सातवटै प्रदेशमा नयाँ मुख्यमन्त्री नियुक्त

सत्ता समीकरणको फेरबदलले कांग्रेस सबै प्रदेशमा प्रतिपक्षी

हिमालय टाइम्स
Read Time = 21 mins

पुरन साह/चन्द्रकान्त खनाल/मानबहादुर ओली/यज्ञराज जोशी
जनकपुरधाम, बुटवल, सुर्खेत, धनगढी । सातवटै प्रदेशमा नयाँ मुख्यमन्त्री नियुक्त भएका छन् । बुधबार मधेश, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा नयाँ मुख्यमन्त्रीको नियुक्ति भएसँगै सातवटै प्रदेशमा नयाँ सरकार गठन भएको हो । सत्ता गठबन्धनको भागबण्डाअनुसार चारवटा प्रदेशमा एमाले, दुईवटामा माओवादी र एउटा प्रदेशमा जसपाले मुख्यमन्त्री पाएको छ ।

माओवादी र एमालेसहितको सत्तारूढ गठबन्धनमा भएको सहमतिअनुसार प्रदेश १ मा एमालेका हिक्मत कार्की यसअघि नै मुख्यमन्त्री नियुक्त भइसक्नु भएको छ । त्यहाँ माओवादीसँग आलोपालो हो कि पाँच वर्ष एकल सरकार एमालेको नेतृत्वमा हुने हो भन्ने सार्वजनिक भएको छैन । बागमती प्रदेश सरकारको नेतृत्व माओवादीका शालिकराम जमकट्टेलले पाइसक्नु भएको छ । यहाँ आधा कार्यकाल एमालेलाई दिने सहमति छ । गण्डकी प्रदेश सरकारको मुख्यमन्त्री एमालेका खगराज अधिकारी बन्नुभएको छ । यहाँ एमालेले पाँच वर्ष एकल नेतृत्व गर्ने भनिएको छ ।

मधेश प्रदेशको मुख्यमन्त्रीमा जनता समाजवादी पार्टी (जसपा) का संसदीय दलका नेता सरोज यादव नियुक्त हुनुभएको छ । उहाँलाई प्रदेश प्रमुख हरिशंकर मिश्रले संविधानको धारा १६८ को २ बमोजिम मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको हो । मधेश प्रदेश सभाका १०७ सदस्यमध्ये ६३ सांसदको हस्ताक्षरसहित यादवले बुधबार नै मुख्यमन्त्रीका लागि दाबी पेस गर्नुभएको थियो । यो प्रदेशसभामा बहुमतका लागि ५४ जना प्रदेशसभा सदस्यको आवश्यक पर्छ । उहाँलाई आफ्नै दल जसपाको १६, नेकपा एमालेका २३, जनमत पार्टीका १३, नेकपा माओवादी केन्द्रका नौ, राष्ट्रिय प्रजातन्त्र पार्टी र नेपाल संघीय समाजवादी पार्टीका एक/एक तथा स्वतन्त्र प्रदेशसभा सदस्य गरी ६३ जनाले समर्थन गरेका छन् । मुख्यमन्त्री नियुक्त हुनुभएका यादव मधेश प्रदेशका निवर्तमान सभामुखसमेत हुनुहुन्छ ।

यसैगरी, लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा एमालेका लीला गिरी नियुक्त हुनुभएको छ । प्रदेश प्रमुख अमिक शेरचनले गिरीलाई मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको हो । सत्ता गठबन्धनसहित लोसपाका तीन र स्वतन्त्र दुई सांसद गरी गिरीलाई ५८ जनाको समर्थन छ ।

लुम्बिनी प्रदेशमा एमालेका २९, माओवादी केन्द्रका १०, राप्रपाका चार, जसपा र जनमतका तीन/तीन, सिट छन् । नागरिक उन्मुक्तिसँग चार सिट र स्वतन्त्र दुईजना सांसद रहेका छन् । ८७ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ४४ सिट आवश्यक पर्छ । प्रदेशमा कांग्रेसका २७, लोसपाका तीन र नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाका एक÷एक सदस्य छन् । बिहीबार प्रदेश राजधानी राप्ती उपत्यकामा दिउँसो १ बजे शपथको कार्यक्रम छ ।

कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता राजकुमार शर्मा नियुक्त हुनुभएको छ शर्मालाई प्रदेश प्रमुख तिलक परियारले संविधानको धारा १६८ को २ बमोजिम बुधबार मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको हो । कर्णाली प्रदेशसभाको ४० जना सदस्यमध्ये २५ जना सांसदको हस्ताक्षरसहित शर्माले बुधबार नै मुख्यमन्त्रीका लागि दाबी पेस गर्नुभएको थियो । कर्णालीमा बहुमतका लागि २१ सिट आवश्यक पर्छ ।

शर्मालाई माओवादी केन्द्रका १३, नेकपा एमालेका १०, नेकपा एकीकृत समाजवादी र राष्ट्रिय प्रजातन्त्र पार्टीका एक/एकजना सदस्यले समर्थन गरेका छन् । प्रदेश सरकारको नेतृत्व माओवादी र एमालेले साढे दुई/दुई वर्ष गर्ने सहमति भएको छ ।

सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमाले संसदीय दलका नेता राजेन्द्रसिंह रावल नियुक्त हुनुभएको छ । प्रदेश प्रमुख देवराज जोशीले बुधबार रावललाई मुख्यमन्त्री नियुक्त गर्नुभएको हो । सत्तारूढ गठबन्धनबाट २९ सांसदको समर्थनसहित रावल मुख्यमन्त्री बन्नुभएको हो । रावललाई नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नागरिक उन्मुक्ति पार्टी र राप्रपाले समर्थन गरेका छन् । रावल नेकपा एमाले पोलिटब्युरो सदस्य तथा सुदूरपश्चिम प्रदेश सहइन्चार्जसमेत हुनुहुन्छ । उहाँ समानुपातिकबाट प्रदेशसभा सदस्य निर्वाचित हुनुभएको थियो ।

यस्तो छ नवनियुक्त मुख्यमन्त्रीहरूको राजनीतिक यात्रा

हिक्मत कार्की
२०२१ असोज ११ मा झापाको गौरादह नगरपालिका-३ मा जन्मिनुभएका प्रदेश १ का मुख्यमन्त्री हिक्मत कार्की विद्यालयमा अध्ययनरत रहँदै तत्कालीन नेकपा मालेको विद्यार्थी संगठन अनेरास्ववियुमा आबद्ध हुनुभएको हो । यसपछि देशभरि पञ्चायतविरोधी राजनीतिक गतिविधि तीव्र बनेपछि उहाँ सक्रियता साथ लाग्नुभएको हो । उहाँ २०५५ सालमा अनेरास्ववियुको केन्द्रीय अध्यक्ष हुनुभएको थियो । यसअघि क्याम्पसमा प्रारम्भिक कमिटी, काठमाडौं जिल्ला कमिटी, बागमती अञ्चल कमिटी, विद्यार्थी विशेष जिल्ला कमिटीको सचिव, उपत्यका समन्वय कमिटीको सदस्य र मेची अञ्चल समन्वय कमिटीको सदस्य लगायतका जिम्मेवारी उहाँले सम्हालिसक्नु भएको छ ।

कार्की २०७१ सालमा सम्पन्न भएको नेकपा (एमाले)-को नवौँ राष्ट्रिय महाधिवेशनबाट केन्द्रीय कमिटीमा प्रवेश गर्नुभएको हो । त्यस महाधिवेशनबाट केन्द्रीय कमिटीमा निर्वाचित भएपछि उहाँले २०७१-२०७३ सालसम्म मेची अञ्चल समन्वय कमिटीको इञ्चार्जको जिम्मेवारी बहन गर्नुभयो । पार्टीको संरचना २०७४ पछि संघीयता अनुसारको भएपछि उहाँले प्रदेश १ को प्रचार विभागको प्रमुखको भूमिका पनि निर्वाह गर्नुभयो ।

उहाँ २०७४ सालको प्रदेशसभा निर्वाचनमा झापा जिल्लाको प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर १ को (१) बाट प्रत्यक्ष निर्वाचित हुनुभयो । यसपछि २०७४ फागुन ३ गते कार्कीले प्रदेशको स्थापनाकालीन मन्त्रिपरिषद्मा आन्तरिक मामिला तथा कानुनमन्त्रीको जिम्मेवारी पाउनुभयो । उहाँ हाल नेकपा (एमाले)-को स्थायी कमिटी कमिटी सदस्य तथा प्रदेश नम्बर १ को सह-इञ्चार्जका भूमिकामा हुनुहुन्छ ।

सरोजकुमार यादव
वि.स.२०२८ माघ १० गते बाराको सिम्रौनगढ नगरपालिका-३ मा जन्मिनुभएका नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादव निरन्तर राजनीतिक पदमा रहँदै आउनुभएको छ । ०४८ सालबाट सदभावना पार्टीबाट राजनीति सुरु गर्नुभएका यादव ०५४ सालमा बाराको तत्कालीन हरिहरपुर गाविसको अध्यक्ष बन्नुभएको थियो । ०६४ सालको निर्वाचनमा उहाँ बारा निर्वाचन क्षेत्र १ बाट तत्कालीन सद्भावना पार्टीबाट संविधानसभा सदस्य हुनुभएको थियो । ०६६ सालमा वाणिज्य तथा आपूर्ति राज्यमन्त्री र ०६८ सालमा स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री बन्नुभएको थियो । २०७४ मा भएको प्रदेशसभा निर्वाचनमा उहाँ बारा निर्वाचन क्षेत्र १ को ‘ख’ बाट निर्वाचित हुनुभयो । त्यतिबेला राजपाबाट उहाँ निर्विरोध सभामुख पदमा चयन हुनुभएको थियो । २०७९ को निर्वाचनमा पुनः जसपाबाट सोही क्षेत्रमा प्रदेशसभा सदस्यमा चुनाव लडेर जित्नुभएका उहाँ मधेश प्रदेशको दोस्रो मुख्यमन्त्रीमा नियुक्त हुनुभएको हो ।

शालिकराम जम्मकट्टेल
बागमतीका नवनियुक्त मुख्यमन्त्री जम्मकट्टेलले २०४४ मा अखिल छैटौँमा आबद्ध भएर राजनीतिक जीवनको सुरुवात गर्नुभएको थियो । २०४८ सालबाट मजदुर आन्दोलनमा सक्रिय उहाँ माओवादीले थालेको जनयुद्धमा सुरुदेखि नै होमिनुभयो । २०६० बाट करिब एक दशक माओवादीको मजदुर संगठनको नेतृत्व सम्हाल्नुभएका जम्मकट्टेल २०६३ को आन्तरिक संसद् हुनुभयो भने २०६४ मा भएको पहिलो संविधानसभा निर्वाचनमा तत्कालीन एमालेका प्रभावशाली नेता राजेन्द्र पाण्डेलाई पराजित गर्दै विजयी बन्नुभयो ।

२०७० को दोस्रो संविधानसभामा उनै पाण्डेसँग पराजित जम्मकटेल त्यसयता भएको दुवै प्रदेशसभामा विजयी हुनुभएको छ । २०७४ मा भएको प्रदेशसभा निर्वाचनमा माओवादीबाट विजयी भएर संसदीय दलको नेता बन्नुभएका उहाँ प्रदेशको पहिलो मुख्यमन्त्री डोरमणि पौडेल नेतृत्वको सरकारमा आन्तरिक मामिला तथा कानुनमन्त्री तथा यसअघि कांग्रेसको नेतृत्वमा रहेको पाँचदलीय गठबन्धनको राजेन्द्र पाण्डे नेतृत्वको सरकारमा पनि कानुनमन्त्री नै बन्नुभएको थियो ।

खगराज अधिकारी
गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री अधिकारी एमाले स्थायी कमिटी सदस्य पनि हुनुहुन्छ । उहाँले स्कुल तहमै वामपन्थी विचारका शिक्षकबाट प्रभावित भएर राजनीति थाल्नुभएको हो । निमावि पढ्दै गर्दा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को सभापति बनेर राजनीतिक जीवनको खुड्किला चढ्न थाल्नुभयो । २०३६ सालयताका हरेक राजनीतिक आन्दोलनमा खगराजले कुनै न कुनै मोर्चाको नेतृत्वको गर्नुभएको छ ।

२०४६ को जनआन्दोलन सफल भएसँगै खगराज संसदीय चुनावमा होमिनुभयो । ०४८ मा कास्की १ मा तारानाथ रानाभाटसँग पराजित हुनुभएका खगराजले ०५१ सालमा संसद्को यात्रा तय गर्नुभयो । २०५६ र २०६४ मा हार बेहोर्नुभएका उहाँ २०७० मा सांसद भई स्वास्थ्य तथा जनसंख्या मन्त्रीसमेत बन्नुभयो । पछिल्लोपटक केपी ओली नेतृत्वको सरकारमा २०७८ साल जेठमा उहाँ १३ दिने गृहमन्त्रीसमेत बन्नुभएको थियो । एमालेले पूरै कार्यकालका लागि मुख्यमन्त्री पाएपछि मुख्यमन्त्री दाबी गर्दै आएका माओवादी संसदीय दलका नेता हरिबहादुर चुमानले असन्तुष्टि जनाउनुभएको थियो । गण्डकीमा माओवादीले सभामुख पद पाउने भएको छ ।

लीला गिरी
लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री लीला गिरी कम्युनिष्ट आन्दोलनमा चिनिएको नाम हो । गुल्मीको रुरु गाउँपालिका-५ बलेटक्सारमा वि.स. २०११ सालमा जन्मिनुभएका गिरी किसान आन्दोलनबाट कम्युनिष्ट आन्दोलनमा उदाउनुभएको हो । उहाँ १२ वर्षकै उमेरमा पञ्चायती व्यवस्थाविरुद्ध आन्दोलनमा सहभागी हुनुभयो । २०४९ सालमा बहुदलीय व्यवस्थापछि गठित तत्कालीन शंकरनगर गाउँ विकास समितिको जननिर्वाचित पहिलो गाविस अध्यक्षसमेत बन्नुभयो । २०६१ मा सम्पन्न पार्टी अधिवेशनबाट रुपन्देही जिल्ला कमिटी सचिव बन्नुभएका गिरी तत्कालीन राजा ज्ञानेन्द्रले सत्ता कब्जा गरेपछि त्यसको विरोधमा लागेपछि २०६१ माघमा तीन महिना जेल पर्नुभयो । २०६६ सालदेखि २०६९ सम्म एमाले रुपन्देहीको अध्यक्ष बन्नुभयो । २०७१ साल असार १९ गतेदेखि २५ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा सम्पन्न पार्टीको नवौँ महाधिवेशनबाट केन्द्रीय कमिटी सदस्यमा निर्वाचित हुनुभयो । २०७८ साल मंसिर १० गतेदेखि १२ गतेसम्म चितवनमा भएको पार्टीको दशौँ राष्ट्रिय महाधिवेशनबाट भने उहाँ नेकपा एमालेको पोलिटब्युरो सदस्यमा निर्वाचित हुनुभयो । गिरी हाल लुम्बिनी प्रदेशका सह-इञ्चार्ज पनि हुनुहुन्छ । नेकपा एमालेभित्र अत्यन्त सरल नेताका रूपमा चिनिने गिरी पार्टीबाहिर पनि जीवनभर निष्ठाको राजनीति गर्ने इमानदार नेता र समाजसेवीको रूपमा चिनिनुहुन्छ ।

२०७४ साल मंसिर २१ गते सम्पन्न पहिलो प्रदेशसभा निर्वाचनमा रुपन्देहीको क्षेत्र नं २ (१) बाट प्रदेशसभा सदस्यमा निर्वाचित हुनुभएका गिरी शंकर पोखरेल नेतृत्वको सरकारमा उद्योग वन, पर्यटन, वातावरणमन्त्री बन्नुभएको थियो । गत मंसिर ४ गते सम्पन्न प्रदेशसभा निर्वाचनमा पनि रुपन्देहीको क्षेत्र नं. २ (१) बाट कांग्रेस नेतृत्वको गठबन्धनलाई पराजित गर्दै प्रदेशसभा सदस्यमा निर्वाचित गिरी प्रादेशिक संरचनापछि गठन हुने लुम्बिनी प्रदेशको चौथो मुख्यमन्त्रीका रूपमा नियुक्त हुनुभएको हो ।

रामकुमार शर्मा
कर्णालीका नवनियुक्त मुख्यमन्त्री रामकुमार शर्मा २०२८ सालमा रुकुमको चौरजहारी नगरपालिकाको खोलागाउँमा जन्मिनुभएको हो । २०४१ सालमा स्कुल पढ्दै शर्मा अनेरास्ववियुको राजनीतिमा संलग्न हुनुभयो । त्यसलगत्तै २०४७ सालदेखि शर्मा मसालको पूर्णकालीन रूपमा राजनीतिमा होमिनुभयो । २०५०/५१ सालमा जनयुद्धको आधार तयार गर्न रुकुममा सञ्चालित ग्रामीण वर्गसंघर्ष तथा थुप्रै जनसंघर्षका कामको शर्माले नेतृत्व लिनुभएको थियो । माओवादी जनयुद्धको बेला उहाँले विभिन्न जिल्लामा कमान्डरको भूमिका निर्वाह गर्नुभयो ।

गणतान्त्रिक मञ्चको केन्द्रीय अध्यक्ष भइसक्नु भएका शर्मा २०७४ सालमा जिल्ला समन्वय समिति रुकुम पश्चिमको प्रमुख हुनुभएको थियो । नेकपा माओवादी केन्द्र रुकुम पश्चिमको इञ्चार्ज रहनुभएका उहाँ २०७८ मा भएको पार्टी महाधिवेशनपछि पोलिटब्युरो सदस्य चयन हुनुभएको छ । त्यस्तै, २०७८ मै पार्टीको कर्णाली प्रदेश अध्यक्ष बन्नुभयो । उहाँका समकालीन एवं सहकर्मीहरू थुप्रैले राज्य सञ्चालनका थुप्रै अवसर पाए पनि हालसम्म विशेष अवसर र सुविधाको पद धारण नगर्नुभएका शर्माले २०७९ मंसिर ४ मा भएको निर्वाचनबाट प्रदेशसभा यात्राको पहिलो प्रयासमै कर्णालीको मुख्यमन्त्री हुने मौका पाउनुभएको छ ।

राजेन्द्र रावल
२०२१ साल जेठमा बैतडी जिल्लाको हालको दशरथचन्द नगरपालिका-५ मार्कण्ड गाउँमा जन्मिनुभएका सुदूरपश्चिमका नवनियुक्त मुख्यमन्त्री राजेन्द्र रावलले बौद्धिक परिचय पनि बनाउनुभएको छ । रावल लेखक तथा साहित्यकारका रूपमा पनि क्रियाशील हुनुहुन्छ । ०३६ सालमा आफू एसएलसी दिने तयारीमा रहँदा दाजु जेलमा परेपछि रावलको राजनीतिक क्रियाकलापमा सक्रियता बढेको थियो ।

०४१ मा केही समय अध्यापन गराउँदै शिक्षक संगठनले सञ्चालन गरेका आन्दोलनहरूमा पनि अग्रपंक्तिमै रहनुभयो । रावल ०५१ मा कञ्चनपुरमा एमालेको संगठन विभागको संयोजक हुनुभयो । तत्कालीन पार्टी कमिटीको अञ्चल सदस्य हुँदै, केन्द्रीय सदस्य, स्कुल विभाग प्रमुख, नेकपा कालमा प्रदेश कमिटी सचिव हुनुभएका रावल हाल पार्टीको पोलिटब्युरो सदस्य तथा सुदूरपश्चिम प्रदेश कमिटीमा सहइञ्चार्ज हुनुहुन्छ । मुख्यमन्त्री रावलसँग यसअघि निर्वाचित जनप्रतिनिधिका रूपमा ०५४ सालमा पाँच वर्षे अवधि कञ्चनपुरमा तत्कालीन जिल्ला विकास समितिको उपसभापति भएर कामकाज गरेको अनुभव छ । तत्कालीन जिविस उपसभापति भएर कार्यानुभव गर्ने मौकाबाहेक अन्य पद प्राप्तिको अवसर भने उहाँले पाउनुभएको छैन ।

प्रतिनिधिसभामा प्रत्यक्षमा लड्न चाहनुभएका रावलको नाम एमालेले सुदूरपश्चिम प्रदेश समानुपातिकतर्फ खसआर्य क्लष्टरअन्तर्गत पुरुषहरूमा पहिलो नम्बरमा सिफारिस ग¥यो । अन्ततः समानुपातिकबाट सांसद हुँदै मुख्यमन्त्री हुने अवसर पाउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?