खडेरीले गहुँ सुक्न थालेपछि कृषक चिन्तित

डम्मर बुढा मगर बागलुङ, संवाददाता
Read Time = 5 mins

बागलुङ । गत वर्ष यति बेला खेत बारीमा लगाइएका गहुँ जौँले बाला हाल्न सुरु गर्थे । समयमै वर्षा हुँदा कृषकले गहुँ उत्पादनमा घाट ब्यहोर्नु परेको थिएन । तर, यस वर्ष गहुँ लगाएपछि पानी नपर्दा किसान निरास बनेका छन् ।

लामो समयदेखि खडेरी पर्दा पसाउन थालेको गहुँ सुक्न थालेपछि कृषक चिन्तित बनेका छन् । उसो जिल्लामा गहुँ उत्पादन कम हुन्छ त्यसमाथि वर्षा नहुँदा सुक्न थालेपछि किसानलाई भोकमरीको चिन्ता बढेको छ । जिल्लाका अधिकांश क्षेत्रमा आकाशे पानीकै भरमा खेतीपाती गरिँदै आएको छ ।

गहुँ लगाउँदादेखि नै रोकिएको वर्षा अहिलेसम्म नहुँदा गहुँ पसाने बेलामा सुक्न थालेको गलकोट नगरपालिका–५ का इन्द्रबहादुर खत्रीले बताउनुभयो । उहाँले बारीको मकै स्याहारेर गहुँ छरेपछि रोकिएको वर्षा अहिलेसम्म नहुँदा बिउसमेत उत्पादन नहुने चित्ना व्यक्त गर्नुभयो ।
खत्रीले भन्नुभयो– “यतिका महिना बितिसक्यो, पानी पर्दैन, बादल धामलधोमल गर्दा पानी आउँछकी भनेर आकाश तिर हे-यो पानी पर्ने छाँटकाँट देखिएन, खेतबारीमा लगाएको गहुँ सबै सुक्न थाले, आउँदो बर्खा के खाने होला, गहुँले फल देला जस्तो छैन, बिउ पनि उत्पादन हुन्न भन्ने चिन्ता लागेको छ, बिउ बचेन भने त गाह्रो हुन्छ ।”

जिल्लाको गलकोट, जैमिनी, बागलुङ, निसीखोला, बरेङ लगायतका ठाउँमा गहुँ राम्रो उत्पादन हुन्छ भने ढोरपाटन, तमान र ताराखोलामा जौँ उत्पादन हुँदै आएको थियो । जैमिनीका कृष्ण प्रसाद शर्माले करिब आठ रोपनी खेत तथा बारीमा गहुँ लगाएको सुनाउँदै सिंचाइ गर्न नसक्दा सुक्दै गएको बताउनुभयो । शर्माले पाखोबारीमा बढी गहुँ लगाएको भन्दै पाइपबाट पानी लगाउन संभव नभएको सुनाउनुभयो ।
“खेतमा त बरु अलिअलि खुलोबाट पानी ल्याएर लगाइयो, पाखो बारीमा लगाएको गहुँ सबै सुकेर मर्न थालि सक्यो, पोहोर परार साल त पानी पथ्र्यो, बाली राम्रै हुन्थ्यो, यसपाली खै धेरै समय भयो पानी परेकै छैन” शर्माले भन्नुभयो– “पाटामा लगाएको गहुँमा पाइटबाट पानी लगाउँ भने पनि संभव छैन, अब एक सातासम्म पनी नपरेर यस्तै घाम लागि रह्यो भने गहुँ सबै सुक्छ ।”

बागलुङमा कुल सात हजार हेक्टर क्षेत्रफलमा गहुँ खेती गरिँदै आएको छ । यस वर्ष समयमा पानी नपर्दा गहुँ उत्पादनमा ठूलो गिरावट आउने कृषि ज्ञान केन्द्र बागलुङले पनि आँकलन गरेको छ । कृषि ज्ञान केन्द्रका सूचना अधिकारी कुमार पुनका अनुसार जिल्लाको आंशिक्ष भू–भागमा मात्रै गहुँ खेती गरिँदै आइएको छ । सिंचाइ सुविधा भएका खेत र आकाशे पानीको भरमा खेती गरिने बारीमा पनि गहुँ खेती गर्दै आएको पुनको भनाई छ ।

सूचना अधिकारी पुन भन्नुहुन्छ– “कृषकले गहुँ लगाएपछि लामो समय खडेरी प¥यो, सामान्यतया गहुँ लगाएको दुई/तीन हप्तामा राम्रो सिंचाइको आवश्यक हुन्छ, तर यस वर्ष त्यो हुन सकेन, त्यसले गर्दा जिल्लामा गहुँ उत्पादनमा धेरै गिरावट आउने देखिएको छ, यसले कृषकलाई ठूलो मर्काका पार्ने देखिन्छ ।”

जिल्लामा गौतम, विजय, स्वर्गद्वारी र धौलागिरी जातको गहुँ लगाउँदै आइएको उहाँको भनाई छ । जलस्रोत तथा सिंचाइ विकास डिभिजन कार्यालय बागलुङका अनुसार जिल्ला ४६ हजार १४८ हेक्टर क्षेत्रफल खेतीयोग्य जमिन रहेकोमा ३० हजार ५२३ हेक्टर क्षेत्रफलमा मात्रै खेतीहुँदै आएको छ । त्यस मध्ये ६ हजार १४८ हेक्टर क्षेत्रफल जमिनमा मात्रै सिंचाइको सहज पहुँच पुगेको छ ।

खेतीयोग्य जमिनको २०.१५ प्रतिशत जमिनमा मात्रै सिंचाइको सुविधा पुगेको छ । त्यस मध्ये बाह्रै महिना सिंचित क्षेत्र दुई हजार ७७५ हेक्टर रहेको छ । पछिल्लो समय बसाइँसराइले खेतीयोग्य जमिनसमेत बाँझिदै गएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?