बंगलादेशमा विद्युत् निर्यातमा भारतले सहजीकरण गर्ने

Read Time = 3 mins

काठमाडौं । भारतले बंगलादेशलाई नेपाल र भुटानबाट हुने विद्युत् आयातमा सहकार्य गर्ने आश्वासन दिएको छ । नयाँदिल्लीमा सम्पन्न दुई द्विपक्षीय बैठकमा भारतका ऊर्जा तथा नवीकरणीयमन्त्री राजकुमार सिंहले यस्तो आश्वासन दिएको बंगलादेशका सञ्चारमाध्यमहरूले जनाएका छन् । बंगलादेशतर्फबाट बैठकमा सहभागी ऊर्जा तथा प्राकृतिक स्रोत राज्यमन्त्री नसरुल हामिदले बंगलादेशलाई धेरै विद्युत् आवश्यक रहेको भन्दै नेपाल र भुटानबाट बिजुली आयातका लागि भारतले सहजीकरण गरिदिनुपर्नेमा जोड दिनुभएको थियो । यसअघि गत सेप्टेम्बरमा पनि बंगलादेशका प्रधानमन्त्री शेख हसिनाले भारतीय समकक्षीसँग विद्युत् आयातमा सहजीकरण गरिदिन आग्रह गर्नुभएको थियो ।

बंगलादेशले हाल भारतबाट एक हजार एक सय ६० मेगावाट विद्युत् आयात गर्दै आएको छ भने सन् २०४० सम्म नेपालबाट नौ हजार मेगावाट विद्युत् आयात गर्ने रणनीति बनाएको छ । जसका लागि उसले सुनकोशी तेस्रो जलविद्युत् आयोजनामा लगानीका लागिसमेत चासो दिएको छ । भारतीय कम्पनी ग्रान्धी माल्लिकार्जुन राव (जिएमआर) ले निर्माण गर्न लागेको नौ सय मेगावाट क्षमताको माथिल्लो कर्णाली जलविद्युत् आयोजनाको पाँच सय मेगावाट विद्युत् लैजाने बंगलादेशको तयारी छ ।

गत भदौमा सम्पन्न नेपाल र बंगलादेशको ऊर्जा सचिवस्तरीय बैठकले तत्कालै नेपालबाट ५० मेगावाट बिजुली लैजाने सहमति जनाएको थियो भने विद्युत् लैजान भारतीय संरचना प्रयोग गर्नुपर्ने भएकाले सम्बन्धित पक्षबीच त्रिपक्षीय छलफल गर्ने निर्णयसमेत गरेको थियो । नेपाल र बंगलादेशबीच डेडिकेटेड विद्युत् प्रसारण लाइन निर्माण गर्न भारतको अनुमति आवश्यक हुन्छ भने विद्युत् निर्यातका लागि नेपाल विद्युत् प्राधिकरण, बंगलादेश पावर डेभलपमेन्ट बोर्ड र भारतको एनटिपिसी व्यापार निगमबीच त्रिपक्षीय समझदारी आवश्यक हुन्छ । एनभिभिएन भारतको ऊर्जा व्यापारको ‘नोडल एजेन्सी’ हो । विद्यमान संरचनाले करिब ४० देखि ५० मेगावाटसम्म बिजुली लैजान सकिने देखिएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?