जुम्लामा रैथाने कागुनोको माग बढ्दै

विजय रावत जुम्ला, संवाददाता
Read Time = 3 mins

जुम्ला । जुम्लामा पछिल्लो समयमा कागुनोको माग बढ्न थालेको छ । यहाँका आठवटै स्थानीय तहमा उत्पादन हुने रैथाने बालीमध्ये कागुनो पनि हो । जिल्लाका किसानले विस्तारै सो खेती गर्ने छाडेको तिला गाउँपालिका किसान विमला नेपालीको भनाइ छ ।

कागुनोको उत्पादन कम भएपनि माग बढेको जुम्ला सदरमुकाम खलंगामा रहेको रारालिही अर्गाानिक पसलका संचालक अर्जुन बुढाले बताउनुभयो । किसानले ल्याएको कागुनोको चामल अत्यधिक रुपमा बिक्री हुने गरेको छ । कागुनोको चामलको मागपूरा गर्न नसकिएको यहाँका अर्गानिक पसलका संचालक बताउँछन् । गतवर्ष पनि माग हुने गरेको थियो । यो वर्ष किसानका घरमै पुगेर खरिद गरेर कागुनोको चामल पसलमा ल्याएर आन्तरिक पर्यटकलाई विक्रि गरेको संचालक बुढाको भनाइ छ ।

कर्णाली राजमार्ग हुँदै रारा घुम्न आउने पर्यटकले कागुनोको चामल खोजीखोजी लिने गरेको चन्दननाथ अर्गानिक पसलका कर्मचारी लक्ष्मी कुमाईले बताउनुभयो । विदेशी पर्यटकले समेत कागुनोको चामल लैजाने गरेकाछन् । चन्दननाथ बहुद्देश्यीय सहकारी संस्थाका प्रबन्धक ऋषिराम पाण्डेले भन्नुभयो,“कागुनो कुट्ने मेसिन उपलब्ध नहुँदा किसानले समस्या हुने गरेको छ ।

बाहिरी जिल्लाबाट आन्तरिक पर्यटनको प्रमुख रोचाइ कागुनो चामल रहेको छ । कागुनोको भात, यसलाई पिसेर पिठो बनाइ रोटी तथा ढिँडो बनाई खान मिल्ने चन्दनाथ सहकारीका प्रबन्धक पाण्डेले जानकारी दिनुभयो । ” विज्ञहरूका अनुसार कागुनो समुद्री सहतदेखि २ हजार मिटरमाथिको उचाइसम्म उत्पादन हुने गरेको छ । उन्नत जातको कागुनोको विकास गर्न स्थानीय कागुनोका जातहरु संकलन गरी उत्कृष्ट जातको पहिचान गर्न अनुसन्धान भइरहेको कृषि अनुसन्धान केन्द्र विजयनगर जुम्लाले जनाएको छ । कागुनो प्रायः फागुनमा मकैसँगै छरिने र छिटो पाक्ने अन्न हो ।

जुम्लामा १५ हेक्टरमा कागुनो खेती हुने गरेको जिल्ला कृषि विकास कार्यालय जुम्लाका प्रमुख गणेश अधिकारीले बताउनुभयो । जिल्लाका स्थानीय तहले पनि कागुनो खेतीलाई संरक्षण गर्नेका लागि कुनै कार्यक्रम लागु नगरेको यहाँका किसान बताउँछन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?