झोलुंगे पुल निर्माणले स्थानीयवासीको दुःख अन्त्य

प्रकाश नेपाल इलाम, संवाददाता
Read Time = 3 mins

इलाम । दक्षिणी इलामको माई नगरपालिकाको बिहीबारे र वडा नम्बर-१ को घण्टे जोड्ने झोलुंगे पुल बनेपछि स्थानीयवासी हर्षित भएका छन् । ८२० मिटर लामो झोलुंगे पुल निर्माणले माई नगरपालिका र दानाबारी क्षेत्रका बासिन्दाको दुःखका दिन हराएका छन् । माईखोलामा निर्माण भएको यो पुल नेपालको दोस्रो लामो झोलुंगे पुल रहेको बताइएको छ । पुल निर्माणपछि माईखोला वारपार गर्दा वर्षातमा ज्यानको माया मारेर तर्नुपर्ने बाध्यता हटेको छ । इलामको माई नगरपालिकाको बिहीबारे र घण्टे जोड्ने झोलुंगे पुल निर्माण भएपछि स्थानीयवासीले विगतका दुःख बिर्सिएका छन् ।

मल्टी स्पान पुलको लम्बाइ ८२० मिटर रहेको छ । यसअघि महाकाली चाँदनी दोधारा जोड्ने एक हजार ४५२ मिटर लामो पुल बनेको थियो । यो पुल निर्माण भएसँगै स्थानीयलाई खोला वारपार गर्न सहजमात्रै भएको छैन माईखोलामा डुबेर ज्यान जान्छ भन्ने चिन्ता हटेको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयअन्तर्गत स्थानीय पूर्वाधार विभागबाट आठ करोड २० लाखमा पुलको निर्माण सम्पन्न भएको हो । एक वर्षअघि सातवटा पिलरसहित निर्माण भएको यो झोलुंगे पुलको चारवटा टावर रहेको छ । माईखोलामा पुल निर्माण भएपछि माई नगरपालिका-१ को घण्टेदेखि लिएर देउमाई नगरपालिका जीतपुरसम्मका बासिन्दालाई सुविधा पुगेको छ । बिरामीलाई अस्पताल लान र विद्यार्थीलाई विद्यालय जानसँगै दुईपांग्रे सवारीसाधन गुडाउन सहज भएको हो ।

यो क्षेत्रमा पुल नहुँदा बर्सेनि खोला तर्नुपर्ने बाध्यता थियो भने गत वर्षमात्र तीनजना विद्यार्थीलाई खोलाले बगाएर बेपत्ता बनाएको थियो । पुल निर्माणपछि यस क्षेत्रका बासिन्दाको दुःख दूर भएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?