विवेकहीन समाज र राज्यलाई प्रेमप्रसादको चुनौती

Read Time = 10 mins

राजधानीको मुटु, सार्वभौम जनताको सार्वभौम अधिकार प्रयोगस्थल, सुरक्षाकर्मीको बाक्लो उपस्थिति । यो दृश्य हेर्ने, सुन्ने र बुझ्ने सबैले सवार्धिक महत्वपूर्ण सुरक्षित स्थान अनुभव गर्दछ तर त्यस्तो भएन । बानेश्वरस्थित संसद् भवनको ढोकामा अन्यायको, उत्पीडनको समग्रताको भारी बोकेर सुदूरपूर्व इलामबाट आएको हतास, निराश एकजना युवा उद्यमीले आत्मदाह गरे । आत्महत्या जुन रूपमा गरे पनि निरासाको उत्कर्ष हो । निरास मानिस कि जोगी हुन्छ अथवा आत्महत्या गर्छ भन्ने भनाइ हामीले सुन्दै आएका हौँ । तर, आत्महत्या गर्नसमेत यति भयानक र क्रूर मार्ग अवलम्बन हुन्छ भनेर सामान्यतया कल्पनासमेत गर्न सकिँदैन ।

त्यही कल्पनातीत तरिका अवलम्बन गरे प्रेमप्रसाद आचार्यले । एक वर्गको पुरातन समाजले परम्परा बनाएको सतीप्रथाको विभत्सतालाई पुनस्मरण हुने गरी समाजको, राज्यको, धनाड्य वर्गको, पारिवारिक अविवेकको समवेत क्रियाको प्रतिरोधका रूपमा प्रेमप्रसादको आत्मदहन हुन पुगेको छ । यो आत्मदहनले नेपाली समाजमा रहेको अन्याय र अविवेकलाई निर्वस्त्र पारेको छ । लुटतन्त्रको पर्दाफास गरेको छ, शोषणको पराकाष्ठालाई उद्घाटित गरेको छ, तथाकथित सुकिला र समृद्ध साहुमहाजनका काला कर्तुतहरूलाई समाजका सामु छताछुल्ल पारेको छ । यो एकजना निरास मानिसको पराजयको कथा, आत्महाराको वकपत्र, कायर मानिसको पराजित मानसिकता, अमानवीय कृत्यको उदाहरण भनेर पन्छाइने विषय होइन ।

मानवतालाई पूर्ण कम्पित गराउने, झकझोर पार्ने र आत्मस्लाघामा बाँचिरहेको अभिनय गर्ने समाजको सम्पूर्ण संयन्त्रका विरुद्ध बलिदानको उद्घोष हो । हिजोका दिनमा योगमायाले सामूहिक जलसमाधिमार्फत अन्यायी राज्य, मूकदर्शक र परपीडक समाजलाई ब्युँझाउने प्रयास गरेको कथा हामीले पढिरहेका थियौँ । अहिले पनि अनेक आत्मदाहका समाचारहरू सुनिरहेका हुन्छौँ । अझ थप विवाहको, दाइजोको, अन्य पारिवारिक प्रताडनाको, असफलताको अनेक घटनामा मानिसहरूले आत्मदाह गरेको सुनिन्छ । तर, तीभन्दा नितान्त भिन्न कथाका साथ प्रेमप्रसादले आत्मदाह गरेको देखिएको छ । कुनै एक पक्षको पीडा होइन, खास एउटा घटनाबाट विचलित भएर होइन, दुःखबाट पलायन हुन निष्क्रिय जीवन त्याग गर्ने सोच भएर होइन राष्ट्रको सम्पूर्ण मुटु छामेर मात्रै उनले यो निर्णय लिएको अनुमान गर्न सकिन्छ ।

बानेश्वर घटनामा सुरक्षाकर्मीहरूको उदासीनता अत्यन्त खेदजनक छ । चारैतिर सुरक्षाकर्मीको घेरामा एकजना मानिस आउँछन्, शरीरमा पेट्रोल खन्याउँछन्, आगो लगाउँछन् र चिच्याउन लाग्छन् । त्यसबेलासम्म सुरक्षाकर्मीहरू र जम्मा भएको भीड रमिते जस्तो हुनु आश्चर्यजनक छ । त्यसमा पनि संसद् भवनको वरिपरि अकस्मात् लागेको आगो निभाउने कुनै व्यवस्था नहुनुले राज्यको संयन्त्र कति निरीह र मूक रहेछ बुझ्न सकिन्छ । दिनहुँ महत्वपूर्ण मानिसहरू ओहोरदोहोर गरिरहेका हुन्छन् कथंकदाचित कसैले सवारीसाधनमा आक्रमण ग¥यो भने, त्यस्तै कुनै दुर्घटनाहरू भयो भने अकसमात् हुने यस्ता अवस्थाको सामना कसरी गर्ने ?

अहिलेसम्म त्यसको कुनै व्यवस्था रहेनछ भन्दा कति दुःख लाग्दो हुन्छ ? शहरी जनघनत्व जसरी विकसित हुँदै गएको छ यसमा आवश्यक साधन, स्रोत र उपकरणहरूको त्यति नै आवश्यकता हुन्छ । शहरमा सामान्यतः सावर्जनिक शौचालयदेखि अग्निनियन्त्रणको प्रबन्ध उत्तिकै जरुरी छ । ढल सफाइका लागि, पानी निकासका लागि, स्वास्थ्यका लागि एम्बुलेन्स्, बिजुलीबत्तीमा हुनसक्ने तत्कालको समस्या समाधानका लागि शहरी समाजले शहरकै निकायबाट समाधान खोज्छ । किनकि उसले महँगो करभार बोकिरहेको हुन्छ । कर तिर्नुको अर्थ कसैलाई जागिर खुवाउनु वा कसैका लागि भत्ता दिनु होइन । ठीक समयमा आफ्नो आवश्यक सार्वजनिक सेवा होस् भन्ने सिद्धान्तका आधारमा कर तिरिरहेको हुन्छ ।

तर, हामीकहाँ सार्वभौम जनताका प्रतिनिधिहरू बस्ने स्थानको निकटमा समेत यस्तो कुनै व्यवस्था नदेखिनु चरम लापरबाही नै मान्नु पर्छ । जानकारी छैन कसैले भन्छ भने त्यो निरर्थक तर्कबाहेक केही हुने छैन । प्रेमप्रसादले आत्मदाह गर्नुअघि सामाजिक सञ्जालमार्फत जुन पोष्ट गरे त्यसले सरदर नेपालीको पीडालाई शब्दप्रदान गरेको छ । प्रेमप्रसादले आम नेपालीभन्दा धेरै परिश्रम गरेका रहेछन् । उनले जीवननिर्वाह गर्नमात्रै होइन, परिवारको भरण पोषण गर्नका लागि मात्रै होइन देशको अर्थतन्त्रलाई उकास्नसमेत प्रयास गरेका रहेछन् । इलामको एक विकसित परिवारको सदस्य सानै उमेरमा विदेश जान्छन्, केही कमाएर स्वदेशमा नै केही गर्ने सपना देख्छन्, अनेक उत्पादनशील क्षेत्रमा लगानी गर्छन्, उद्योग खोल्छन् ।

तर, सम्भ्रान्तहरूका उद्योग व्यवसायबाट उनी निरन्तर लुटिन्छन्, ठगिन्छन्, कृषि रोजगारीका नाममा स्थापित कतिपय कारखानाका मालिकहरूबाट उनी तिरष्कृत हुन्छन्, बैंकहरूले उनको दोहन र शोषण गर्छन्, ऋणको भारी बढ्दै जान्छ, अनेक उपायले उनी हलुका हुने प्रयास गर्छन् तर बानी परेकाहरूले उनको यो अवस्थाबाट थप फाइदा लिने काम गरिरहेका हुन्छन् । श्रीमती र दुई छोरीबाहेक उनका कोही पनि सहारा हुँदैन, देखिँदैन । अनि उनी जीवनप्रति पूर्णनिरपेक्ष हुने मार्गमा हिँड्न लाग्छन् । समाजले गर्ने दुव्र्यवहार र अपमानको बोझ उनी थेग्न सक्दैनन् । यसरी उनको पीडा अनुभव गर्ने, सहानुभूति दिने कोही नभएपछि एक्लो अनुभव गर्दै उनी आत्मदाहको निष्कर्षमा पुग्छन् ।

प्रेमप्रसाद राजनीतिक रूपले अत्यन्त सचेत रहेछन् । उनी अनेक सपना देखाउने नयाँ पुस्ताको र परिवर्तनको नारा दिने राजनीतिक दलमा समेत आबद्ध रहेछन् । तर, तिनीहरू आफैँ सन्देहको भड्खारोमा पुगेका, बीचमै टुटफुट भएको देखेपछि प्रेमप्रसादको मन विचलित हुन्छ । राजनीतिमा अनावश्यक महत्वाकांक्षा जगाउने, असम्भव सपनाको खेती गर्ने, रजनीतिको सिँढीमा एक्लै उक्लन खोज्ने र शासकीय शक्तिको आत्मरतिमा डुब्नेहरूका लागि प्रेमप्रसादको आत्मदहन अविस्मरणीय पाठ हुनसक्छ । उनले पोष्टमा उल्लेख गरेका मात्रै होइन, उल्लेख नगरेका अनेक महत्वाकांक्षीहरूले नयाँ पुस्तालाई भ्रमित तुल्याइरहेको छ । ती सबैले प्रेमप्रसाद जस्तो एक लडाकुको आत्मकथन पढ्नु जरुरी छ ।

हाम्रो आग्रह छ : राजनीकर्मी, राजनीतिक संयन्त्र, ठूला नामका व्यापारिक, औद्योगिक घराना र समाज सबैले प्रेमप्रसादको पीडालाई अनुभूत गरून्, र भविष्यमा आत्मदहनका लागि कारण पैदा नगरून् ताकि अरू अनेक अप्रकट प्रेमप्रसादहरूले यति कठोर निर्णय लिने अवस्थाको जन्म नहोस् । पोष्टमा उल्लेख भएका व्यापारी, उद्योगपति, व्यवसायीहरूले प्रायश्चित्त गरून् र प्रेमप्रसादसँग लिएको सबै ऋण चुक्ता गरून् । उनका प्रति सानो भए पनि उचित श्रद्धाञ्जलि यही नै हुनेछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?