साहित्य समाज र मानवको यर्थाथता बोकेको हुनुपर्छ : प्रद्युम्न श्रेष्ठ, साहित्यकार, सिक्किम

Read Time = 14 mins

सिक्किममा रहेर नेपाली भाषा, साहित्य, कला संस्कृतिको संरक्षण, सम्बद्र्धनमा आफूलाई लामो समयदेखि समर्पित गर्दै आइरहनुभएको छ प्रद्युम्न श्रेष्ठ । पेशाले सिभिल इञ्जिनियर भए पनि साहित्यप्रतिको उहाँको लगाव विशेष छ र जन्मिरहेका छन् विभिन्न साहित्यिक कृति । उहाँका हालसम्म ‘पुष्प वाटिका’ कविता संग्रह, ‘मेरा केही स्मृतिहरू’ संस्मरण प्रथम र दोस्रो संस्करण, ‘मेरा केही यात्रा संस्मरणहरू’, निबन्ध संग्रह, ‘मह’ कविता संग्रह, ‘मोह’ कविता संग्रह, ‘आत्मासाक्षात्कार’ निबन्ध संग्रह, ‘माया’ कविता संग्रह, ‘मेरा केही अभिव्यक्तिहरू’ निबन्ध संग्रह, ‘मन’ कविता संग्रह र ‘जमरा’ लगायत ११ कृति पाठकमाझ आएका छन् भने आधा दर्जन जति विभिन्न विधाका कृति प्रकाशोन्मुख छन् । उहाँले विभिन्न पत्रिका र स्मारिकाको सम्पादन पनि गर्नुभएको छ भने नयाँ प्रतिभालाई यस क्षेत्रमा आउनका लागि प्रोत्साहन गर्दै उहाँहरूका कृति प्रकाशन पनि गरिदिने गर्नुभएको छ । विभिन्न धार्मिक तथा साहित्यिक कार्यक्रमका लागि यतिबेला काठमाडौं आउनुभएका उहाँ साहित्य जीवनमुखी हुनुपर्छ भन्ने मान्यता राख्नुहुन्छ । साहित्य समाज र मानवको यथार्थता बोकेको हुनुपर्छ भन्नु हुने साहित्यकार प्रद्युम्न श्रेष्ठसँग हिमालय टाइम्सका लागि कृष्ण भुसालले गर्नुभएको साहित्य वार्ताको संक्षिप्त अशंः-

यहाँको काठमाडौं बसाई कस्तो हुँदै छ ?
मेरो केही सामाजिक, धार्मिक कामका लागि नेपाल आउने मौका मिल्यो यो मात्र दुई हप्तामा सबै काम सकेर फर्किने तयारीमा छु । विशेष धुलिखेलको नवदुर्गाको आगमनको रौनकता, पनौतीको आदित्य गुरुको तत्वधावनमा आयोजित यज्ञमा साहित्यिक साथीहरूको सहभागिता, भक्तपुरको डोलेश्वर महादेव र आशापूर्णेश्वर महादेवको दर्शन, काठमाडौंमा मन्दिरहरूको दर्शन र साहित्यिक बन्धुहरू विशेष राधेश्याम लेकाली, नरेन्द्रबहादुर श्रेष्ठ, रमेश खनाल, भगरिथी श्रेष्ठ, मोहन दुलाल, गीता अधिकारी, सावित्री श्रेष्ठ, गणेशराम लाछी र अन्य बन्धुहरूसँग भेटवार्ता इत्यादिले मन नै प्रफुलित भएको अनुभव भएको छ । नेपाल आउँदा पौणणिक कला संस्कृति, परम्परा र जात्रा, खाजापानले अर्कै रमाइलो बनाउँदछ । साथै साहित्यिक बन्धुहरूको पुस्तकहरूको उपहारले ती पुस्तकहरू पढ्ने सु-अवसर पाएको छु ।

साहित्य जीवनमुखी हुनुपर्छ । साहित्य समाज र मानवको यथार्थता बोकेको हुनुपर्छ । कविता मेरो प्रिय विद्या हो । कविता सरल र समयानुकूल हुनुपर्छ भन्ने मेरो धारणा छ । यात्र संस्मरण, जीवनी, कथा पनि मलाई लेख्न र पढ्न मनपर्छ ।

तपाईंले नेपाली भाषा, साहित्यको अनुष्ठानमा धेरै महत्वपूर्ण कृतिहरू पाठकलाई पस्किनुभएको छ । यहाँले आफ्ना रचनामा कस्ता विषयवस्तु प्रस्तुत गर्नुहुन्छ ?
मेरा हालसम्म ‘पुष्प वाटिका’ कविता संग्रह, ‘मेरा केही स्मृतिहरू’ संस्मरण प्रथम र दोस्रो संस्करण, ‘मेरा केही यात्रा संस्मरणहरू’, निबन्ध संग्रह, ‘मह’ कविता संग्रह, ‘मोह’ कविता संग्रह, ‘आत्मासाक्षत्कार’ निबन्ध संग्रह, ‘माया’ कविता संग्रह, ‘मेरा केही अभिव्यक्तिहरू’ निबन्ध संग्रह, ‘मन’ कविता संग्रह र जमरा जस्ता ११ कृति पाठकमाझ आएका छन् । विशेष मेरो कविता विद्यामा मुख्य भूमिका छ । अहिले म एउटा लघुकथा लेखिरहेको छु । मेरो लेखाइमा सरलता, स्पष्टता र पाठकलाई मनपर्ने विषयवस्तु रहेको प्रतिक्रिया पाउँछु म । प्रायः यर्थाथमा आधारित र समाजलाई केही सन्देश दिने प्रयासमा मेरा रचनाहरूको सिर्जना भएको छ । पाठकलाई कुनै एउटा रचनाले मन छोयो भने पनि म खुशी हुने नै छु ।

तपाईं भारत, नेपाल र अन्य क्षेत्रबाट प्रतिष्ठित संघ संस्थाबाट सम्मानित र पुरस्कृति भएकोमा यस बारे तपाईंको धारणा ?
विशेष कृतिको आधारमा र नेपाली भाषा साहित्यको उन्नतिमा दीर्घकालीन सेवा गरेबापत धेरै सम्मान र पुरस्कार प्राप्त भएका छन् । सिक्किमबाट प्राप्त भानु पुरस्कार र त्रिफला राष्ट्रिय पुस्तकालय धुलाबारीबाट प्राप्त मोतीराम भट्ट साहित्यिक पुरस्कार, बेलायत साहित्य प्रतिष्ठानबाट साहित्यि प्रतिभा पुरस्कारलगायत छन् । विभिन्न ठाउँठाउँबाट अभिनन्दन, सम्मान प्राप्त भइरहेका छन् । यो सबै प्रेरणका श्रोतहरू हुन् मलाई अझै अघि बढ्ने हौसला प्रदान गर्दछन् । योमध्ये जनताको मनबाट सम्मानित भावना चै साँचो पुरस्कार जस्तो लाग्छ, जो चोखो र मिठो हुन्छन् ।

सिक्किमको साहित्यिक गतिविधिमाथि केही प्रकाश पारिदिनुहुन्छ कि ?
नेपाली भाषाले संवैधानिक मान्यता प्राप्त गरेको साल सन् १९९२ देखि धेरै नयाँ-नयाँ कृतिहरू, समाचार पत्रिकाहरू इत्यादि बढेका छन् । साहित्यिक कार्यक्रम सिक्किमका सबै जिल्लामा प्रायः भइरहेका हुन्छन् । पुस्तक प्रकाशन भइरहेका छन् । तर, पाठकहरूको अनिकाल भएजस्तो लाग्छ । यो आधुनिक डिजिटल युगले होला । तर साहित्यिक बन्धुहरूले आफ्नै बलबुत्ताले पुस्तकहरू जम्मा भइरहेका छन् । यो ठूलो कुरा हो । सिक्किमले सहित्य अकादमी पुरस्कार, बाल पुरस्कार र पद्मश्री पुरस्कार साहित्यमा पाइरहेको छन् । कृतिको आधारमा लालमान सञ्चरानी स्मृति पुरस्कार, डा.शोभाकान्ती स्मृति पुरस्कार, तुलसीराम कश्यप स्मृति पुरस्कार छन् ।

साहित्यिका विविध विधामा यहाँले कलम चलाउनुभएको छ । यहाँका कस्ता कृति अब पाठकमाझ आउँदैछन् ?
मैलेमाथि भने मेरो लघुकथा संग्रह ‘मनोइच्छा’, भजन गीत र गजल संग्रह प्रकाशोन्मुख छन् । प्रकाशकको खोजीमा छु । यो बाहेक मेरा ११ वटा कृति र अन्य साहित्यिक बन्धुहरूको कृतिहरू प्रकाशित गरिसकेको छु । कृतिहरू प्रकाशन भइरहे पनि पछिल्लो समय पढ्ने संस्कृतिमा कमी आइरहेको म पाउँछु, जसले गर्दा डर लाग्छ ।

साहित्यका अन्य विधामा तपाईंको भूमिका ?
गीतकारको रूपमा चारवटा गीति एल्बमका एक दर्जन गीत र भजन दशवटा श्रोता/दर्शकमाझ आइसकेका छन् । गीति भजन र गजलको माध्यमबाट आफ्नो भावनालाई समाजमा पस्किरहेको छु । साहित्यिक पत्रिका जमरा र सिद्धिका २३ अंक पाठकमाझ आएका छन् । भानु स्मारिका, कनका, प्रशान्ति, प्रतिध्वनि, ज्ञान गुञ्जन जस्ता स्मारिकका र पत्रपत्रिकाको सम्पादन कार्य गरेको छु । यी पत्रिकामा नारी-कलम, साना ठूला सबै वर्गका लेखकहरूको अन्तर्वार्ता र रचनालाई प्रकाशित गरेर प्रोत्साहन गर्ने कोसिस गरेको म ठान्दछु । ‘बहते नदी’ मेरो हिन्दी कविता (अनुवाद) पनि भएको छ । म एउटा सिभिव इञ्नियर भएर पनि साहित्य क्षेत्रमा आफूलाई समर्पण गरेर अघि बढिरहेको छु ।

नेपाली भाषा, साहित्यमाथि नवीनतम् कार्य गर्ने केही सोच बनाउनुभएको छ कि ?
अब अग्रज साहित्यकारले नवपिँढीका इच्छुक साहित्यकारलाई प्रोत्साहन गर्ने दिन आएको छ । नयाँ–नयाँ कविहरू, लेखकलाई मञ्च प्रदान गर्ने, उहाँहरूका रचना पत्रपत्रिकामा प्रकाशन गर्न सहयोग गर्ने, पुस्तकहरूको पढ्ने बानीका लागि पुस्तकालमा जाने वातावरण सिर्जना गर्ने र कुनै नयाँ पुस्तक निरूपण गर्ने मौका दिनुपर्छ भन्ने मान्यता राख्दै आफ्ना कार्य अघि बढाएको छु ।

नेपालमा सिर्जना भएका साहित्यिक रचना र भारतमा सिर्जना भएका नेपाली साहित्य रचनामा के कस्ता भिन्नता पाउनुहुन्छ ?
साहित्य समाजको दर्पण हो । समाजमा भएका घटनाक्रम र परिस्थितिले साहित्यिमा केही हदसम्म प्रभावित भएको हुन्छ । नेपाल-भारतमा आ–आफ्नो प्रकारले कृति जन्मिरहेका छन् । तर, भौगोलिक कठिनता र पुस्तकलाई नेपाल-भारतमा सहज प्रकारले आदान-प्रदान गर्ने माहौल छैन । यो कुरा आजभन्दा पहिला मैले चर्चा गर्दै आएको हुँ । जो होस् पुस्तकहरूको स्तरीयता नेपालमा धेरै राम्रो भएको म अनुभव गर्दछु । भारतमा सिक्किम, दार्जिलिङ, आसाम र अन्य क्षेत्रमा पुस्तकहरू प्रकाशित भइरहेका छन् । यी दुवै राष्ट्रहरूमा आ-आफ्नै प्रकारले कृतिहरू प्रकाशित भाइरहेका छन् । बाल साहित्य, अनुवाद साहित्य र समाजलाई केही सन्देश बोकेका साहित्यलाई विशेष प्रोत्साहन दिनुपर्छ । साहित्यले राजनीतिलाई शिक्षा प्रदान गरोस् ।

नेपाली भाषा, साहित्यको श्रीवृद्धिका लागि के कस्ता पहल आवश्यक देख्नुहुन्छ ?
घरेलु पुस्तकालय, ग्रामीण पुस्तकालय, प्रत्येक पाठशालाहरूमा राम्रा स्तरीय पुस्तकालय र प्रत्येक संघसंस्थामा पुस्तकालयको स्थापना हुनु आवश्यक छ । पुस्तकहरू किनेर पढ्ने बानी बसाल्नु पर्‍यो । पुस्तक पढ्ने समय निकाल्नु पर्‍यो । जीवनको महत्वपूर्ण समयलाई खेरफाल्नु भएन, कमसेक दैनिक केही न केही पढ्ने बानीको विकास गराउनुपर्छ । राम्रा-राम्रा पुस्तक पढ्ने बानीले समाजमा बौद्धिक र आध्यात्मिक भावको जमात बढ्छ ।

अन्त्यमा ?
साहित्य जीवनमुखी हुनुपर्छ । साहित्य समाज र मानवको यर्थाथता बोकेको हुनुपर्छ । कविता मेरो प्रिय विद्या हो । कविता सरल र समयानुकूल हुनुपर्छ भन्ने मेरो धारणा छ । यात्र संस्मरण, जीवनी, कथा मलाई लेख्न र पढ्न मन पर्छ । साहित्य महत्वकांक्षा राखेर मेरा कृतिहरूको सिर्जना हुन्छ, जसमा राष्ट्रिय, अन्तर्राष्ट्रिय स्तरको पुरस्कार पाउने आशा गर्दछु र यदि नपाए पनि आफ्नो सिर्जना शक्तिप्रति म आत्मसन्तुष्टि गर्दछु । एउटा सम्पादक, प्रकाशको रूपमा नयाँ लेखहरूलाई प्रोत्साहन गर्नु मेरो धर्म सम्झन्छु ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?

JUST IN
मैथिली साहित्यका वरिष्ठ साहित्यकार डा. रेवतीरमण लालको निधन भोटेकोशी बाढी प्रभावित क्षेत्रमा राहत र उद्धारको कार्यलाई प्राथमिकतामा राख्ने काँग्रेसको निर्णय दिक्तेल बजारको बेसक्याम्पमा द्वन्द्वकालीन विस्फोटक पदार्थ फेला गृहमन्त्री गुरुङद्वारा जेन–जी शहीद स्मारक पार्कको शिलान्यास भूकम्पले रोकिएको हनुमानढोकाको नित्य प्रवचन ११ वर्षपछि पुनः सुरु संविधान कार्यान्वयन नै नगरी संशोधनको बहसमा पुग्यौँः जीवन परियार मदन पुरस्कार वीणा राजभण्डारी र जगदम्बाश्री किरण खरेललाई जलवायु अनुसन्धानमा नीतिगत झमेला र लगानी अभाव मुख्य चुनौती : सांसद रेग्मी न्यायाधीश नियुक्तिको अधिकार प्रधानन्यायाधीशलाई दिनुपर्छः संविधानविद् अधिकारी परराष्ट्रमन्त्री खनाल र कोरियाली विदेशमन्त्री छोबीच भेटवार्ता