नबिल उद्यमशीलता कार्यक्रमको दोस्रो ब्याच

Read Time = 6 mins

काठमाडौं । उद्यमी बन्ने नबिल एसएसई पहिलो ब्याचका १८ जनालाई नबिल बैंकले बिदाइ र दोस्रो ब्याचका २० जनालाई स्वागत गरेको छ । नबिलले सामाजिक उद्यमशीलता विकासका लागि अघि बढाएको नबिल एसएसईको पहिलो चरणको फेलोसिप कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको हो । आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत नबिलले अघि बढाएको सामाजिक उद्यमशीलता कार्यक्रममा सहभागीलाई प्रमाणपत्रसहित बिदाइ गरेर पहिलो चरणको कार्यक्रम समापन गरिएको बैंकले जनाएको छ ।

बैंकले शुक्रबार कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयमा एक कार्यक्रमबीच फेलोसिपमा सहभागी पहिलो ब्याचका १८ जनालाई बिदाइ, दोस्रो ब्याचका लागि छनोट भएका २० जनालाई पनि स्वागत गरेको हो । बैंकले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत स्कुल अफ म्यानेजमेन्टसँगको सहकार्य र स्कुल फोर सोसल आन्टरप्रेनर्स इण्डियाको प्राविधिक सहयोगमा समाजमा उद्यमशीलतामार्फत् सामाजिक समस्याको दीर्घकालीन समाधान गर्ने उद्देश्यका साथ गत वर्षदेखि यस्तो कार्यक्रम सञ्चालनमा ल्याएको थियो ।

कार्यक्रमले १८ देखि ५० वर्षभित्रका इच्छुक व्यक्तिलाई उद्यमको सुरुवात गर्न सक्षम बनाउने लक्ष्य लिएकोे छ । सोहीअनुसार बैंकले पहिलो ब्याचमा विभिन्न क्षेत्रमा नवीनतम सोच भएका २० जनालाई छनोट गरेको थियो । तर, १८ जनाले मात्रै उक्त कार्यक्रमलाई पूर्णता दिएका थिए । जसमध्ये १३ जना आफ्नो व्यवसाय सञ्चालन गरी सेवा र सामग्रीसहित बजारमा प्रवेश गरिसकेका छन् । कार्यक्रममा सहभागीले आफ्ना प्रोडक्टको स्टलमा प्रदर्शनी गरेका थिए ।

सो अवसरमा नबिल बैंकका डेपुटी प्रमुख कार्यकारी अधिकृत मनोज ज्ञवालीले सहभागीको प्रोडक्ट र सेवा देख्दा धेरै खुसी लागेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘यो नै नबिलले समाजमा ल्याएको सकारात्मक परिवर्तनको सुरुवात हो ।’ त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायका प्राडा डिन डिल्लीराज शर्माले नबिल एसएसईमा सहभागीहरू समाज परिवर्तनका एजेन्ट रहेको बताउनुभयो । पहिले आफू सामाजिक अभियन्तामात्र भएको र नबिलको कार्यक्रममा जोडिएपछि उद्यमीको संज्ञा पाएको फेलोसिप कार्यक्रममा सहभागी दीक्षा पौडेलले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘मलाई उद्यमशीलताबारेमा केही थाहा थिएन र म बिजनेस ब्याक ग्राउण्डको विद्यार्थी पनि होइन तर अहिले मलाई यो कार्यक्रमले आफ्नो प्रोडक्ट लन्च गर्ने स्टेजमा पु¥याएको छ र अहिले ब्राण्डिङमा काम हुँदैछ । नबिलको यो कार्यक्रम धेरै नै प्रभावकारी रहेको छ र म नबिलप्रति आभारी छु ।’ त्यस्तै, इलामका यमबहादुर कार्की पनि बैंकको फेलोसिप कार्यक्रमले आफूलाई अहिले उद्यमीको पहिचान दिएको महसुस गरेको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, ‘हाम्रो समाजमा धेरै समस्या छन्, युवा पुस्ता दिनदिनै विदेशिनु परिरहेको छ । गाउँमै कफी खेतीका माध्यमबाट रोजगारी सिर्जना गरी आर्थिक गतिविधि बढाउने निर्णय गरेँ, मेरो यो सपना पूरा गर्न नबिलको कार्यक्रमले सहयोग गरेको छ । अहिले उत्पादित वस्तु बजारमा ब्राण्ड नेमसाथ आइसकेको छ र मैले रोजगारी सिर्जना गरिरहेको छु ।’ विश्वविद्यालयका उपकुलपति प्राडा धर्मकान्त बास्कोटाले उद्यमी पैदा गर्ने आफूहरूको उद्देश्य रहेकाले अभियान साकार पार्न प्रतिबद्ध रहेको बताउनुभयो । यस्ता तालिमले नेपाली युवालाई उद्यमीको पथ प्रदर्शन गराउने र लाखौं संख्यामा बाहिरिँदै गरेका नेपाली युवालाई नेपालमा रहेका सम्भावना र अवसरको जानकारी दिने उहाँको भनाइ थियो ।

सोही अवसरमा दोस्रो चरणको फेलोसिप कार्यक्रम सञ्चालनका लागि नबिल र विश्वविद्यालयबीच फेरि सम्झौता भएको छ । सम्झौतापत्रमा बैंकतर्फबाट प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र ढुंगाना र उपाध्यक्ष निर्वाण चौधरी तथा उपकुलपति बास्कोटा र प्राडा डिन शर्माले हस्ताक्षर गर्नुभएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?