फर्कियो उपविजेता टोली

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । बंगलादेशमा भएको साफ यु-२० महिला च्याम्पियनसिप फुटबलमा उपविजेता बनेको नेपाली टोली शुक्रबार स्वदेश फर्किएको छ । नेपाली टोली शुक्रबार दिउँसो स्वदेश फर्किएका हुन् । नेपाली टोलीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का पदाधिकारीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए ।

ढाकास्थित वीरश्रेष्ठ शहीद सिपाही मुस्तोफा कमल स्टेडियममा बिहीबार भएको फाइनलमा नेपाल बंगलादेशसँग पराजित हुँदै नेपाली टोली उपविजेतामा सीमित भएको थियो । उपविजेता बनेर फर्किएको नेपाली टोलीका मुख्य प्रशिक्षक यम गुरुङले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा शुक्रबार पत्रकारहरूसँग कुराकानीका क्रममा फ्लड लाइटमा खेल्नु परेका कारण हार्न पुगेको बताउनुभयो ।

‘हामीलाई स्ट्रेचिङ बलबाट अभ्यास गरेका थियौं । तर हामीलाई त्यहाँ पेस बल खेलायो । ट्रफ पनि यहाँको जस्तो थिएन,’ गुरुङले भन्नुभयो ‘यताको भन्दा ट्रफ र बलमा फरक रहेको पाइयो । टिमको टेक्निकल कुरा हेर्दा चै हाम्रो टिम बलियो थियो । हामीले फ्लड लाइटमा अभ्यास नै गरेका थिएनौ । हामीले फ्लड लाइटमा खेल्नु परेर नतिजा फरक आयो ।’

बिहीबार भएको फाइनल खेलमा आयोजक बंगलादेशसँग ३-० ले पराजित भएको नेपाली टोली शुक्रबार स्वदेश फर्किएको हो । नयाँ खेलाडीहरूहरूले अनुभव पाएको गुरुङले बताउनुभयो । पहिलो हाफमा उनीहरूलाई गोल हान्न नदिने रणनीतिमा आफु रहेको गुरुङले बताउनुभयो ।

राउण्ड रोबिनको आधारमा भएको प्रतियोगिताको शीर्ष दुई टोली नेपाल र बंगलादेशले उपाधिका लागि प्रतिस्पर्धा गरेका हुन् । चार राष्ट्र सहभागी प्रतियोगितामा नेपाल दोस्रो स्थानमा रहँदै फाइनल खेलेको हो । बंगलादेश भने शीर्षस्थानमा रहेर फाइनल खेलेको हो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?