अविस्मरणीय व्यक्तित्व हिमालय शमशेरप्रति

हिमालय टाइम्स
Read Time = 8 mins

नेपाल राष्ट्र बैंकका संस्थापक गभर्नर हिमालय शमशेर राणाको निधनसँगै नेपालको वित्तीय क्षेत्रको एउटा युगको अन्त्य भएको छ । उहाँ २०१३ साल वैशाख १० गते नेपालको पहिलो गभर्नरमा नियुक्त हुनुभएको थियो । जुनसुकै क्षेत्र होस्, सुरुवात चुनौतीपूर्ण हुन्छ । वित्तीय क्षेत्र व्यवस्थापन अझै चुनौतीपूर्ण हुन्छ ।

देशको अर्थतन्त्र एवं वित्तीय क्षेत्रमा राष्ट्रिय र अन्तर्राष्ट्रिय चासो, चिन्ता र स्वार्थसमेत जोडिएका हुन्छन् । राष्ट्रिय स्वार्थ केन्द्रमा राख्दै अन्तर्राष्ट्रिय चासो, चिन्ता, स्वार्थका साथै वित्तीय नीतिलाई पनि आत्मसात गर्दै सन्तुलित रूपमा अघि बढ्नुपर्ने हुन्छ । तर, राणा यस्ता चुनौतीलाई चुनौतीभन्दा पनि अवसर ठानेर अघि बढ्नुभयो र केन्द्रीय बैंकमार्फत नेपालको वित्तीय क्षेत्रका लागि आवश्यक महत्वूर्ण आधारशीला तयार गर्न सफल हुनुभयो । पछिका गभर्नरहरूले उहाँले अख्तियार गरेका सकारात्मक पक्षलाई आत्मसात गर्दै अघि बढ्दै केन्द्रीय बैंकलाई यहाँसम्म ल्याइपुर्‍याएका हुन् ।

संस्थापनकालीन गभर्नरले केन्द्रीय बैंकमा गलत वित्तीय नीति अख्तियार गरेको हुँदो हो त नेपालको बैंक तथा वित्तीय क्षेत्र अहिलेको अवस्थासम्म आइपुग्ने थिएन, उहाँको यति धेरै चर्चा पनि हुने थिएन । वित्तीय क्षेत्रमा उहाँका सुधारात्मक नीतिकै कारण पूर्वगभर्नरहरूले उहाँको निधनले मुलुकको वित्तीय क्षेत्रको एक अविभावक गुमाएको भन्दै दुःख प्रकट गरेका छन् । संस्थापक गभर्नर राणाले नेपालको वित्तीय र मौद्रिक क्षेत्रको उन्नयनमा नेतृत्वदायी भूमिका खेल्नुभएको भन्दै नेपालको वित्तीय क्षेत्रले एक अभिभावक गुमाएको अर्थविद्हरूले बताएका छन् ।

उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले समेत उहाँको निधनबाट मुलुकको बैंक, वित्तीय एवं समग्र अर्थ क्षेत्रमा अपूरणीय क्षति पुगेको बताउनुभएको छ । नेपाल राष्ट्र बैंकका प्रथम गभर्नर तथा नेपालको अर्थ तथा कूटनीतिक क्षेत्रका जानकार विशिष्ट व्यक्तित्व राणाको निधनले आफू स्तब्ध भएको उहाँले बताउनुभएको छ । संयुक्त राष्ट्रसंघ विकास कार्यक्रमअन्तर्गत रहेर सन् १९६२ देखि १९८६ सम्म विभिन्न देशमा प्रतिनिधिका रूपमा काम गर्नुभएको संस्थापक गभर्नर राणा पूर्व–अर्थ सचिवसमेत रहनुभएको थियो । त्यसैले गभर्नरमा उहाँको सफलताको मुख्य कारण अर्थ सचिवको अनुभव पनि हुनसक्छ किनभने अर्थ मन्त्रालय, केन्द्रीय बैंकबीचको सहकार्य र समन्वयविना मुलुकको अर्थतन्त्र चल्न सक्दैन । त्यसो त राणा अर्थ सचिव भएपछि नेपालमा पहिलोपटक बजेट ल्याइएको थियो । विसं २००८ मा तत्कालीन प्रधानमन्त्री मातृकाप्रसाद कोइराला भारत भ्रमणमा जाँदा अर्थ सचिव जबरा पनि सँगै हुनुहुन्थ्यो ।

संस्थापक गभर्नर भएसँगै उहाँले नेपालबाट भारु प्रचलन विस्थापित गर्न सफल हुनुभएको थियो । उहाँकै पालामा निर्धारण गरिएको भारु विनिमयदर भारु एक सयको एक सय ६० रुपैयाँ अहिले पनि कायम छ । लघुवित्त क्षेत्रको अग्रणी कम्पनी निर्धन उत्थान बैंक र निर्जीवन बीमा कम्पनी लुम्बिनी जनरल इन्स्योरेन्सको सुरुवात पनि राणाले नै गर्नुभएको थियो । उहाँकै पदचाप पछ्याउँदै अहिले नेपालमा दर्जनौं लघुवित्त र बीमा कम्पनी स्थापना भएका छन् । राजा महेन्द्रले राष्ट्र बैंकको स्थापना गरेर मासिक आठ सय तलब खानेगरी गभर्नरको नियुक्ति दिँदा उहाँको उमेर २९ वर्षमात्र थियो । हिमालय शमशेर राणा प्रधानमन्त्री श्री ३ देव शमशेरको नाति हुनुहुन्छ । सोही कारण उहाँले जन्मँदै कर्नेल उपाधि पाउनुभएको थियो । उहाँ पनि देशको प्रधानमन्त्री बन्ने रोलक्रममै हुनुहुन्थ्यो । पिता जर्नल लक्ष्मण शमशेर जबरा र माता विजयालक्ष्मीको कोखबाट सन् १९२८ जनवरी १० मा जन्मनुभएका राणाले भारतको मुम्बईस्थित स्कुल अफ इकोनोमिक्स एण्ड सोसिओेलोजीबाट अर्थशास्त्रमा स्नातकोत्तर तह पूरा गर्नुभएको थियो ।

नोकरीबाट अवकाशपछि व्यवसायमा हात हाल्नुभएका जबराले नै गोर्खा ब्रुअरी कम्पनी खोलेर टुबोर्ग, काल्सवर्ग वियर नेपाल भित्र्याउनुभएको थियो । पछि उक्त कम्पनी बेचेर हिमालयन बैंक खोल्नुभएको थियो । बैंकसँगै हिमालयन डिस्टिलरी पनि उहाँले नै स्थापना गर्नुभएको थियो । जबराले अर्थतन्त्र, समाज, कूटनीतिलगायत क्षेत्रमा हिमाल जस्तै अग्लो कद बनाउन सफल हुनुभएको थियो । राणा परिवारमा जन्मेर पनि प्रजातन्त्र र बहुलवादी शासन व्यवस्थामा विश्वास गर्ने हिमालय खुला बजार र उदारीकरणको पक्षमा हुनुहुन्थ्यो । सोही कारण उहाँ पछिल्ला सरकार, राजनीतिक नेता, केन्द्रीय बैंंक, निजी क्षेत्र, अर्थविद् सबैको प्रिय पात्रका रूपमा रहनुभएको थियो । राज्यको जिम्मेवार पदमा रहेर आलोचनामुक्त हुँदै बाहिरिने अवसर कमैलाई मात्रै मिल्ने गरेको छ । अझै पछिल्लो समय त त्यस्तो सम्भावना क्षीण हुँदै गएको छ ।

तथापि राजनीतिक परिवर्तनसँगै खुला भएको सञ्चार क्षेत्रका कारण पछिल्लो समय हरेक व्यक्ति तथा क्षेत्रका नकारात्मक पक्ष बाहिर आएको हुनसक्छ तर खुला सञ्चार क्षेत्र, अभिव्यक्ति स्वतन्त्रतापछि पनि संस्थापक गभर्नर राणाविरुद्ध नकारात्मक समाचार तथा टीकाटिप्पणी कतै देखिएन । यस अर्थमा उहाँ वित्तीय क्षेत्रका सर्वमान्य व्यक्तित्व हुनुहुन्थ्यो । स्वर्गीय राणाप्रति हार्दिक श्रद्धा सुमन !

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?