राखेर मात्र सरकारमा सामेल हुने अन्यथा बाहिरबाट सरकारको समर्थन गर्ने भन्ने निर्णय हुने बताउनु भयो ।

उहाँले सरकारको नीति तथा कार्यक्रमलाई अध्ययन गरेर मात्र सो निर्णय लिइने पनि स्पष्ट पार्नुभयो ।
त्यसैगरी बैठकले अन्य राजनीतिक दलहरुसँग पार्टी एकताका लागि वार्ता गर्न पार्टीका सहअध्यक्ष राजेन्द्र श्रेष्ठको संयोजकत्वमा ३ सदस्यीय समिति गठन गरेको छ । जसको सदस्यहरुमा रकम जेमजोङ र गोविन्द चौधरी रहनुभएको प्रवक्ता सुमनले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो – ‘सरकारमा जाने, नजाने सम्बन्धमा पनि पार्टीका विचारहरु आउँदा सरकारको नीति तथा कार्यक्रमलाई अध्ययन गरी र सरकारले गर्न थालेको शक्ति बाँडफाँटको विषयलाई ध्यानमा केन्द्रित राखेर मात्र सरकारमा सामेल हुने अन्यथा बाहिरबाट सरकारको समर्थन त जारी नै रहनेछ भन्ने हाम्रो निर्णय भयो । त्यस्तै विभिन्न राजनीतिक दल, संगठन र क्रियाशिल अन्य राजनीतिक शक्तिहरु सँग वार्ता, संवाद, छलफल गर्नको लागि पार्टीका सह अध्यक्ष, केन्द्रिय कार्यकारिणी समितिका सदस्य राजेन्द्र श्रेष्ठको संयोजकत्वमा ३ सदस्यीय समिति बनायौँ । सो समितिमा राजेन्द्र श्रेष्ठ संयोजक, रकम चेमजोङ सदस्य र गोविन्द चौधरी सदस्य । त्यस्तै माघ मसान्तभित्र पार्टीले आफ्ना सबै निष्क्रिय संगठनहरुलाई क्रियाशिल बनाउने छ ।’

बैठकले माघ मसान्तभित्र पार्टीमा निष्क्रिय भएका सबै संगठनहरुलाई क्रियाशिल बनाउने निर्णय पनि गरेको छ । गत निर्वाचनमा अन्तर्घात गर्नेहरुलाई सम्बन्धित पार्टी समितिले कारबाही गर्ने र संघीय परिषद् र केन्द्रिय समिति सदस्यहरुले अन्तर्घात गरेको सम्बन्धमा छानबिन गर्न शिवलाल थापामगरेको संयोजकत्वमा ५ सदस्यीय समिति गठन गरेको छ ।

जसको सदस्यहरुमा देवबहादुर गुरा, बालकिशोर यादव, अशोक लगरबाग र प्रमिला यादव रहेका छन् । जसपाले पार्टीको विधान अधिवेशन गर्नका लागि केन्द्रिय समितिका अध्यक्ष उपेन्द्र यादवको संयोजकत्वमा विधान मस्यौदा समिति पनि गठन गरेको छ । जसको सदस्यहरुमा राजेन्द्र श्रेष्ठ, रकम जेमजोङ, सुशिला श्रेष्ठ, शिवलाल थापा मगर, लालबाबु राउत, दीपेन्द्र झा, दिपक राई, पञ्चलाल महर्जन, विरेन्द्र ठाकुर र भगवती सुवेदी रहनुभएको प्रवक्ता सुमनले जानकारी दिनुभयो ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?