सर्वदलीय बैठकपछि कसले के भने ?

हिमालय टाइम्स
Read Time = 4 mins

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक हीतराज पाण्डेले आफूहरुले सबै राजनीतिक दलहरुलाई प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकारलाई विश्वासको मत दिन आग्रह गरेको बताउनुभएको छ ।

शुक्रवार बसेको सर्वदलीय बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले विश्वासको मत दिनेमा आफूहरु विश्वस्त रहेको बताउनु भयो । उहाँले सबै पार्टीसँग छलफल जारी रहेको र सबै पार्टीहरु सकारात्मक रहेकाले विश्वासको मत पाउनेमा विश्वस्त रहेको पनि बतउनु भयो ।

उहाँले भन्नुभयो, ‘हामीले सबै राजनीतिक दललाई विश्वासको मत दिनको लागि आग्रह गरेका छौँ । त्यमसा हामी विश्वस्त र दृढ छौँ । हामीले विश्वासको मत वृद्धि गराउन पहल गरिरहेका छौँ । हामीले सबै पार्टीसँग सम्पर्क गरिरहेका छौँ । त्यसै कारणले पनि विश्वासको मत प्राप्त हुनेमा विश्वस्त छौँ ।’

त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष ध्रुवबहादुर प्रधानले आधिकारिक रुपमा पार्टी अध्यक्ष राजेन्द्र लिङदेनलाई काँग्रेसले प्रधानमन्त्री बन्न आग्रह नगरेको बताउनु भयो । उहाँले विभिन्न स्तरहरुबाट प्रधानमन्त्री बन्नका लागि प्रश्ताव आएपनि पार्टीबाट आधिकारिक रुपमा भने नआएको बताउनु भयो । उहाँले जनतालाई गरेको वाचा र एकछिनमै परिवर्तन गर्ने कुराले पार्टीको अस्तित्व गुम्ने भन्दै अहिलेकै सरकारलाई सहयोग गर्न पार्टी तयार रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘हाम्रो पार्टीको अध्यक्षलाई नेपाली काँग्रेसले प्रश्ताव गरेको विषय जुन छ, यसबारे ठूला दललाई टिप्प्पणी गर्न मिल्दैन, विश्वासको कुरा छ, कुन कुराले जनताको विश्वास बिग्रियो भन्ने छैन । हाम्रो अध्यक्षले पनि क्षणिक कुरामा अड्किनु हुँदैन भन्ने छ । हामीलाई आएको छैन । सुनेको भरमा के धारणा बनाउने भन्ने कुरा हो । पहिला पार्टीले भोगेको कुरा सम्झिएका छौँ । कुराहरु विभिन्न स्तरबाट आएका हुन्, तर वास्तविक रुपमा होइन ।’

त्यस्तै जनता समाजवादी पार्टीका सांसद प्रदीप यादवले प्रतिपक्ष दलका सभापति शेरबहादुर देउवालाई भेट्दैमा शंका गर्नु नपर्ने बताउनु भयो । उहाँले जसपाले पुष्पकमल दाहाल नेतृत्वको सरकारलाई विश्वासको मत दिनेमा विश्वस्त रहन आग्रह गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘भेटघाट गर्दैमा शंका गर्नु पर्दैन । अरु कुनै विषयमा पनि भेटघाट हुनसक्छ । भेट नै नगर्नु भन्ने होइन । त्यसैले भेटघाट भयो भन्दैमा शेरबहादुर देउवाको पक्षमा गएको होइन । हाम्रो पार्टीले प्रचण्डजीलाई लिखित रुपमा राष्ट्रपतिकोमा गएर हस्ताक्षर गरेका छौँ । हामी प्रचण्डजीलाई मत दिन्छौँ । हामी सरकारको पक्षमा छौँ ।’

यता लोकतान्त्रिक समाजवादी पार्टी, नेपालका अध्यक्ष महन्थ ठाकुरले भने सरकारमा सहभागी कुनै पार्टीहरुले पनि आफूलाई विश्वासको मत दिन आग्रह नगरेको बतउनु भयो ।

अध्यक्ष ठाकुरले विश्वासको मत अहिलेको सरकारलाई दिने वा नदिने भन्नेबारेमा कुनै निर्णय पार्टीमा भइनसकेको बताउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?