✍️ प्रा. पुरुषोत्तम दाहाल
पहिलोपटक नेपालले लोकतान्त्रिक राज्य प्रणालीको सूर्योदय देखेको दिन आज । ००७ देखि अहिलेसम्म वर्षका हिसाबले ७२ वर्ष पूरा भएको छ । तर, हाम्रो पुस्ता जन्मनुभन्दा निकै वर्षअघि देखिएको लोकतन्त्रको सूर्योदयमाथि अझै गम्भीर विवादहरू भइरहेका छन् । लोकतन्त्रको मर्म र भावनामाथि कसै न कसैबाट निरर्थक प्रहार गर्दै निरन्तर फैलाइने गरेको उत्तेजनात्मक बितण्डाका कारण लोकतन्त्र शब्दमा संकुचित भएको हो ।
(क) लोकतन्त्रका लागि चुक्ता मूल्य :
लोकतन्त्रको स्थापना, पुनःस्थापना र पूर्ण स्थापनामा धेरै नेपालीहरूको ज्यान गएको छ, धेरैको श्रम गएको छ, धेरैको यौवन गएको छ र धेरैको श्रीसम्पत्ति र परिवार गुमेको छ । तर, लोकतान्त्रिक प्रणालीलाई निजी बिर्ता र पैतृक सम्पत्ति जस्तो गरी नेतृत्वमा पुग्नेहरूबाट उपयोग हुने गरेको हुनाले यसको मर्म क्षतविक्षत भएको छ । रस निचोरेको उखुको खोस्टा जस्तो हालतमा नेपालको लोकतन्त्र आज पनि सडकमा सुतिरहेको छ ।
लोकतन्त्रले मानव अधिकारका विश्वव्यापी सिद्धान्तहरूका आधारमा मौलिक हकहरूको सुरक्षा गर्दै देशवासी सम्पूर्ण नागरिकलाई न्याय प्रदान गर्छ, राज्यका सबै अवयवहरूबाट न्याय मिल्छ भन्ने विश्वास पैदा गर्छ, राष्ट्रको स्वाभिमान र गौरवको रक्षा गर्नसक्छ भन्ने आधार प्रदान गर्छ । सम्पूर्ण नागरिकलाई अविभाज्य रूपमा स्वतन्त्र, सार्वभौम सर्वोच्च बनाउँछ । भूगोल र नागरिकलाई एकअर्काको रक्षा र विकास गर्ने पूरक सहयोगी बनाउँछ लोकतन्त्रले । तर, के यो ७२ वर्षमा त्यस्तो कुनै विश्वास सिर्जना हुन सक्यो । ०१६ मा बिपी कोइराला नेतृत्वको सरकारले जनतामा विश्वास दिएको पढेका थियौँ हामीले र हाम्रा पुस्ताले । त्यसपछि ०४७ मा कृष्णप्रसाद भट्टराईको नेतृत्व र ०५१ मा मनमोहन अधिकारीको नेतृत्वले नागरिकमा विश्वास र भरोसा दिने प्रयास गरेको हामीले आफ्नै आँखाले देख्न पाएका थियौँ । तर, स्थायित्व हुन सकेन । निरंकुश सत्ताका चरित्रमध्ये सत्तामा पारिवारिक विरासत, घुसखोरी, दमन, शोषण, अन्याय, अविवेक जस्ता आचरणहरू परिपालित भएको देखिन्छ । जसका विरुद्धमा नेपाली जनताले धेरैपटक धेरै रगत बहाएका हुन् । किन बहाए होलान् आफ्नो रगत ? कस्तो सपना वा परिकल्पनामा बह्यो होला त्यो रगत ? सात दशक पार भएको लोकतन्त्रले अब निर्ममतापूर्वक विवेचना गरी उत्तर दिनुपर्ने भएको छ ।
(ख) विशाल खेलमैदान हो लोकतन्त्र :
लोकतान्त्रिक प्रणाली राजनीतिको विशाल खेलमैदान हो । खेल मैदानमा खेल्ने जसकसैले पनि खेलको नियम, अनुशासन र आचरण पालना गर्नु अनिवार्य हुन्छ । खेल मैदानमा प्रवेश गरेपछि मेरो यो मैदानमा विश्वास छैन, यो खेलमा मेरो लगाव छैन, म यस्तो खेल खेल्न जान्दिनँ, म यसका नियमहरूलाई पालना गर्दिनँ भन्ने अराजक व्यवहार अस्वीकार्य हुन्छ । तर, लोकतन्त्रको मर्यादा मिच्ने गरी यस्तो अराजक क्षण धेरैपटक नेपाली लोकतान्त्रिक प्रणालीको मैदानमा देखिसकेको छ ।
लोकतान्त्रिक प्रणालीमा सिद्धान्त र व्यवहारको समेत अभ्यास हुने गर्दछ । कतिपय सन्दर्भमा अभ्यास महत्वपूर्ण हुन्छ र कतिपय सन्दर्भमा सिद्धान्त मात्रै । तर, व्यवहार र सिद्धान्त कहिल्यै पनि लोकतन्त्रको मूल्य, भावना र मर्मविपरीत हुन सक्दैन, प्रयोग गर्न पाइँदैन ।
(ग) खेलको नियम पालना नगर्ने खेलाडी :
यतिखेर नेपालमा स्थापित संघीय लोकतान्त्रिक गणतन्त्रको खेल मैदानमा सबै खेलाडीहरू पसे पनि उनीहरू कसैले पनि खेल भावनाको सम्मान गरिरहेका छैनन् । अहिले करिब ५० प्रतिशत मत समर्थन पाएका सबै कम्युनिष्ट पार्टीहरूको लक्ष्य, सपना, जपना वैज्ञानिक समाजवादका नाममा अधिनायकवादमा केन्द्रित छ । उनीहरूका पार्टीको नाम, झण्डा र साहित्यले लोकतन्त्रप्रति पूर्ण भरोसा छ भनेर स्थापित गर्दैनन् । अहिले पनि माक्र्सवाद, लेलिनवाद, माओवादका अनेक रूपहरूको व्याख्या र परिभाषा गर्दै लोकतन्त्रको खेल मैदानको उपयोग गरिरहेको देखिन्छ । लोकतन्त्रको मर्म बुझ्न अरू कुनै ठूलो दर्शन र साहित्यका ठेली पल्टाइरहनु पर्दैन । लोकतान्त्रिक समाजवादका व्याख्याकार सिके प्रसाईंको थोरै पृष्ठको कृति छ : आजको सरल राजनीति । यो कृति अध्ययन गर्ने र तदनुरूप आचरण गर्ने हो भने नेपालले उन्नत र विकसित लोकतान्त्रिक प्रणाली देख्न र भोग्न पाउनेछ ।
(घ) दोहोरो मारमा लोकतन्त्र :
कम्युनिष्टहरूको जस्तै गरी परम्परागत राजावादीहरू गणतन्त्रका विरुद्धमा राजसंस्थाको स्थापनामा आफ्नो सामथ्र्य खर्च गरिरहेका छन् । संघीय लोकतान्त्रिक गणतन्त्रले प्रदान गरेको अधिकार र सुविधाको आडमा यी दुवै शक्तिहरू लोकतन्त्रको जरोकिलो उखेल्न कसरत गरिरहेका छन् । तर, ००७ को परिवर्तनको नायक हुँदै आजसम्म लोकतन्त्रलाई राजनीतिको अन्तिम गन्तव्य मान्ने नेपाली कांग्रेस शब्दमा र अक्षरमा लोकतन्त्रको पर्याय भने पनि व्यवहारमा निरंकुश, अविवेकी, अहंकारी, उन्मादी, असहिष्णु र सिद्धान्तविहीन शक्तिको पछि लागेको देखिन्छ । अर्थात् यो शक्ति पनि लोकतान्त्रिक प्रणालीको रक्षार्थ समर्थ देखिएको छैन । नेपाली जनताका दुर्भाग्यका दिनहरू अरू बाँकी नै छन् भन्ने यसको स्पष्ट संकेत हो ।
लोकतन्त्रको विकासका लागि असल नागरिक हुुनु आवश्यक छ, असल नागरिक निर्माण गर्न असल नेतृत्वको आवस्यकता पर्दछ, र असल नेतृत्वलाई सहयोग गर्न असल संयन्त्र चाहिन्छ । लोकतन्त्र अनुकूल स्वभाव, आचरण, व्यवहार नागरिकसँग नहुनु, असल नेतृत्व र संयन्त्र असल नहुनुको परिणाम हो आजको अभ्यास । राणा शासनमा पनि केही राम्रा सुधार परिवर्तन भएका थिए, निर्दलीय पञ्चायत कालमा समेत अनेक राष्ट्रिय महत्वका कामहरू भएका थिए, तर तिनका विरुद्धमा जनमत किन थियो र छ भने त्यो समय लोकतन्त्रको मूल्य विपरित चलेको थियो । जनता सार्वभौम हुने प्रणाली स्थापित नगरी भएका सुधार वा परिवर्तनको दीर्घजीवन हुँदैन । तर, परिवर्तनका नाममा आफ्ना सबै प्राचीन संकृति, सम्पदा, धरोहरको अवशानबाट कुनै नयाँ प्रणाली आरम्भ गर्ने सोच पनि स्थायी हुन सक्दैन । यस्तो सोच नागरिकविरुद्ध र देशविरुद्ध नै मानिनेछ । अहिले लोकतन्त्र र परिवर्तनका नाममा एकातिर हिंसालाई गौरवान्वित गर्ने काम भइरहेको छ भने अर्कातिर लोकतन्त्रकै आधारमा लोकतन्त्रको अवशानको मार्ग खन्ने काम भइरहेको छ । अहिले प्राप्त लोकतनत्रले तीन कुरा स्पष्टसँग गर्ने साहस गर्नुपर्छ । पहिलो आत्मनिर्भर राजनीति दोस्रो परस्पर निर्भर अर्थतन्त्र र विकास तेस्रो समुदायका बीच सद्भाव र समन्वय ।
(ङ) सिद्धान्तविहीन प्रतिस्पर्धा :
तर आजको नेपालमा सिद्धान्तविहीन शक्तिको प्रतिस्पर्धा भइरहेको छ । अहिले लोकतन्त्रका सबै मूल्यको विनाश गर्दै जुन रूपमा भए पनि शक्तिमा पुग्ने अवसरवाद लागू भएको छ । ७२ वर्ष पुगेको यो लोकतान्त्रिक अभियानमा बहेको रगत, समय, सम्पत्ति र श्रमको खर्चको स्मरण गर्ने फुर्सद कसैलाई पनि सायद छैन । दुई महिना पहिले बनेको सरकार र सांसदहरूको प्राथमिकता शक्तिमा नै केन्द्रित भएको अवस्थाले यस सत्यलाई पुष्टि गरिरहेको छ र यसबाट नेपालीहरूको मन निराश भइरहेको छ ।
वर्तमान जस्तो भए पनि लोकतान्त्रिक आन्दोलनका साधक, जीवनदाता, समय श्रमदाता सबैप्रति एकमुष्ट सम्मान । हामी आशा गरौँ लोकतन्त्र अब कसैको आखेट हुनेछैन र आखेटकहरूको अवशान निश्चित हुनेछ, हुनुपर्ने छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच