काठमाडौं । नेकपा एकीकृत समाजवादी (नेकपा एस) का अध्यक्ष माधवकुमार नेपालले फेरि नेकपा ब्युताउन प्रस्ताव गर्नुभएको छ । अध्यक्ष नेपालले शुक्रबार बिहान प्रधानमन्त्रीसमेत रहनुभएका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँगको भेटवार्तामा नेकपा ब्युताउन प्रस्ताव गर्नुभएको हो ।
नेपालमा कम्युनिष्ट आन्दोलनको ५७ वर्ष लामो टुटफुट र विग्रहको बाटो सच्याउने गरी २०७५ जेठ ३ मा दुई ठूला वाम दल (नेकपा एमाले र माओवादी केन्द्र)बीच एकीकरण भएर नेकपा गठन भएको थियो । तर, नेकपा २९ महिना पनि टिक्न सकेन । अन्ततः पार्टी एकता प्रक्रिया नै नटुंगिँदै सर्वाेच्च अदालतले २०७७ साल फागुन २३ गते ऋषिराम कट्टेलको नेकपालाई मान्यता दिँदै केपी ओली र प्रचण्ड नेतृत्वको नेकपा खारेज गरेपछि फेरि एमाले र माओवादी केन्द्र नै अस्तित्वमा आएको थियो । विभाजनसँगै एउटा पार्टीको नेतृत्व केपी शर्मा ओलीले लिनुभएको थियो भने अर्काे पार्टीको नेतृत्व पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधवकुमार नेपालले संयुक्त रूपमा लिनुभएको थियो । पार्टी एकताकै बलमा २०७४ को निर्वाचनबाट प्रचण्ड बहुमत पाएको थियो । उक्त निर्वाचनमा नेकपाले प्रतिनिधिसभाका २७५ मध्ये १७४ र छवटा प्रदेशमा दुईतिहाइ बढी मतसहित सरकारको नेतृत्व गर्न सफल भएको थियो । विभाजनको रूप एकताभन्दा भिन्न रहेको थियो । अर्थात्, यसपटक मूलतः पूर्वएमाले र पूर्वमाओवादीका रूपमा नभएर पूर्वएमाले चाहिँ दुईतिर विभाजित हुन पुगेको थियो । आन्तरिक विवादले एमालेबाट विभाजन भएर नेपालले २०७८ भदौ २ मा एमाले फुटाएर एकीकृत समाजवादी गठन गर्नुभएको थियो ।
तर, अहिले अध्यक्ष नेपालले तत्कालीन नेकपा ब्युताउने प्रस्ताव गर्नुभएको छ । शुक्रबार बिहान प्रधानमन्त्री प्रचण्डसँग भएको कुराकानीमा आफूले नेकपालाई रिभाइभ गर्न प्रस्ताव गरेको जानकारी दिँदै अध्यक्ष नेपालले भन्नुभयो, ‘आज बिहान पनि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग मेरो कुराकानी भयो । मैले उहाँलाई पनि भनेँ हाम्रो पुरानो पार्टी नेकपालाई रिभाइभ गरौँ । एउटै ठाउँमा आउनुहोस् हिम्मत छ ?’ राष्ट्रपतिको चर्चा चलिरहेको बेलामा पनि नेकपा ब्युँताउन प्रचण्ड सहमत भएपछि ओलीलाई प्रस्ताव राख्दा कुनै चासो नराखेको अध्यक्ष नेपालको भनाइ छ । नेकपा एमालेका अध्यक्ष केपी ओलीलाई प्रश्न गर्दै अध्यक्ष नेपालले भन्नुभयो, ‘अब के चासो राख्न तयार हो त ? त्याग गर्न तयार हो त पार्टी एकताको लागि ? ल ठिक छ, पार्टी एकताको लागि को-को ले के-के त्याग गर्नुपर्ने हो तयार हुनुप¥यो ।’ नेकपाले दुईतिहाइ बहुमत प्राप्त गर्दासमेत जोगाउन नसकेको अध्यक्ष नेपालले बताउनुभयो ।
हुन त विभाजनपछि नेकपा ब्युताउने प्रस्ताव र चर्चा चलेको यो पहिलोपटक भने होइन । राष्ट्रपति चुनावलाई लिएर दलहरूबीच रस्साकस्सी चलिरहेका बेला पनि नेकपा ब्युताउने चर्चा चलेको थियो । एमाले अध्यक्ष केपी शर्मा ओली र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भएको भेटवार्तामा अध्यक्ष ओलीले पार्टी एकतासहित राष्ट्रपतिमा नेपाललाई प्रस्ताव गर्नुभएको थियो । तर, उक्त प्रस्ताव नेकपा ब्युताउने नभई नेकपा एमाले र एकीकृत समाजवादीबीच थियो । उक्त छलफलमा पनि अध्यक्ष नेपालले नेकपा ब्युताउनुपर्ने प्रस्ताव राख्नुभएको थियो । नेपालको उक्त प्रस्तावमा अध्यक्ष ओलीले कुनै प्रतिक्रिया दिनुभएको थिएन ।
राष्ट्रपति चुनावअघि मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभामा कुनै दलको स्पष्ट बहुमत नआएको अवस्थामा पनि वाम एकताको चर्चा चलेको थियो । वामपन्थी दलहरू मिलेर सरकार बनाउने विषयमा नेताहरूबीच पटक-पटक छलफलसमेत भएको थियो । कांग्रेससँगको सहकार्यमा चुनाव लडेका नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी (नेकपा एस) का नेताले सोचेजस्तो परिणाम नआएको भन्दै वाम एकताको प्रयाससमेत गरेका थिए । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच टेलिफोन वार्तासमेत भएको थियो । त्यतिबेला सत्ता गठबन्धनमै रहनुभएका नेकपा एसका अध्यक्ष माधवकुमार नेपालले पनि रौतहट १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएपछि वाम एकताको विषय उठाउनुभएको थियो । लमजुङबाट पराजित माओवादी केन्द्रका महासचिव देव गुरुङले त वाम एकताको विकल्प नभएको उद्घोष गर्नुभएको थियो । निर्वाचन परिणामअनुसार सरकार बनाउन कुनै एक मात्र दलको बहुमत नआएपछि वाम पार्टीका नेताहरूले वाम सरकार गठनको लागि पटक-पटक छलफल गरेका थिए । यता, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भने वाम एकताभन्दा पनि सहकार्यमा जोड दिए पनि चर्चा त्यत्तिकै सेलाएको थियो । कांग्रेस नेतृत्वको तत्कालीन पाँच दलीय गठबन्धन छोडेर नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ एमालेसँग मिल्न गएपछि वाम एकताको सम्भावना एकाएक बढेको थियो । तर, एमालेसहित सात दलको समर्थनमा प्रचण्ड प्रधानमन्त्री बने पनि राष्ट्रपति निर्वाचनसम्म आइपुग्दा एमाले र माओवादी बीचको सहकार्य टुंगियो । त्यसपछि तत्काल वाम एकता वा सहकार्यको सम्भावना सकिएको विश्लेषण हुन थाल्यो । वाम एकताको चर्चा लगभग सेलाइसकेको अवस्थामा वर्तमान सत्ता गठबन्धनमा रहेको एक घटक नेकपा एसका अध्यक्ष नेपालले पुनः नेकपा ब्युताउने प्रस्ताव राखेसँगै राजनीतिक वृत्तमा फेरि वाम एकताको चर्चा सुरु भएको छ ।
पैसाको लोभ नगर्न प्रचण्डलाई नेपालको सुझाव
नेकपा एकीकृत सममाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई पैसाको लोभ नगर्न सुझाव दिनुभएको छ । काठमाडौंमा पार्टीनिकट भूपू सैनिकको कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा अध्यक्ष नेपालले प्रचण्डसँगको भेटवार्ताका क्रममा भएको कुराकानीका विषयमा जानकारी दिँदै भन्नुभयो, ‘आज बिहान मात्रै मैले प्रधानमन्त्रीजीलाई भनेँ- यो जिन्दगीमा धन भन्ने चिजले के गर्छ हँ ? तपाईंको श्रीमती अस्वस्थ भई कष्टपूर्ण जीवन बिताउँदै हुनुहुन्छ । त्यसबाहेक तपाईंका सन्तान सबै हुर्किसकेका छन् । त्यसो हुनाले तपाईं पैसाको लोभ नगर्नुहोस् है ।’
अध्यक्ष नेपालले आफूलाई राष्ट्रपति बन्ने प्रस्ताव आए पनि नबनेको दाबी गर्दै भन्नुभयो, ‘चाहेको भए कोर्स चेन्ज गरेर राष्ट्रपति बन्न सकिन्थ्यो । तर, के हुन्थ्यो थाहा छ ? यो एकीकृत समाजवादी, माधव नेपाल धोकेबाज । कांग्रेसलाई धोका दियो, माओवादीलाई धोका दियो । राष्ट्रपति बन्न भूमिका खेल्यो भन्थे । राम्रो हुन्थ्यो ? राष्ट्रपति पाउनु ठूलो थिएन । धोका दिने गरी अघि बढ्न चाहिएन । कांग्रेसलाई राष्ट्रपति बन्नुहोस् भनेको हो ।’
अध्यक्ष नेपालले ‘राजा आऊ देश बचाऊ’ भन्नेलाई नेपालमा राजा कुनै गतिला थिए ? भन्ने प्रश्नसमेत गर्नुभयो । तत्कालीन राजाहरू भ्रष्टाचारबाट मुक्त, सुशासनका पक्षपोषक र त्यागी नभएको दाबी गर्दै अध्यक्ष नेपालले भन्नुभयो, ‘राजाहरू भ्रष्चाटारबाट उन्मुक्त छन् ? सुशासनका पक्षपोषक छन् ? त्यागी तपश्वी छन् ? जोगी संन्यासी भएर आएका छन् ? छोरो जोगी हो कि जस्तो लागेको छ दाह्री पालेर । तर, नझुक्किनुहोस्, दाह्री पालेर जोगी होइन त्यो भोगी हो ।’
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच