नेपालले आज स्कटल्याण्डसँग खेल्ने

हिमालय टाइम्स
Read Time = 5 mins

काठमाडौं । आइसिसी (अन्तर्राष्ट्रिय क्रिकेट परिषद्) विश्वकप क्रिकेट लिग २ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय शृंखलाअन्तर्गत नेपालले आज (शुक्रबार) स्कटल्याण्डसँग खेल्ने भएको छ ।

कीर्तिपुरस्थित त्रिवि मैदानमा हुने खेलमा घरेलु टोली नेपालले स्कटल्याण्डलाई पराजित गर्ने सोचका साथ मैदानमा उत्रनेछ । त्यसो त आइसिसी क्रिकेट विश्वकप लिग २ को विजेता बनिसकेको स्कटल्याण्डलाई हराउन नेपाललाई त्यति सहज भने हुने छैन ।

कीर्तिपुर खेल मैदानमा बुधबार भएको खेलमा स्कटल्याण्डले नामिबियालाई १० विकेटको फराकिलो अन्तरले पराजित गर्दै लिग २ को विजेता बनेको थियो । स्कटल्याण्ड आफ्नो तीन खेल बाँकी छँदै विजेता बन्न सफल भएको हो ।

यसअघि यही फागुन २ गते भएको नामिबियाविरुद्धको पहिलो खेलमा नेपालले ऐतिहासिक सफलता हासिल गरेको थियो । यसकारण पनि स्कटल्याण्डलाई पराजित गर्ने नेपालको लक्ष्य रहेको छ । नेपाली क्रिकेट टोलीका मुख्य प्रशिक्षक मोन्टी देशाईंको प्रशिक्षणमा नेपालले पहिलोपटक नामिबियालाई हराएको थियो ।

नेपालले नामिबियालाई दुई विकेटले पराजित गर्दै ऐतिहासिक सफलता हासिल गरेको हो ।

लिग २ को शीर्षस्थानमा रहेको स्कटल्याण्डले ३३ खेलमा २३ मा जित र आठ खेलमा हार बेहोरेको छ । स्कटल्याण्ड ४८ अंकका साथ शीर्षस्थानमा छ । स्कटल्याण्डले अब नेपालसँग दुई र नामिबियासँग एक गरी कुल तीन खेल खेल्न बाँकी छ । बाँकी सबै खेलमा पराजित भए पनि स्कटल्याण्ड शीर्षस्थानमा रहनेछ । उसलाई अब कुनै पनि टोलीले पछि पार्न सक्दैनन् ।

त्यस्तै, लिग–२ मा नेपालले अब ११ खेल्न बाँकी छ । २५ खेलमा नौमा जित र १४ खेलमा हार बेहोरेको नेपाल २० अंकसहित अंक तालिकाको छैटौँ स्थानमा छ । एकदिवसीय मान्यता पाएका विभिन्न सात एसोसिएट राष्ट्र सहभागी लिग २ मा एउटा टोलीले ३६ खेल खेल्नेछन् । नेपाललाई एकदिवसीय मान्यता बनाइरहन पनि अबका बाँकी खेल जित्नैपर्ने दबाब छ ।

नेपालले सन् २०१८ को मार्चमा भएको एकदिवसीय विश्वकप छनोट प्लेअफमा पपुवा न्युगिनीलाई पराजित गरी पहिलोपल्ट एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता पाएको थियो । नेपालको त्यो एकदिवसीय मान्यता आगामी जुलाईसम्म मात्र रहनेछ । एकदिवसीय मान्यता पाउन पनि नेपाललाई बाँकी खेल जित्नैपर्ने दबाब छ । एकदिवसीय मान्यता पाउन लिग २ मा नेपाल शीर्ष पाँचभित्र अटाउनुपर्नेछ ।

यसैगरी लिग २ मा ओमान ३६ खेलमा २१ मा जित र १३ मा हारसहित ४४ अंकका साथ दोस्रो स्थानमा छ । नामिबिया ३२ खेलमा १८ मा जित र १३ मा हारका साथ ३७ अंकका साथ तेस्रो स्थानमा छ । अमेरिका ३६ खेलमा १६ मा जित र १७ मा हारसहित ३५ अंकका साथ चौथो स्थानमा छ ।

युएई २६ खेलमा १२ मा जित र ११ मा हारसहित २७ अंकका साथ पाँचौँ स्थानमा छ । पपुवा न्युगिनी २८ खेलमा दुईमा जित र २५ मा हारसहित पाँच अंक जोड्दै अन्तिम स्थानमा छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?