यात्रु अभावले एक बर्षदेखी उडान बन्द

एक बर्षदेखी यात्रु अभावले उडान हुन नसकेको बैतडीको पाटन विमानस्थल । तस्वीरः डम्बर बोहरा/हिमालय टाइम्स ।

डम्बर बोहरा बैतडी, संवाददाता
Read Time = 4 mins

बैतडी । यात्रु अभावले बैतडीको पाटन-धनगढी उडान एक बर्षदेखी ठप्प रहेको छ । यहाँबाट गत बर्षको चैत १० गते समिट एयरले अन्तिम उडान भरेको थियो । त्यसपछि पाटन-धनगढी कुनै उडान हुन सकेको छैन । यात्रु अभावको कारण देखाउदै एक बर्ष यता उडान नभरेको समिट एयरले जनाएको छ ।

यात्रु नभएकै कारण समिट एयरले धनगढी-पाटन उडान लगभग स्थगित गरिदिएको समिट एयरका बैतडी प्रतिनिधि कृष्णदत्त भट्टले जानकारी दिनुभयो । भाडा बढेकाले पनि यात्रुहरु पाउन छाडेपछि उडान नभरेको उहाँले बताउनुभयो । ‘भाढा बढेको छ, यात्रु भेटिदैनन, अब रद्ध भइसकेको हो, अब समिट एयरले धनगढी-पाटन उडान भर्दैन,’ उहाँले भन्नुभयो ।

पाटनदेखी धनगढी पुग्न १७ मिनेटको हवाइ यात्रा छ । भाडा भने ५ हजार तोकिएको छ । समिटले प्रत्येक बिहिबार उडान भर्दै आएको थियो । नियमित रुपमा यात्रुहरु नपाउँदा समिट एयरलाइन्सले उडान भर्न छोडेको धनगढी विमानस्थलका प्रमुख रामकृष्ण भट्ट बताउनुहुन्छ । ‘धनगढीबाट पाटन जादा समेत प्लेन भरिदैन, त्यसैले समिटले उडान भरेको छैन,’ विमानस्थल प्रमुख भट्टले भन्नुभयो, ‘समिटले यात्रु नपाएकै कारणले उडान भरीरहेको छैन’ ।

द्वन्द्वकालका बेला विमानस्थलका संरचनामा आगजनी गरि ध्वस्त भएपछि २०५२ सालयता पुर्णरुपमा विमानस्थल बन्द रहेको थियो । २६ बर्षपछि २०७७ असोज १७ गते समिट एयरले नै परिक्षण उडान गरेको थियो । तत्कालीन पर्यटन मन्त्रि योगेश भट्टराईले विमानस्थलको उद्धघाटन कार्यक्रममा बोल्दै सुदूरपश्चिम प्रदेशका पहाडी जिल्ला बैतडी, डोटी र बझाङमा नियमित उडान हुने बताउनुभएकाे थियाे ।

नियमित उडान नहुने र भाडा पनि महँगो भएको हुनाले यात्रु पाउन मुस्किल हुने गरेका सेवाग्राहीको भनाइ छ । ‘नियमित उडान हुने ठेगानसमेत हुँदैन, कहिले आउने कहिले नआउने’, पाटन नगरपालिकाका निवर्तमान नगरप्रमुख केशव बहादुर चन्दले भन्नुभयो ‘भाडा पनि महँगो भयो ।’ भाडा समायोजन गरी यात्रुहरुको सहजताका लागि नियमित उडान भर्नुपर्ने अर्का स्थानीय भागरथी भट्टले बताउनुभयो । ‘१७ मिनेटको हवाई दुरीमा ५ हजार भाडा धेरै हो, समायोजन गरेर नियमित सञ्चालन गर्न सके सहज हुन्थ्यो, यात्रुपनि भेटिन्छन्,’ उहाँले भन्नुभयो ।

११ करोड लागतमा निर्माण सम्पन्न भएको बिमानस्थल ठप्प छ । ५ करोड लागतमा हालैमात्र ट्रमिनल भवन समेत बनीसकेको छ । राज्यले करोडौ लगानी गरेर निर्माण गरेका संरचनाहरु प्रयोग बिहिन बनेका छन् । २०५२ सालदेखि बन्द रहेको पाटन विमानस्थल ११ करोडको लागतमा २०७७ मा निर्माण सम्पन्न भएको हो । २० मिटर चौडाइ र ५८० मिटर लम्बाइ रहेको धावनमार्ग र घेरपर्खाल निर्माण गरिएको थियो ।

यसैगरी गत २०७८ भदौदेखि निर्माण सुरु गरिएको ट्रमिनल भवन समेत बनीसकेको छ । ४ करोढ ९७ लाख लागतमा ट्रमिनल भवन निर्माणको काम सम्पन्न भइसकेको निर्माण आयोजना कार्यालयका इन्जिनियर कबिन्द्र बज्राचार्यले जानकारी दिनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?