सभामुख/उपसभामुख चयनबारे अन्य दलहरूसँग छलफल गर्ने कांग्रेसको निर्णय

समन्वय गर्ने जिम्मा सभापति देउवालाई

अनिल क्षेत्री
Read Time = 11 mins

काठमाडौं । नेपाली कांग्रेसले माघ ५ गते हुने प्रतिनिधिसभाको सभामुख र उपसभामुख निर्वाचनको तयारीबारे अन्य दलहरूसँग छलफल गर्ने निर्णय गरेको छ । पार्टी सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा बिहीबार बसेको पदाधिकारी बैठकले सभामुख/उपसभामुख निर्वाचनबारे छलफल गर्दै कांग्रेसबाट उम्मेदवार उठाउने/नउठाउने विषयमा अन्य दलहरूसँग समन्वय गर्ने जिम्मा सभापति देउवालाई दिने निर्णय गरेको हो ।

यस्तै, प्रदेश सभामुख र उपसभामुख निर्वाचनबारे निर्णयको अधिकार प्रदेश कार्यसमितिलाई दिने निर्णय पनि पदाधिकारी बैठकले गरेको छ । पदाधिकारी बैठकको निर्णयबारे जानकारी दिँदै सहमहामन्त्री बद्री पाण्डेले पार्टीको एक्लै मतले जित्ने अवस्था नरहेकाले सभामुखमा उम्मेदवारी दिने/नदिनेबारे संसद्मा भएका सत्ता पक्ष र अरू दलहरूसँग पुगेर निर्णय गर्ने बताउँदै भन्नुभयो, ‘एक्लै हाम्रो मतले जित्ने अवस्था छैन । त्यसैले संसद्मा भएका सत्ता पक्ष र अरू दलहरूसँग पुगेर निर्णय गर्छौं । आफूले उम्मेदवारी कुन पदमा दिने र अरू दलहरू को कोसँग सहकार्य हुनसक्छ भनेर अब हामी छलफल गर्छौँ ।’

सभामुखको निर्वाचन माघ ५ गते तय गरिएको छ । उम्मेदवारी मनोनयन दर्ताको समय माघ ३ गते तोकिएको छ । सत्तारूढ सातदलीय गठबन्धनमा सभामुख एमालेलाई दिने सहमति भइसकेको छ । तर, एमालेबाट सभामुखको उम्मेदवार हुने सांसदको तय भइसकेको छैन । सभामुख र उपसभामुखको निर्वाचनलाई मध्यनजर गरेर कांग्रेसले माघ ९ गते अघि सांसदहरूलाई उपत्यका नछोड्न उर्दी जारी गरेको छ ।

बैठकमा पार्टी केन्द्रीय समिति बैठकअघि नै भ्रातृ संगठनहरूलाई पूर्णता दिने विषयमा पनि छलफल भएको छ । कांग्रेसको महिला संघ, तरुण दल, नेविसंघ लगायतमा अध्यक्ष मात्रै नियुक्त गरिएको छ । अन्य पदाधिकारी तोकिन बाँकी छ । कांग्रेसले आउँदो माघ १५ गते केन्द्रीय कार्यसमिति बैठक बोलाएको छ । पहिले २२ पुस र २८ पुसमा बस्ने भनिएको बैठक माघमा सारिएको हो । बैठकमा चुनावी समीक्षा, पार्टीको सांगठनिक अवस्था, पछिल्लो राजनीतिक परिस्थिति लगायतका विषयमा छलफल हुने एजेण्डा तय गरिएको छ ।

कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिएर प्रतिपक्षमा बस्ने निर्णय गरेपछि चौतर्फी आलोचना भइरहेको छ । पार्टी कार्यसम्पादन समितिको बैठकमै महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासहित पाँच नेताले फरक मत राख्नुभएको थियो । सभापति देउवाले विश्वासको मत दिएर रचनात्मक प्रतिपक्षमा भूमिका निर्वाह गर्ने निर्णय गराउनुभएको थियो । आलोचनाकै बीचमा देउवाले पदाधिकारी बैठक बोलाउनुभएको हो । बैठकमा समसामयिक विषयमा समेत छलफल भएको बताइएको छ ।

राष्ट्रपतिको चुनाव हेरेर प्रचण्डलाई विश्वासको मत दियौँ : डा.कोइराला
नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनलाई हेरेर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिएको बताउनुभएको छ । बिहीबार विराटनगरमा पत्रकारसँग कुरा गर्दै डा.कोइरालाले निर्वाचन अझै बाँकी रहेको र ती निर्वाचनलाई हेरेर प्रधानमन्त्रीलाई विश्वासको मत दिएको बताउनुभएको हो । प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिएको विषयमा नेतृत्वको आलोचना भइरहेको बेला डा.कोइरालाले भन्नुभयो, ‘सभामुख/उपुभामुखको कुरा गरिसकेको छैन, अरू निर्वाचनहरू पनि बाँकी छ । ती निर्वाचनमा हामीहरू उम्मेदवार दिन्छौँ । राष्ट्रपतिको निर्वाचन, उपराष्ट्रपतिको निर्वाचनमा प्रदेशका सांसदले पनि भोट हाल्नुहुन्छ, यो सबैलाई विचार गरेर हामीले भोट हालेका हौँ ।’

पार्टीभित्र संस्थापनइतर समूहको नेतृत्व गरिरहनु भएका डा.कोइरालाले ती निर्वाचनमा माओवादीले कांग्रेसका उम्मेदवारलाई साथ दिने ग्यारेन्टी नभएको, तर पार्टीले मतको आशा भने गर्न पाउने बताउँदै भन्नुभयो, ‘हामीले आफ्नो उम्मेदवार दिँदा सहयोग हुन्छ कि भन्ने सोच त बनाउँछ नि पार्टीले ।’

आफूले पार्टीको बैठकमा प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिनुभन्दा तटस्थ बस्नुपर्ने मत राखेको जानकारी दिँदै डा.कोइरालाले भन्नुभयो, ‘प्रचण्डलाई विश्वासको मत दिनुपर्छ भन्ने एउटा विचार आयो भने सँगसँगै प्रतिपक्षमा बस्नुपर्छ भन्ने अर्को विचार पनि आयो । यसरी दुईवटा विचार आएपछि यस्तो विषयमा विवाद गर्नुहुन्न त्यसैले हामीले बीचको बाटो लिनुपर्छ र हामी तटस्थ भन्ने आफ्नो विचार राखेँ । पार्टीले निर्णय गरेपछि मत त हाल्नैप¥यो तर पनि हामी तटस्थ बस्नुपथ्र्यो भन्नेमा म अहिले पनि छु ।’

प्रधानमन्त्रीलाई विश्वासको मत दिए पनि कांग्रेस हामी सत्ता पक्ष नभई प्रतिपक्ष नै भएको जिकिर गर्दै डा.कोइरालाले संसद्मा प्रभावकारी प्रतिपक्षको भूमिका खेल्ने बताउनुभयो ।

पुरानै गठबन्धन ब्युताउने कांग्रेसको प्रयास जारी
प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत लिन सुविधाजनक बहुमत हुँदाहुँदै पनि मत दिएको नेपाली कांग्रेसले पुरानै गठबन्धन फर्काउने प्रयास गरिरहेको छ । अर्कोतिर एमाले नयाँ गठबन्धनलाई कुनै पनि हालतमा पाँच वर्षसम्म लैजाने रणनीतिमा छ । तर, प्रधानमन्त्रीसहित जिम्मेवार नेताहरूको अभिव्यक्तिका कारण वर्तमान सत्ता गठबन्धनमा आशंका बढ्दै गएको छ । संसद्मा विश्वासको मत माग्ने प्रस्तावमाथिको छलफलका क्रममा प्रधानमन्त्री प्रचण्डले सत्तारूढ गठबन्धनमा थुप्रै विमति रहेको र सत्ताबाहिर रहेका दलहरूसँग विगतका सहमति कायम रहेको बताउनुभएको थियो । प्रचण्डले गठबन्धनको मुख्य दल एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसद् विघटन प्रतिगमन होइन भन्दै दिएको अभिव्यक्तिमा पनि जवाफ दिनुभएको थियो ।

प्रचण्डले विघटनको विषय गठबन्धनभित्रको नभएको भनेर त्यसको जिम्मेवारी नलिने स्पष्ट संकेत गरिसक्नु भएको छ । प्रचण्डको संसद् विघटनको जिम्मा गठबन्धनले नलिने र गठबन्धनबाहिरका दलहरूसँग भएका सहमति कायमै रहेको भन्ने अभिव्यक्तिले कांग्रेसको प्रयासमा बल पुगेको छ । संसद् विघटनविरुद्ध तत्कालीन माओवादी केन्द्र, एमालेभित्रकै माधव नेपाल समूह, जनता समाजवादी पार्टी (जसपा)सहितका पार्टीहरूको समर्थनमा कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्नुभएको थियो । त्यहीबेला बनेको पाँचदलीय गठबन्धन यही पुस १० गते कांग्रेस सभापति देउवाले प्रचण्डलाई प्रधानमन्त्री बनाउन नमानेपछि भत्किएको थियो । सभापति देउवाले गठबन्धन भत्किनुमा आफ्नो गल्ती भएको स्वीकार गरिसक्नु भएको उहाँ निकटकै नेताहरूको दाबी छ ।

बागमतीको सभामुखमा कांग्रेसको उम्मेदवारी
बागमती प्रदेशसभाको सभामुखमा नेपाली कांग्रेसले उम्मेदवारी मनोनयन दर्ता गरेको छ । नेपाली कांग्रेसका बागमती प्रदेश सांसद शिवराज अधिकारीले मनोनयन दर्ता गर्नुभएको हो । बागमती प्रदेश कांग्रेस संसदीय दलले समानुपातिकतर्फबाट निर्वाचित धादिङका अधिकारीलाई सभामुखको उम्मेदवार बनाउने निर्णय गरेको थियो । संसदीय दलको निर्णयअनुसार अधिकारीले उम्मेदवारी दर्ता गर्नुभएको हो ।

अधिकारीको प्रस्तावकमा कुन्दनराज काफ्ले र रामकृष्ण चित्रकार समर्थक रहनुभएको छ । सत्ता साझेदार दलहरूको तर्फबाट भने राप्रपाका भुवन पाठकले उम्मेदवारी दिनुभएको छ ।

सत्ता गठबन्धनबीच मुख्य पदहरू भागबण्डा गर्दा बागमती प्रदेशको सभामुख राप्रपाले लिने सहमतिअनुसार बुधबार राप्रपाले पाठकलाई सभामुखको उम्मेदवार बनाउने निर्णय गरेको थियो । सत्ता साझेदार पाँच दलसँग ७० सांसद रहेका छन् भने सबैभन्दा ठूलो दल भएर पनि सत्ताबाहिर रहेको नेपाली कांग्रेससँग ३७ सांसद छन् । तीनजना मात्र सांसद रहेको नेमकिपाबाट सृजना सायजुले सभामुखमा उम्मेदवारी दर्ता गराउनुभएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?