‘ए’ डिभिजन लिगको उद्घाटन खेलमा खुमलटार र फ्रेण्ड्स भिड्ने

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । शहीद स्मारक ‘ए’ डिभिजन लिगको उद्घाटन खेलमा नवप्रवेशी खुमलटार युवा क्लब र फ्रेण्ड्स क्लब भिड्ने भएका छन् । दशरथ रंगशालामा फागुन १९ गते सुरु हुने लिगको उद्घाटन खेलमा यी दुई क्लब भिड्ने भएका हुन् । खेल साँझ ५ः३० बजे हुनेछ । अखिल नेपाल फुटबल संघले पहिलो पाँच चरणको खेलतालिका सार्वजनिक गरेको छ । यसपटक चर्च ब्वाइज युनाइटेड फुटबल क्लब र एफसी खुमलटारले शीर्ष डिभिजनको लिगमा डेब्यु गर्नेछ ।

नवप्रवेशी चर्च ब्वाइजले पहिलो खेलमा नेपाल पुलिस क्लबसँग फागुन २० गते खेल्नेछ । सोही दिन नेपाल एपिएफ क्लब र थ्रीस्टार तथा मनाङ मस्र्याङ्दी क्लब र हिमालय शेर्पा क्लबबीच खेल हुनेछ । दशरथ रंगशाला, एन्फा कम्प्लेक्स र च्यासल मैदानमा गरी तीन ठाउँमा खेल हुनेछन् । दिनमा तीनवटासम्म खेलहरू रहेका छन् ।

फागुन २१ गते न्युरोड टिम र सातदोबाटो, आर्मी र संकटा, मच्छिन्द्र र जावलाखेलबीच भिडन्त हुनेछ । डबल लिग हुने भएकाले कुल १८२ खेल हुनेछन् । सबै क्लबले लिगमा एकअर्कासँग होम र अवेका आधारमा दुईपटक खेल्नेछन् । प्रत्येक क्लबले लिगभर २६ खेल खेल्नेछन ।
लिगको तयारीको खर्चमध्ये १५ लाख रुपैयाँ सहभागी १४ ‘ए’ डिभिजन क्लबले बुझिसकेका छन् । यसपटक ३२ लाख ५० हजार रुपैयाँ हरेक क्लबले तयारीबापत पाउने एन्फाले जनाएको छ । दशरथ रंगशालामा सुरु हुने लिगका लागि एन्फाले भिआइपी प्यारापिटतर्फ ३ सय र साधारण प्यारापिटतर्फ एक सय रुपैयाँ टिकटको मूल्य यसअघि नै तोकिसकेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?