हत्या अभियुक्त सांसद संसद्‌मा : गृहमन्त्री निर्देशन दिने, प्रहरी पक्रिन नसक्ने

डिबी शर्मा
Read Time = 7 mins

काठमाडौं । सशस्त्र प्रहरीका सहायक निरीक्षक थमन विकको हत्या अभियोग लागेका सांसद लक्ष्मी महतोलाई प्रहरीले पक्राउ गर्न सकेको छैन । कोइरी महतो पटक-पटक संसद् बैठकमा समेत उपस्थित हुने गरेका छन् । ज्यान मुद्दामा ‘फरार अभियुक्त’को सूचीमा रहेका नेकपा एमालेका सांसद कोइरी संसद्मा उपस्थित हुनेगरेको भए पनि प्रहरीले भने पक्राउ गर्न सकेको छैन वा चाहेको छैन । कोइरी महोत्तरी-२ बाट निर्वाचित भएका हुन् । कोइरीले पुस २६ मा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मतसमेत दिएका थिए । उनलाई पक्राउ गर्नुपर्ने आवाज संसद्मै उठिहरेको छ ।

संसद्‌मै हत्या अभियुक्त सांसद पक्राउ गर्नुपर्ने आवाज उठेपछि उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले पक्राउ गरी कानुनी कारबाही अघि बढाउन निर्देशन दिनुभएको थियो । तर उनी पक्राउ परेका छैनन् । बरू संसद् बैठकमा नियमित जस्तो उपस्थित हुने गरेका छन् । यसले गृहको निर्देशन र प्रहरीको कार्यशैलीमाथि नै प्रश्न उठेको छ । महतोमाथि २०७२ सालमा भएको मधेस आन्दोलनका क्रममा सशस्त्र प्रहरीका असई थमन विकको हत्या गरेको अभियोग छ । विकको हत्यासम्बन्धी मुद्दामा उच्च अदालतबाट थुनामा राख्न आदेश सुनाइएका व्यक्ति कोइरीलाई जिल्ला अदालत महोत्तरीले ०७६ असोजमा एक लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश दिएको थियो । जनकपुर उच्च अदालतले २०७७ मंसिर १९ मा जिल्लाको आदेश उल्ट्यायो र कोइरीलाई थुनामै राखेर मुद्दा अघि बढाउन आदेश दिएको थियो । त्यसयता कानुनको नजरमा फरार उनी कानुन निर्माण गर्ने थलोमा निर्वाचित भएका छन् ।

कांग्रेस सांसद खतिवडाको प्रश्न- गृहमन्त्रीलाई प्रहरी प्रशासनले टेर्न छोडेको हो ?
नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले हत्यारा करार गरिएका एमाले सांसद लक्ष्मी कोइरी महतोलाई पक्राउ गर्न नसकेको भन्दै आपत्ति जनाउनुभएको छ । गृहमन्त्री लामिछानेले संसद्मा आफूसँगै उपस्थित एमाले सांसद महतोलाई पक्राउ गर्नुको साटो गृहमन्त्री लामिछानेले प्रेस विज्ञप्ति निकाल्न लगाएर केटाकेटीपन प्रदर्शन गरेको भन्दै आक्रोश व्यक्त गर्नुभयो । शनिबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद खतिवडाले गृहमन्त्री लामिछानेलाई प्रहरीले टेर्न छोडेको हो ? भन्दै प्रश्नसमेत गर्नुभयो । ‘भर्खरै गृह मन्त्रालयका एउटा पत्र सार्वजनिक भएको सूचना आयो । नेपालको इतिहासमा अपराधीलाई खोज्दै जाँदा प्रेस विज्ञप्ति निकालरे खोज्दै जाने परम्पराको सुरुवात भएको छ । गृह, परराष्ट्र मन्त्रालय, रक्षा मन्त्रालयजस्तो संवेदनशील मन्त्रालयमा कतिपय विषयमा प्रेस विज्ञप्तिमार्फत् अपराधी खोज्ने परिपाटीको विकास भयो भने मुलुक कहाँ जाने हो ?’ उहाँले भन्नुभयो, यो बडा चिन्ताको विषय बनेको छ । गृहमन्त्रीज्यूले केटाकेटीपनको प्रदर्शन गर्नु भएन । के देशको गृहमन्त्रीलाई प्रहरी प्रशासनले टेर्न छोडेको हो ? मौखिक सूचना दिँदा कोही अपराधीलाई पक्राउ नगर्ने परम्पराको सिर्जना भएको हो ?’ सांसद खतिवडाले गृहमन्त्री लामिछानेको पासपोर्ट छानविनको विषय पनि संसद्लाई जानकारी गराउन माग गर्नुभयो ।

पुराना फरारहरू समातिन्छन् मात्र होइन धेरै नयाँहरू फरार हुन नपाउन् भन्ने कुराको हेक्का छ : गृहमन्त्री लामिछाने
उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले मिडियाका हेडलाइन बदल्न नसके पनि जनताको लाइफलाइन बदल्न मिहिनेत गर्ने बताउनुभएको छ । उहाँले नतिजाका लागि केही समय पर्खिनुपर्ने समेत बताउनुभयो । ‘मिडियाको हेडलाइन म बदल्न सक्दिनँ तर, जनताको लाइफलाइन बदल्न मिहिनेत गर्दैछु,’ उहाँले भन्नुभएको छ, ‘धुलो धेरै छ, पुरानो छ । थोरै पर्खिनु चाहिँ पर्छ ।’ विगतमा बोलेका र चुनावी वाचाहरू आफूलाई हेक्का भएको पनि उहाँको भनाइ छ । पुराना फरारहरू समातिनेमात्रै होइन धेरै नयाँहरू फरार हुन नपाउन् भन्ने कुराको हेक्का भएको उहाँले बताउनुभयो । ‘पुराना फरारहरू समातिन्छन् मात्र होइन धेरै नयाँहरू फरार हुन नपाउन् भन्ने कुराको हेक्का छ,’ उहाँले अगाडि भन्नुभएको छ, ‘हिजो बोलेका शब्द शब्दको हेक्का छ, भोट माग्दा गरेका वाचाहरूको हेक्का छ ।’ गृहमन्त्री लामिछानेले लक्ष्मी महतो कोइरी प्रकरणमा छिट्टै रिजल्ट आउने दाबीसमेत गर्नुभयो । शनिबार संसद् बैठकपछि गृहमन्त्री लामिछानेले यसमा छिट्टै रिजल्ट आउने बताउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?