फरेष्टरसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

हिमालय टाइम्स
Read Time = 5 mins

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सल्यानको कालीमाटी सबडिभिजन वन कार्यालयका फरेष्टर जयपृथ्वीराज बुढाथोकीसमेत ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीले मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै बुढाथोकी, सहायक वन अधिकृत, वन उपभोक्ता समूहका अध्यक्ष, सप्लायर्ससमेत ६ जनाउपर सार्वजनिक सम्पत्ति हानि नोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर गरेको जनाउनुभएको छ ।

‘जिल्ला सल्यान, कालीमाटी गाउँपालिका-३ स्थित महिला सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष र सबडिभिजन वन कार्यालय, कालीमाटी –३, सल्यानमा कार्यरत फरेष्टर समेतले तुल्सीपुर-पुरन्धारा-बोटेचौर सडक-खण्ड स्तरोन्नतिको क्रममा हटाइएको महिला सामुदायिक वन उपभोक्ता समूह कालीमाटी-३ को वन क्षेत्रभित्रका विभिन्न जातका रूखहरू कटान, मुछानलगायत बिक्री वितरणमा अनियमितता गरेको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा कालीमाटी सबडिभिजन वन कार्यालय कालीमाटीका फरेष्टर जय पृथ्वीराज बुढाथोकीले जिल्ला सल्यान, कालीमाटी गाउँपालिका–३ स्थित महिला सामुदायिक वन उपभोक्ता समूह कालीमाटी, सल्यानको वन क्षेत्रबाट तुल्सीपुर–पुरन्धारा–बोटेचौर सडक खण्डको स्तरोन्नतिको क्रममा हटाइएका रूखहरूको कटान मुछान तथा निकासी कार्यमा लगत, कटान तथा घाटगद्दी रजिष्टर तयार, काठ दाउराको लगत तयार गर्दा घाटगद्दीमा रहेको वास्तविक परिमाणमा भन्दा कम नापजाँच गरी लगत तयार गरी प्रमाणित गरेकोले १,८७,८७७।- रुपैयाँ बराबरको हानि नोक्सानी भएको हुँदा निजले भ्रष्टाचार निवारण ऐन २०५९ को दफा १७ बमोजिमको कसुरको उद्योग गरेको देखिएकोले सोही दफाअनुसार १,८७,८७७।- (एक लाख सतासी हजार आठ सय सतहत्तर रुपैयाँ) बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २१ बमोजिम सजाय हुन एवं जय पृथ्वीराज बुढाथोकीले नियमानुसार छपान भई कटान भएका रूखहरूमध्ये १५ वटा रूखहरूको उत्पादित काठ घाटगद्दी नगरी लगतमा समेत नराखी हिनामिना गरेको हुँदा निजले भ्रष्टाचार निवारण ऐन २०५९ को दफा १७ बमोजिमको कसुर गरेकोले रु.२,६८,५६१।– (दुई लाख अठसठ्ठी हजार पाँच सय एकसठ्ठी रुपैयाँ) बिगो कायम गरी निजलाई भ्रष्टाचार निवारण ऐन २०५९ को दफा १७ मा उल्लेख भएबमोजिम सोही ऐनको दफा ३ को उपदफा (१) र सोही ऐनको दफा ३ को उपदफा (१) को देहाय खण्ड (घ) बमोजिमको सजाय हुन र सोही ऐनको दफा १७ बमोजिम हिनामिना भएको सम्पत्ति असुलउपर हुनसमेत मागदाबी लिइएको छ’, विज्ञप्तिमा भनिएको छ ।

शर्माविरुद्ध ११ अर्ब हिनामिनाको मुद्दामा साक्षी झिकाउन आदेश
विशेष अदालतले आन्तरिक राजस्व विभागका तत्कालीन महानिर्देशक चुडामणि शर्माविरूद्ध मुद्दामा साक्षी झिकाउन आदेश दिएको छ । मुद्दाका प्रक्रिया सुरु भएको करिब पाँच वर्षपछि न्यायाधीशत्रय श्रीकान्त पौडेल, यमुना भट्टराई र शालिग्राम कोइरालाको संयुक्त इजलासले यस्तो आदेश दिएको हो । सो आदेशसँगै अब म्यादपत्र गएपछि साक्षीहरू विशेष दालतमा हाजिर हुनेछन् र अदालतले उनीहरूको बकपत्र लिनेछ । बकपत्र लिएपछि पुनः पेसी तोकिनेछ । कर फर्छ्यौट आयोगका पदाधिकारी शर्मासहित अध्यक्ष लुम्बध्व महत र सदस्य उमेशप्रसाद ढकालविरूद्ध करिब ११ अर्ब भ्रष्टाचारको आरोपसहित २०७४ साल साउन १ गते विशेष अदालतमा मुद्दा दायर भएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?