कालीकोटमा बालविवाह विरुद्धको धामीझाँक्री सम्मेलन

मान बहादुर बिश्वकर्मा कालिकोट
Read Time = 12 mins

कालीकोट । कालीकोटमा व्याप्त रहेको बालविवाहलाई न्यूनीकरण गर्न जिल्लाको तिलागुफा नगरपालिकामा कर्णाली प्रदेशकै पहिलो ऐतिहासिक धामीझाँक्री सम्मेलन गरिएको छ । बालविवाह न्यूनीकरणका विषयमा लामो समयदेखि काम गर्दै आएको सेभ द चिल्ड्रेन, किर्डाक नेपाल र तिलागुफा नगरपालिकाको संयुक्त आयोजनामा धामीझाँक्री सम्मेलन गरिएको हो ।

तिलागुफा नगरपालिकाका ११ वटा वडाका धामीझाँक्री, पुरोहित, वडा अध्यक्षसहित जनप्रतिनिधि, कर्मचारी, जिल्लास्थित सरकारी कार्यालयका प्रमुखसहित १६० भन्दा बढीको सहभागितामा उक्त कार्यक्रम गरिएको हो । तिलागुफा नगरपालिकाका उपप्रमुख महेन्द्रबहादुर शाहीको अध्यक्षता, जिल्ला न्यायाधीश भरत लम्सालको प्रमुख आतिथ्यता, प्रमुख जिल्ला अधिकारी जोरासिंह माझीको विशेष आतिथ्यता, प्रहरी नायव उपरीक्षक जयश्वर रिमालको उपस्थितिमा प्रदेशमै पहिलोपटक ऐतिहासिक रूपमा धामीझाँक्री सम्मेलन गरिएको किर्डाक नेपाल कालीकोटले जनाएको छ ।

सम्मेलनले बालविवाह न्यूनीकरणका लागि धामीझाँक्री र पुरोहितहरूको तर्फबाट बालविवाह रोक्न विभिन्न निर्णयसमेत गरेको छ । बालविवाह अन्त्यका लागि सबै धामीझाँक्री र पुरोहित एकजुट हुने, बालविवाह गर्ने र गराउने ठाउँका भोजभतेर तथा निम्तोमा नजाने, बालविवाह गर्ने र गराउनेलाई कानुनी दायरामा ल्याउन सहयोग गर्ने, विवाहको लगन दिँदा जन्मदर्ता वा जन्ममिति खुल्ने प्रमाणहरू २० वर्ष उमेर भएको भए मात्र लगन दिने, छोरा र छोरीलाई शिक्षामा सम्मान अवसर प्रदान गर्न सचेतना फैलाउने, धामीझाँक्री उपस्थिति हुने हरेक धार्मिक कार्यहरूमा बालविवाह विरुद्ध छलफल तथा बहस गर्ने लगायतका निर्णय गरिएको छ ।

नगरपालिकाभित्र हुने बालविवाह रोक्न उमेर नपुगेर गरिने विवाहमा आयोजना हुने भोजभतेर बहिष्कार गर्ने, बालविवाह भए देखेको थाहा पाए कानुनी कारबाहीको दायरामा ल्याउने प्रतिबद्धतासहित बालविवाह विरुद्धका गतिविधिमा धामीझाँक्री र पुरोहित एकजुट हुने लगायतका निर्णय गरिएको हो ।

कार्यक्रमका प्रमुख अतिथिसमेत रहनुभएका जिल्ला न्यायाधीश भरत लम्सालले गरिबी र अशिक्षाका कारण दुर्गम जिल्लाहरूमा बालबबिवाहका घटनाहरू हुने गरेको बताउनुभयो । अबदेखि कुनैपनि नाबलक तथा बालिकाले अदालतको ढोका पुग्नुपर्ने समय आउन नदिन यस्ता अभियानले सहयोग पुग्ने उहाँको भनाइ थियोे । बालबिवाह गरेर कुनैपनि बालक अथवा बालिकाले कानुनको कठघरामा उभ्याउन नपर्ने कुराको सिर्जना गर्न सबै एकजुट हुनुपर्नेमा उहाँले जोड दिनुभयो ।

यस्तै प्रमुख जिल्ला अधिकारी जोरासिंह माझीले बालविवाह बिरुद्ध चालिएको कदम सराहनीय रहेको भन्दै धामीझाँक्रीले झारफुक नगरी बिरामीलाई स्वास्थ्य संस्थामा लैजान सल्लाह सुझाव दिनुपर्नेमा जोड दिनुभयो । प्रमुख जिल्ला अधिकारी माझीले विवाहमा जाने पण्डितहरूलाई बिवाह गर्नुपूर्व केटाकेटीको उमेर सोधपुछ गरेर मात्रै विहेको मण्डपमा बसाल्नसमेत आग्रह गर्नुभयो ।

त्यस्तै, तिलागुफा नगरपालिकाका उपप्रमुख महेन्द्र शाहीले बालविवाहविरुद्ध जस्तोसुकै कदम चाल्न पनि नगर सरकार तयार रहेको प्रतिबद्धता जनाउनुभयो । उहाँले भन्नुभयो, ‘विकट बस्तीमा धार्मिक संस्कारअनुसार बालविवाह गर्ने प्रचलन रहेको भए पनि देशमा कानुन निर्माण भइसकेकाले अब कानुनभित्र रहेर विवाह गर्नुपर्ने हुन्छ ।’ बालविवाह सामाजिक अपराध मात्र नभई यो गाउँ समाजको ठूलो विकृति भएकाले त्यहीअनुरूप अभिभावक, बालबालिका, धामीझाँक्री र जनप्रतिनिधि सबैको समन्वयबाट बालविवाह रोक्न तिलागुफा नगरपालिकामा धामीझाँक्रीहरूको सम्मेलन गरिएको शाहीको भनाइ थियो ।

कालीकोटमा उमेर नपुगेर सानैमा विवाह गर्नेको संख्या बर्सेनि बढ्ने गरेका कारण उक्त बालविवाहलाई न्यूनीकरण गर्नका लागि उमेर नपुगेर विवाहको आयोजना हुने विवाह उत्सव, भोजभतेर बहिष्कार गर्ने लगायतका कुरामा सचेत हुनुपर्ने किर्डाक नेपाल कालीकोटकी बाल अधिकार शासन तथा बाल संरक्षण संयोजक सरिता खत्रीले बताउनुभयो ।

कर्णालीका जिल्लाहरू भौगोलिक रूपमा विकट छन् । अहिले नागरिकको घरदैलोमा सरकार पुगेको छ । तर, यहाँका स्थानीय बासिन्दाले भोग्दै आएका दुःख पीडा अझै पनि उस्तै छन् । अन्धविश्वास र रुढीवादी परम्पराले जकडिएको कर्णालीका विकट गाउँहरूमा स्थानीय सरकारले विभिन्न जनचेतनाका कार्यक्रम गरिरहेको बालअधिकार शासन तथा बाल संरक्षण संयोजक खत्रीको भनाइ थियो ।

यसैगरी, सेभ द चिल्ड्रेनका बालअधिकार शासन तथा बालसंरक्षण संयोजक बाले विश्वकर्माले कालीकोट जिल्लाका केही स्थानीय तहमा संघसंस्था र धामीझाँक्रीले गर्दा थुप्रै बालविवाहका घटनाहरू रोकिएको जिकिर गर्नुभयो । उहाँले भन्नुभयो, ‘पछिल्लो समयमा धामीझाँक्री पनि बालविवाह न्यूनीकरण गर्नका लागि एकजुट भएका छन् अब यो अभियान सफल हुन्छ ।’ शुभकालिका गाउँपालिका र तिलागुफा नगरपालिकामा २०१८ को भन्दा २०२२ मा बालबिवाहका घटनाहरू न्यूनीकरण भएको उहाँको दाबी थियो ।

१११ भन्दा बढी धामीझाँक्री र पुरोहितलाई सम्मान
तिलागुफा नगरपालिकामा धामीझाँक्री र पुरोहितलाई सम्मान गरिएको छ । बालविवाह न्यूनीकरणका लागि सहयोग गरेको नगरपालिकामा रहेका १११ जनाभन्दा बढी धामीझाँक्री र पुरोहितहरूलाई टाउकोमा फेटा (पगडी) बाँधेर सम्मान गरिएको हो । नगरपालिकाको आयोजना र किर्डाक नेपालको आर्थिक सहयोगमा बालविवाह न्यूनीकरणका लागि धामीझाँक्री र पुरोहितले गरेको योगदानको कदर गर्दै सम्मान गरेको तिलागुफा नगरपालिकाका उपप्रमुख महेन्द्रबहादुर शाहीले जानकारी दिनुभयो ।

शुक्रबार पञ्चेबाजा सहितको ¥यालीमा नगर परिक्रमा गराएको उपप्रमुख शाहीले बताउनुभयो । उहाँका अनुसार हाम्रो ठाउँमा उमेर नपुगेर सानैमा विवाह गर्दिने र आफ्नो स्वइच्छाले विवाह गर्ने गरेका थिए । अब त्यसलाई रोक्न पर्छ । सानैमा विवाह गर्दा स्वास्थ्यमा नकारात्मक असर पर्छ भनेर हामीले यो अभियान सुरु गरेका छौँ । हाम्रोतिर विशेषतः धामीझाँक्रीलाई अलि धेरै सम्मान गरिने र भनेको मान्ने हुँदा पनि धामीझाँक्रीले यो अभियानमा सहयोग गरेपछि उमेर नपुगेर विवाह गर्नेको संख्यालाई न्यूनीकरण गर्न सकिन्छ कि भन्ने हाम्रो अभियान हो ।’ उक्त नगरपालिकामा ११ वडा वडा रहेका छन् । सो वडाहरूमा बालविवाह न्यूनीकरणमा धामीझाँक्री सक्रिय भएका छन् ।

बालविवाहमुक्त निषेधित नगरपालिका घोषणा गर्ने तयारीमा तिलागुफा
तिलागुफा नगरपालिकामा सन २०१९ मा ३९ प्रतिशत १८ वर्षमुनिको बालविवाह भएकोमा विभिन्न अभियान सञ्चालनपछि सन् २०२२ मा आइपुग्दा १२.५ प्रतिशतले बालविवाह घटेको तथ्यांकले देखाएको छ । सोही कुरालाई मध्यनजर गर्दै तिलागुफा नगरपालिकाले विक्रम सम्वत् २०८० को जेष्ठभित्र कर्णाली प्रदेशकै पहिलो बालविवाह निषेधित नगरपालिका घोषणा गर्ने तयारीमा रहेको तिलागुफा नगरपालिकाका नगर उपप्रमुख महेन्द्र शाहीले बताउनुभएको छ ।

हालसम्म कालीकोटको शुभकालिका गाउँपालिका र तिलागुफा नगरपालिका गरी कुल १० वटा वडा बालविवाह निषेधित वडा घोषणा गरिएको छ । जसमा शुभकालिका गाउँपालिकाको वडा नम्बर २, ६, ७ र ८ लाई बालविवाह मुक्त निषेधित वडा घोषणा गरिएको छ भने तिलागुफा नगरपालिकाको वडा नम्बर १,२,३,४,५ र ६ बालबिवाह मुक्त निषेधित वडा घोषणा गरिएको किर्डाक नेपाल कालीकोटले जानकारी दिएको छ । कालीकोटमा उमेर नपुगेर सानैमा विवाह गर्नेको संख्या बर्सेनि बढ्ने गरेका कारण यसलाई रोकथाम र न्यूनीकरणका लागि यहाँका सरोकारवाला निकायसमेत लागिपरेका छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?