रेमिट्यान्स व्यवस्थापन गर्न नीतिगत सुधारमा जोड

फाईल फाेटाे

Read Time = 6 mins

काठमाडौं । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले रेमिट्यान्स व्यवस्थित गर्न नीतिगत तथा कानुनी सुधारका लागि सरकार तयार रहेको बताउनुभएको छ ।

प्रवासी नेपाली मञ्च अमेरिकाद्वारा शनिबार राती आयोजित रेमिट्यान्स एण्ड इन्भेष्टमेन्ट इन नेपाल विषयक कार्यक्रमलाई भर्चुअल माध्यमबाट सम्बोधन गर्दै उहाँले रेमिट्यान्स वैधानिक च्यानलबाट भित्र्याउन र उत्पादनमूलक क्षेत्रमा लगानी गर्ने अनुकूल वातावरण तयार पार्न आवश्यक सहयोगका लागि सरकार तत्पर रहेको बताउनुभएको हो ।

अर्थमन्त्री पौडेले भन्नुभयो, ‘रेमिट्यान्स जति जेनरेट हुने गरेको छ, त्यसको ठूलो हिस्सा लिगल च्यानलबाट भित्र्याउन सकेका छैनौँ । लिगल च्यानलबाट भित्र्याउनका लागि लिनुपर्ने नीति, गर्नुपर्ने निर्णय वा दिनुपर्ने प्रोत्साहनका कार्यक्रम अघि सार्न सरकार तयार छ ।‘
रेमिट्यान्सलाई उत्पादन क्षेत्र, निर्माण क्षेत्रमा र रोजगारीका नयाँ-नयाँ अवसर सिर्जना गर्ने क्षेत्रमा लगानी गर्न सकिने भन्दै उहाँले त्यसका लागि नीतिगत र कानुनी क्षेत्रमा देखिएका समस्यालाई परिमार्जन र सुधार गर्दै जाने बताउनुभयो । गैरआवासीय नेपालीले उठाएको नागरिकतासम्बन्धी चासोप्रति सरकारको ध्यानाकर्षण भएको बताउँदै अर्थमन्त्री पौडेलले भन्नुभयो, ‘गैरआवासीय नेपालीहरूको आर्थिक तथा सामाजिक अधिकारसहितको नागरिकता प्राप्त गर्ने संविधानमा हामीले जुन प्रबन्ध गरेका छौँ, त्यो छिट्टै पूरा गर्ने गरी हामी अघि बढेका छौँ । त्यसबाट सहज ढंगले नागरिकता प्राप्त गर्न सक्ने र नेपालमा लगानी गर्न थप अनुकूल परिस्थिति सिर्जना हुनेछ ।‘ वैदेशिक लगानी तथा प्रविधिसम्बन्धी ऐेनले गैरआवासीय नेपालीलाई विदेशी नागरिकसरह लिएको विषयप्रति गैरआवासीय नेपालीले ध्यानाकर्षण गराएको जानकारी दिँदै उहाँले त्यसलाई सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । गैरआवासीय नेपालीले नेपालमा आउँदा भिसा लिनुपर्ने विषयमा पनि ध्यान गएको भन्दै अर्थमन्त्री पौडेलले गैरआवासीय नेपालीको नागिरकतासम्बन्धी विषय समाधानसँगै सो समस्या पनि समाधान हुने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘नेपालको आर्थिक विकासमा प्रवासमा रहनुभएका प्रवासी नेपालीको अन्यन्तै ठूलो योगदान छ । आउने दिनमा अझ प्रभावशाली हुनेछ भन्ने अपेक्षा गर्न चाहन्छु, रेमिट्यान्सका कोणबाट मात्र होइन, वैदेशिक लगानीका निम्ति पनि नेपालको सद्भावनादूतका रूपमा प्रत्येक प्रवासी र गैरआवासीय नेपालीले भूमिका खेलिदिनुस् भन्ने अपेक्षा गर्न चाहन्छु । नेपाल लगानीका लागि सुरक्षित स्थान हो । प्रतिफल दिने स्थान हो । त्यो सन्देश संसारभरका लगानीकर्ताबीचमा पुर्‍याइदिनुहोस् भन्ने आग्रह छ ।’

नेपालमा राजनीतिक स्थायित्वका बारेमा गैरआवासीय नेपालीले चिन्ता गर्ने गरेको सन्दर्भमा स्पष्ट पार्दै अर्थमन्त्रीले भन्नुभयो, ‘कुनै पार्टीको बहुमत भएन भने सहकर्मीहरू खोजेर राजनीतिक स्थायित्व गर्नुपर्ने र त्यसलाई अघि बढाउनुपर्ने विशिष्ट अभिभारा नेपाली राजनीतिज्ञ र पार्टीहरूका सामु छ किनभने स्थायित्व विकास, समृद्धि र समाजवादको पूर्व शर्त बनेको छ ।‘

कार्यक्रमका सहभागीहरूले रेमिट्यान्सले नेपालको अर्थतन्त्रमा महत्वपूर्ण योगदान पुर्‍याएको भन्दै नेपालको अर्थतन्त्रलाई मजबुत पार्न कृषि, पर्यटन, ऊर्जा, पूर्वाधार, मानवीय संसाधन, औद्योगीकरण, सेवा क्षेत्र, सामाजिक सुरक्षालगायतमा जोड दिनुपर्ने बताएका थिए ।

यसैबीच सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मा तथा अर्थमन्त्री विष्णु पौडेलबीच बजेटबारे छलफल भएको छ । मन्त्री शर्माले स्वास्थ्य र विकास निर्माणमा बजेट विनियोजन गर्न माग गर्नुभएको छ । आइतबार अर्थमन्त्री पौडेल निवासमा भएको छलफलमा उहाँले दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबिबिएस पढाइ सञ्चालन गर्न बजेट माग गर्नुभएको बताइएको छ । साथै घोराही तुलसीपुर सडक खण्डको फोर लेन सडक र दाङको टरिगाउँ एयरपोर्टमा ७२ सिटे जहाज सञ्चालन, दाङ खण्डको हुलाकी राजमार्ग छिटो बनाउन पनि मन्त्री शर्माले अर्थमन्त्रीको ध्यानाकर्षण गराउनुभएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?