साहित्य समाज र मानवको यर्थाथता बोकेको हुनुपर्छ : प्रद्युम्न श्रेष्ठ, साहित्यकार, सिक्किम

Read Time = 14 mins

सिक्किममा रहेर नेपाली भाषा, साहित्य, कला संस्कृतिको संरक्षण, सम्बद्र्धनमा आफूलाई लामो समयदेखि समर्पित गर्दै आइरहनुभएको छ प्रद्युम्न श्रेष्ठ । पेशाले सिभिल इञ्जिनियर भए पनि साहित्यप्रतिको उहाँको लगाव विशेष छ र जन्मिरहेका छन् विभिन्न साहित्यिक कृति । उहाँका हालसम्म ‘पुष्प वाटिका’ कविता संग्रह, ‘मेरा केही स्मृतिहरू’ संस्मरण प्रथम र दोस्रो संस्करण, ‘मेरा केही यात्रा संस्मरणहरू’, निबन्ध संग्रह, ‘मह’ कविता संग्रह, ‘मोह’ कविता संग्रह, ‘आत्मासाक्षात्कार’ निबन्ध संग्रह, ‘माया’ कविता संग्रह, ‘मेरा केही अभिव्यक्तिहरू’ निबन्ध संग्रह, ‘मन’ कविता संग्रह र ‘जमरा’ लगायत ११ कृति पाठकमाझ आएका छन् भने आधा दर्जन जति विभिन्न विधाका कृति प्रकाशोन्मुख छन् । उहाँले विभिन्न पत्रिका र स्मारिकाको सम्पादन पनि गर्नुभएको छ भने नयाँ प्रतिभालाई यस क्षेत्रमा आउनका लागि प्रोत्साहन गर्दै उहाँहरूका कृति प्रकाशन पनि गरिदिने गर्नुभएको छ । विभिन्न धार्मिक तथा साहित्यिक कार्यक्रमका लागि यतिबेला काठमाडौं आउनुभएका उहाँ साहित्य जीवनमुखी हुनुपर्छ भन्ने मान्यता राख्नुहुन्छ । साहित्य समाज र मानवको यथार्थता बोकेको हुनुपर्छ भन्नु हुने साहित्यकार प्रद्युम्न श्रेष्ठसँग हिमालय टाइम्सका लागि कृष्ण भुसालले गर्नुभएको साहित्य वार्ताको संक्षिप्त अशंः-

यहाँको काठमाडौं बसाई कस्तो हुँदै छ ?
मेरो केही सामाजिक, धार्मिक कामका लागि नेपाल आउने मौका मिल्यो यो मात्र दुई हप्तामा सबै काम सकेर फर्किने तयारीमा छु । विशेष धुलिखेलको नवदुर्गाको आगमनको रौनकता, पनौतीको आदित्य गुरुको तत्वधावनमा आयोजित यज्ञमा साहित्यिक साथीहरूको सहभागिता, भक्तपुरको डोलेश्वर महादेव र आशापूर्णेश्वर महादेवको दर्शन, काठमाडौंमा मन्दिरहरूको दर्शन र साहित्यिक बन्धुहरू विशेष राधेश्याम लेकाली, नरेन्द्रबहादुर श्रेष्ठ, रमेश खनाल, भगरिथी श्रेष्ठ, मोहन दुलाल, गीता अधिकारी, सावित्री श्रेष्ठ, गणेशराम लाछी र अन्य बन्धुहरूसँग भेटवार्ता इत्यादिले मन नै प्रफुलित भएको अनुभव भएको छ । नेपाल आउँदा पौणणिक कला संस्कृति, परम्परा र जात्रा, खाजापानले अर्कै रमाइलो बनाउँदछ । साथै साहित्यिक बन्धुहरूको पुस्तकहरूको उपहारले ती पुस्तकहरू पढ्ने सु-अवसर पाएको छु ।

साहित्य जीवनमुखी हुनुपर्छ । साहित्य समाज र मानवको यथार्थता बोकेको हुनुपर्छ । कविता मेरो प्रिय विद्या हो । कविता सरल र समयानुकूल हुनुपर्छ भन्ने मेरो धारणा छ । यात्र संस्मरण, जीवनी, कथा पनि मलाई लेख्न र पढ्न मनपर्छ ।

तपाईंले नेपाली भाषा, साहित्यको अनुष्ठानमा धेरै महत्वपूर्ण कृतिहरू पाठकलाई पस्किनुभएको छ । यहाँले आफ्ना रचनामा कस्ता विषयवस्तु प्रस्तुत गर्नुहुन्छ ?
मेरा हालसम्म ‘पुष्प वाटिका’ कविता संग्रह, ‘मेरा केही स्मृतिहरू’ संस्मरण प्रथम र दोस्रो संस्करण, ‘मेरा केही यात्रा संस्मरणहरू’, निबन्ध संग्रह, ‘मह’ कविता संग्रह, ‘मोह’ कविता संग्रह, ‘आत्मासाक्षत्कार’ निबन्ध संग्रह, ‘माया’ कविता संग्रह, ‘मेरा केही अभिव्यक्तिहरू’ निबन्ध संग्रह, ‘मन’ कविता संग्रह र जमरा जस्ता ११ कृति पाठकमाझ आएका छन् । विशेष मेरो कविता विद्यामा मुख्य भूमिका छ । अहिले म एउटा लघुकथा लेखिरहेको छु । मेरो लेखाइमा सरलता, स्पष्टता र पाठकलाई मनपर्ने विषयवस्तु रहेको प्रतिक्रिया पाउँछु म । प्रायः यर्थाथमा आधारित र समाजलाई केही सन्देश दिने प्रयासमा मेरा रचनाहरूको सिर्जना भएको छ । पाठकलाई कुनै एउटा रचनाले मन छोयो भने पनि म खुशी हुने नै छु ।

तपाईं भारत, नेपाल र अन्य क्षेत्रबाट प्रतिष्ठित संघ संस्थाबाट सम्मानित र पुरस्कृति भएकोमा यस बारे तपाईंको धारणा ?
विशेष कृतिको आधारमा र नेपाली भाषा साहित्यको उन्नतिमा दीर्घकालीन सेवा गरेबापत धेरै सम्मान र पुरस्कार प्राप्त भएका छन् । सिक्किमबाट प्राप्त भानु पुरस्कार र त्रिफला राष्ट्रिय पुस्तकालय धुलाबारीबाट प्राप्त मोतीराम भट्ट साहित्यिक पुरस्कार, बेलायत साहित्य प्रतिष्ठानबाट साहित्यि प्रतिभा पुरस्कारलगायत छन् । विभिन्न ठाउँठाउँबाट अभिनन्दन, सम्मान प्राप्त भइरहेका छन् । यो सबै प्रेरणका श्रोतहरू हुन् मलाई अझै अघि बढ्ने हौसला प्रदान गर्दछन् । योमध्ये जनताको मनबाट सम्मानित भावना चै साँचो पुरस्कार जस्तो लाग्छ, जो चोखो र मिठो हुन्छन् ।

सिक्किमको साहित्यिक गतिविधिमाथि केही प्रकाश पारिदिनुहुन्छ कि ?
नेपाली भाषाले संवैधानिक मान्यता प्राप्त गरेको साल सन् १९९२ देखि धेरै नयाँ-नयाँ कृतिहरू, समाचार पत्रिकाहरू इत्यादि बढेका छन् । साहित्यिक कार्यक्रम सिक्किमका सबै जिल्लामा प्रायः भइरहेका हुन्छन् । पुस्तक प्रकाशन भइरहेका छन् । तर, पाठकहरूको अनिकाल भएजस्तो लाग्छ । यो आधुनिक डिजिटल युगले होला । तर साहित्यिक बन्धुहरूले आफ्नै बलबुत्ताले पुस्तकहरू जम्मा भइरहेका छन् । यो ठूलो कुरा हो । सिक्किमले सहित्य अकादमी पुरस्कार, बाल पुरस्कार र पद्मश्री पुरस्कार साहित्यमा पाइरहेको छन् । कृतिको आधारमा लालमान सञ्चरानी स्मृति पुरस्कार, डा.शोभाकान्ती स्मृति पुरस्कार, तुलसीराम कश्यप स्मृति पुरस्कार छन् ।

साहित्यिका विविध विधामा यहाँले कलम चलाउनुभएको छ । यहाँका कस्ता कृति अब पाठकमाझ आउँदैछन् ?
मैलेमाथि भने मेरो लघुकथा संग्रह ‘मनोइच्छा’, भजन गीत र गजल संग्रह प्रकाशोन्मुख छन् । प्रकाशकको खोजीमा छु । यो बाहेक मेरा ११ वटा कृति र अन्य साहित्यिक बन्धुहरूको कृतिहरू प्रकाशित गरिसकेको छु । कृतिहरू प्रकाशन भइरहे पनि पछिल्लो समय पढ्ने संस्कृतिमा कमी आइरहेको म पाउँछु, जसले गर्दा डर लाग्छ ।

साहित्यका अन्य विधामा तपाईंको भूमिका ?
गीतकारको रूपमा चारवटा गीति एल्बमका एक दर्जन गीत र भजन दशवटा श्रोता/दर्शकमाझ आइसकेका छन् । गीति भजन र गजलको माध्यमबाट आफ्नो भावनालाई समाजमा पस्किरहेको छु । साहित्यिक पत्रिका जमरा र सिद्धिका २३ अंक पाठकमाझ आएका छन् । भानु स्मारिका, कनका, प्रशान्ति, प्रतिध्वनि, ज्ञान गुञ्जन जस्ता स्मारिकका र पत्रपत्रिकाको सम्पादन कार्य गरेको छु । यी पत्रिकामा नारी-कलम, साना ठूला सबै वर्गका लेखकहरूको अन्तर्वार्ता र रचनालाई प्रकाशित गरेर प्रोत्साहन गर्ने कोसिस गरेको म ठान्दछु । ‘बहते नदी’ मेरो हिन्दी कविता (अनुवाद) पनि भएको छ । म एउटा सिभिव इञ्नियर भएर पनि साहित्य क्षेत्रमा आफूलाई समर्पण गरेर अघि बढिरहेको छु ।

नेपाली भाषा, साहित्यमाथि नवीनतम् कार्य गर्ने केही सोच बनाउनुभएको छ कि ?
अब अग्रज साहित्यकारले नवपिँढीका इच्छुक साहित्यकारलाई प्रोत्साहन गर्ने दिन आएको छ । नयाँ–नयाँ कविहरू, लेखकलाई मञ्च प्रदान गर्ने, उहाँहरूका रचना पत्रपत्रिकामा प्रकाशन गर्न सहयोग गर्ने, पुस्तकहरूको पढ्ने बानीका लागि पुस्तकालमा जाने वातावरण सिर्जना गर्ने र कुनै नयाँ पुस्तक निरूपण गर्ने मौका दिनुपर्छ भन्ने मान्यता राख्दै आफ्ना कार्य अघि बढाएको छु ।

नेपालमा सिर्जना भएका साहित्यिक रचना र भारतमा सिर्जना भएका नेपाली साहित्य रचनामा के कस्ता भिन्नता पाउनुहुन्छ ?
साहित्य समाजको दर्पण हो । समाजमा भएका घटनाक्रम र परिस्थितिले साहित्यिमा केही हदसम्म प्रभावित भएको हुन्छ । नेपाल-भारतमा आ–आफ्नो प्रकारले कृति जन्मिरहेका छन् । तर, भौगोलिक कठिनता र पुस्तकलाई नेपाल-भारतमा सहज प्रकारले आदान-प्रदान गर्ने माहौल छैन । यो कुरा आजभन्दा पहिला मैले चर्चा गर्दै आएको हुँ । जो होस् पुस्तकहरूको स्तरीयता नेपालमा धेरै राम्रो भएको म अनुभव गर्दछु । भारतमा सिक्किम, दार्जिलिङ, आसाम र अन्य क्षेत्रमा पुस्तकहरू प्रकाशित भइरहेका छन् । यी दुवै राष्ट्रहरूमा आ-आफ्नै प्रकारले कृतिहरू प्रकाशित भाइरहेका छन् । बाल साहित्य, अनुवाद साहित्य र समाजलाई केही सन्देश बोकेका साहित्यलाई विशेष प्रोत्साहन दिनुपर्छ । साहित्यले राजनीतिलाई शिक्षा प्रदान गरोस् ।

नेपाली भाषा, साहित्यको श्रीवृद्धिका लागि के कस्ता पहल आवश्यक देख्नुहुन्छ ?
घरेलु पुस्तकालय, ग्रामीण पुस्तकालय, प्रत्येक पाठशालाहरूमा राम्रा स्तरीय पुस्तकालय र प्रत्येक संघसंस्थामा पुस्तकालयको स्थापना हुनु आवश्यक छ । पुस्तकहरू किनेर पढ्ने बानी बसाल्नु पर्‍यो । पुस्तक पढ्ने समय निकाल्नु पर्‍यो । जीवनको महत्वपूर्ण समयलाई खेरफाल्नु भएन, कमसेक दैनिक केही न केही पढ्ने बानीको विकास गराउनुपर्छ । राम्रा-राम्रा पुस्तक पढ्ने बानीले समाजमा बौद्धिक र आध्यात्मिक भावको जमात बढ्छ ।

अन्त्यमा ?
साहित्य जीवनमुखी हुनुपर्छ । साहित्य समाज र मानवको यर्थाथता बोकेको हुनुपर्छ । कविता मेरो प्रिय विद्या हो । कविता सरल र समयानुकूल हुनुपर्छ भन्ने मेरो धारणा छ । यात्र संस्मरण, जीवनी, कथा मलाई लेख्न र पढ्न मन पर्छ । साहित्य महत्वकांक्षा राखेर मेरा कृतिहरूको सिर्जना हुन्छ, जसमा राष्ट्रिय, अन्तर्राष्ट्रिय स्तरको पुरस्कार पाउने आशा गर्दछु र यदि नपाए पनि आफ्नो सिर्जना शक्तिप्रति म आत्मसन्तुष्टि गर्दछु । एउटा सम्पादक, प्रकाशको रूपमा नयाँ लेखहरूलाई प्रोत्साहन गर्नु मेरो धर्म सम्झन्छु ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?