अवैध रूपमा सञ्चालित क्रसर उद्योग बन्द गर्न धादिङ प्रशासनको निर्देशन

बाबुराम श्रेष्ठ धादिङ, संवाददाता
Read Time = 3 mins

धादिङ । जिल्ला प्रशासन कार्यालय धादिङले अवैध रूपमा सञ्चालित क्रसर उद्योग बन्द गर्न निर्देशन दिएको छ । एक सूचना जारी गर्दै प्रशासनले कानुनबमोजिम दर्ता नगरी सञ्चालन गरेका, नवीकरण नभएका उद्योग र आयोजना अवधिका लागि मात्र अनुमति लिई सञ्चालन भएका तर आयोजना सम्पन्न भएपछि पनि सञ्चालनमा रहेका क्रसर उद्योग बन्द गर्न निर्देशन दिएको हो ।

सबै क्रसर तथा बालुवा प्रशोधन व्यवसायीहरूले कानुनबमोजिम दर्ता नवीकरण भएका कागजातहरू घरेलु तथा साना उद्योग कार्यालयमा पुस २५ गते सोमबारसम्म बुझाउनसमेत प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्सालले निर्देशन दिनुभएको छ । अबैधरुपमा सञ्चालित क्रसर तथा बालुवा प्रशोधन व्यवसायीहरूले आ-आफ्नो व्यवसाय बन्द गरी छानबिनमा सहयोग गर्न आग्रह गर्नुभएको छ । साथै जिल्लाका सबै पालिकाले आफ्नो पालिकाभित्र रहेका व्यवसायीहरूको कागजात संकलन गर्ने कार्यमा सहजीकरण, समन्वय र सूचना सम्प्रेषण गर्न अनुरोध गरेको छ ।

पुस २० गते सरकारले दर्ता नभएका र नवीकरण नगरिएका देशका क्रसर उद्योग बन्द गर्न जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको थियो । गृह मन्त्रालयले प्रचलित कानुनविपरीत ढुंगा, गिट्टी तथा बालुवा उत्खनन तथा दोहनलाई नियमनका लागि त्यस्ता उद्योग बन्द गर्न ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई परिपत्र जारी गरेको थियो । कानुनविपरीत ढुंगा, गिट्टी तथा बालुवा उत्खनन तथा दोहन कार्यलाई नियमन गर्न, वातावरण संरक्षण ऐन, २०७६ को पालना र यस सम्बन्धमा अदालतबाट भएको आदेश कार्यान्वयन गर्न आवश्यक देखिएकाले उक्त परिपत्र जारी गरिएकोे गृह मन्त्रालयका प्रवक्ता फणीन्द्रमणि पोखरेलले जानकारी दिनुभएको थियो ।

गृह मन्त्रालयद्वारा जारी गरिएको परिपत्रमा विभिन्न आयोजना, विकास तथा निर्माणका क्रममा सोही आयोजनाका लागि आवश्यक परिमाणमा ढुंगा, गिट्टी, रोडा तथा बालुवा उत्खननको अनुमति प्राप्त उद्योगी/निर्माण व्यवसायीले आयोजना समाप्त भएपश्चात् पनि त्यस्तो उत्खनन कार्य गरिरहेको भए सो समेत छानबिन गरी तत्काल बन्द गर्न भनिएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?