जनअपेक्षा र राजनीतिका भावी दिन

हिमालय टाइम्स
Read Time = 7 mins

जनताले शान्ति सुरक्षा अमनचैन चाहेका हुन्छन् । विकास निर्माण यसैसँग जोडिएर आउने कुरा हो । त्यसैले जति नै निराशा छाएको र राजनीतिप्रति वितृष्णा पैदा भएको भए तापनि जनता राजनीतिबाट निरपेक्ष रहन सक्दैनन् । त्यसैले देशमा विकसित हरेक राजनीतिक घटनामा तिनको कुनै न कुनै प्रकारको चासो रहन्छ नै । यही कारण हो जनताले वर्तमान दिनमा विकसित बन्दै गएको राजनीतिक सन्दर्भलाई पनि चासोको साथ हेरेका । गणतन्त्र नेपालको तेस्रो राष्ट्रपतिको चयन हुन लागेको छ । नेपालमा राष्ट्रपति आलंकारिक हुने संवैधानिक व्यवस्था छ । कार्यकारी अधिकार राष्ट्रपतिलाई हुँदैन । त्यस्तो अधिकार कार्यपालिका प्रमुख वा प्रधानमन्त्रीमा रहने व्यवस्था छ । तैपनि राष्ट्रको अभिभावक राष्ट्रपतिलाई नै मानिन्छ ।

गणतन्त्र नेपालको पहिलो राष्ट्रपति डा. रामवरण यादव आफ्नो कार्यकालमा त्यति विवादमा आउनुभएन तर दोस्रो राष्ट्रपति विद्यादेवी भण्डारी पटक–पटक विवादमा आउनुभयो । उहाँले जहिल्यै आफ्नो मातृपार्टीकै कार्यकर्ता जस्तो बनेर सधैं उक्त पार्टीको वकालत गरिरहनुभयो । एमालेबाट प्रधानमन्त्री बनेका पार्टी अध्यक्ष केपी शर्मा ओलीको कार्यकालमा उहाँका जे-जस्ता कदमको पनि समर्थनमा राष्ट्रपति उभिनुभयो । सवारीका बेला जनताको सार्वभौम र आधारभूत हकको समेत अपहरण भएका कारण पनि पटक-पटक विवादमा तनिनुभयो । अब उहाँको कार्यकाल सकिँदै छ र नयाँ राष्ट्रपतिको चयन हुँदै छ । यसका लागि उम्मेदवारी दर्ता भइसकेको छ ।

हाल सरकारको नेतृत्व गरिरहेको माओवादी केन्द्रको समेत समर्थनमा विभिन्न आठ दलहरूको सहमतिबाट नेपाली कांग्रेस पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलले आफ्नो उम्मेदवारी दर्ता गराउनुभएको छ । अर्कातिर एमालेका नेता सुवासचन्द्र नेम्वाङले पनि राष्ट्रपतिका लागि उम्मेदवारी दिनुभएको छ । भोलि कतैबाट कुनै प्रकारको दबाब वा प्रभाव नपरी हालकै अवस्था कायम रहिरहने हो भने नेपाली कांग्रेसका रामचन्द्र पौडेलको विजय सुनिश्चित छ । उहाँको विजय र अभिभावकत्व राष्ट्रको गरिमाका लागि उपयुक्त नै हुनेछ तर हालको यो आठदलीय गठबन्धनलाई जोगाएर लामो समयसम्म लैजानु चाहिँ नेतृत्वदायी दलहरूका लागि चुनौतीपूर्ण नै छ ।

भोलिका दिनमा अहिले गरिएका वाचा बन्धन र दिइएका आश्वासन पूरा हुन नसकेर कोही एकातिर लाग्ने र कोही अर्कातिर लाग्ने परिस्थिति खडा भयो भने पुनः हालको सहमति छिन्नभिन्न हुनसक्छ । त्यसतर्फ भने नेतृत्व वर्ग सचेत रहनुपर्ने हुन्छ । आज गरेको कामबाट भोलि पश्चाताप गर्नुपर्‍यो भने त्यसको कुनै सार्थकता रहने छैन । अहिले भएको पनि त्यही हो । सरकार बन्यो र बन्दा सोझो बाटो हिँडिरहेको राजनीतिलाई अनेकौँ जालझेल र षड्यन्त्र गरेर बक्रमार्गतर्फ मोडियो । सबैले अन्दाज गरिरहेको भन्दा फरक ढंगले सरकार बन्यो । तर, त्यो लामो समय टिक्न सकेन, दुई महिनामै भंग भयो । राष्ट्रिय स्वतन्त्र पार्टीले सरकार छोड्यो, अहिले आएर एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीले पनि सरकार छोडेका छन् ।

अब छिटै मन्त्रिमण्डल फेरबदल हुन्छ भनेर प्रधानमन्त्री पुष्पकमल दाहालले नै भन्नुभएको छ । अहिलेको अवस्थाबाट नेकपा एमाले प्रमुख प्रतिपक्ष बन्न पुगेको छ । सरकार इतिहासमै छिटो परिवर्तन भएका सरकारको उदाहरणमै एउटा अर्को उदाहरण बन्न पुगेको छ । राणा शासन कालमा देवशमशेर, पहिलो प्रजातन्त्र कालमा डा.केआई सिंह, पञ्चायत कालको अन्त्यमा लोकेन्द्रबहादुर चन्द नेपालको इतिहासका छोटो समयका सरकार हुन् । वर्तमान सरकार पनि छोटो समयको सरकारका रूपमा दरिन आयो तर प्रधानमन्त्री दाहालको प्रधानमन्त्रीत्वको निरन्तरताले सरकार छोटो समयको भन्नुभन्दा पनि यसलाई छोटो समयमा छिटा छिटो फेरबदल भएको सरकार भन्नु उपयुक्त हुनेछ ।

वर्तमान समयमा जनतामा पनि राजनीतिक चेतनाको विकास भइसकेको हुनाले जनता पनि यसका गहन चासो राखेर बसेका छन् । राजनीतिक व्याख्या विश्लेषण उनीहरूबाट प्रसस्त हुने गरेका छन् । सरकारको पक्ष विपक्षमा आफ्ना अभिमत प्रकट गर्छन् । त्यसकारण यी सबै अवस्थाको ख्याल राख्दै सरकारमा रहेका नेताहरूले पनि आफ्नो हितलाई मात्र सर्वोपरी नठानी अब सन्तुलित रूपमा सरकार विस्तार गरेर त्यसमा सबैलाई समाहित गरी त्यस मन्त्रिमण्डललाई स्थायित्व प्रदान गर्नु आवश्यक छ । जसले गर्दा जनताका आवश्यकताहरूको समेत परिपूर्ति हुनेछ भन्ने कुरामा जनता विश्वस्त बन्न सकून् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?