लगानी बोर्डद्वारा पिपिपी क्षमता विकास तालिम

Read Time = 3 mins

काठमाडौं । लगानी बोर्ड नेपालले लगानी बोर्डलाई सार्वजनिक निजी साझेदारी (पिपिपी) विशेषज्ञता केन्द्रका रूपमा विकास गर्ने भएको छ । सरकारका विभिन्न निकाय र लगानी बोर्डको कार्यालयका अधिकारीको दक्षता विकासका लागि आयोजित चारदिने सिपिपी (सर्टिफाइड पब्लिक–प्राइभेट पार्टनरसिप्स प्रोफेसनल) दी एपिएमजी पिपिपी सर्टिफिकेसन प्रोग्रामको शुभारम्भ गर्दै बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टले उक्त कुरा बताउनुभएको हो । बोर्डले व्यावसायिक ज्ञान, दक्षता र विशेषज्ञता हासिल तथा उपयोग गर्दै पिपिपी परियोजनामा उपलब्धि हासिल गर्ने र उक्त ज्ञान, दक्षता, विशेषज्ञता तथा अनुभव संग्रहित गरी विशेषज्ञ केन्द्रका रूपमा रहने उहाँले बताउनुभयो । बोर्डले एसियाली विकास बैंक(एडिबी)को प्राविधिक सहयोगमा सोमबारदेखि प्रशिक्षण कार्यक्रम आयोजना भएको हो ।

कार्यक्रमबाट सार्वजनिक-निजी साझेदारीका परियोजना तयारी, स्ट्रक्चरिङ, मार्केट साउण्डिङ, विकासकर्ता छनोट तथा परियोजना व्यवस्थापनसम्बन्धी दक्षता अभिवृद्धि भई पिपिपीका नवीनतम् अवधारणासहितका परियोजना कार्यान्वयनमा सहयोगी हुने अपेक्षा गरिएको छ ।

प्रमुख कार्यकारी अधिकृत भट्टका अनुसार पिपिपी सर्टिफिकेसन प्रोग्राममा आधारभूत चरण, तयारी चरण र कार्यान्वयन चरण गरी तीन चरण समावेश छन् । तीनवटै चरणका कार्यक्रममा सहभागी भई उक्त चरणसम्बन्धी ज्ञान प्रदर्शन गरेमा सिपिपी प्रमाणपत्र प्रदान गरिन्छ ।

हालको कार्यक्रम आधारभूत चरणअन्तर्गतको हो । सो अवसरमा एडिबीको नेपालस्थित मिसनका राष्ट्रिय निर्देशक आर्नो कोश्वा तथा प्रशिक्षक अमनदीप सिंहले समेत सम्बोधन गर्नुभएको थियो । एडिबीका राष्ट्रिय निर्देशक कोश्वाले पिपिपीसम्बन्धी ज्ञान र दक्षता अभिवृद्धि गर्दै राष्ट्रिय र क्षेत्रीय परिदृश्यअनुसार अभ्यास गर्न सकिने बताउनुभयो । बोर्ड तथा सम्बन्धित मन्त्रालयलाई पिपिपीसम्बन्धी क्षमता विकासमा तालिम कार्यक्रम प्रस्थान बिन्दु हुने र आगामी दिनमा पिपिपी परियोजनासम्बन्धी अवधारणा, पिपिपी स्क्रिनिङ, परियोजनाका लागि उपयुक्त मोडालिटी तथा ट्रान्जेक्सन एड्भाइजरी जस्ता बृहत् र गहन सहकार्य अघि बढाउन सकिने उहाँको भनाइ थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?