नाकाहरूमा नाममात्रैको विषादी परीक्षण

Read Time = 4 mins

काठमाडौं । कृषि विषादीविज्ञ डा. डिल्लीराम शर्माले आयातित फलफूल तथा तरकारी विषादी परीक्षणबिना नै नेपाल भित्रिने गरेको बताउनुभएको छ । सरकारले नाकाहरूमा विषादी परीक्षण यन्त्र उपकरण राखेको भए पनि ती उपकरणबाट सबै प्रकारका विषादी परीक्षण नहुने भन्दै उहाँले सरकारले विषादी परीक्षण गरिएको भनेर उपभोक्तालाई ढाँटिरहेको आरोपसमेत लगाउनुभयो ।

पूर्णरूपमा विषादी परीक्षणका लागि सबै सीमा नाकाको प्रयोगशालालाई स्तरोन्नति गरिनुपर्ने उहाँको सुझाव छ । विश्व उपभोक्ता दिवसको अवसरमा राष्ट्रिय उपभोक्ता मञ्चद्वारा आयोजित अन्तरक्रिया कार्यक्रममा उहाँले भन्नुभयो, ‘उपभोक्ता सबैभन्दा निरीह छन् । नियमन गर्ने निकाय नै छैन । नियमन भए पनि प्रभावकारी छैन । भारतबाट भित्रिने तरकारी फलफूलको विषादी परीक्षणका लागि प्रयोगशाला राखिएको छ तर त्यहाँ परीक्षण नै हुँदैन । तर, परीक्षण भइरहेको छ भनेर ढाँटिएको छ ।’

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागकी महानिर्देशक डा. मतिना जोशी वैद्यले पनि सीमा नाकाहरूमा प्रयोगशाला रहे पनि सबै प्रकारका विषादी परीक्षण सम्भव नरहेको स्वीकार गर्नुभयो । सबै प्रकारका विषादी परीक्षणका लागि अत्याधुनिक प्रयोगशाला र जनशक्ति आवश्यक पर्ने उहाँको भनाइ छ । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका निर्देशक होेमनाथ भट्टराईले स्रोतसाधनको कमीले बजार अनुगमन प्रभावकारी हुन नसकेको बताउनुभयो । प्रभावकारी अनुगमनका लागि सरकारले स्थानीय तहलाई अधिकार दिएको भए पनि स्थानीय तहले पनि अनुगमनमा खासै चासो नदिएको उहाँको भनाइ छ ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले नियमनकारी निकायबीच समन्वय नहुँदा समस्या हुने गरेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘जिम्मेवारी छरिएका छन्, अझै व्यवस्थित हुन सकेको छैन, त्यसैले सामूहिक पहल आवश्यक छ ।’

मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले पनि नियमनकारी निकायबीच समन्वय नहुँदा बजार अनुगमन प्रभावकारी हुन नसकेको र प्रभावकारी अनुगमन नहुँदा उपभोक्ता मर्कामा पर्दै आएको बताउनुभयो । मञ्चका उपाध्यक्ष पुष्पराम पौडेलले स्थानीय सरकारहरूले बजार अनुगमनका लागि उपभोक्ता संस्थाहरूसँग सहकार्य नचाहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘बजार नियमन अधिकार स्थानीय सरकारलाई दिइए पनि उसको सक्रियता कम छ, उपभोक्ता संस्थाहरूसँग सहकार्य गर्न पनि तयार छैनन् ।’

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?